📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

चक्लाबन्दीले बढायो जग्गाको उपयोगिता

🕒 September 11, 2022

निसीखोला गाउँपालिकाको थापागाउँमा झण्डै सय रोपनी जग्गामा किबी र ओखरखेती लगाइएको छ । उक्त स्थानमा दुई वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जग्गा चक्लाबन्दी कार्यक्रममार्फत ती खती लगाइएको थियो ।

यस्तै बानपा–१२ स्थित सहेलाको फाँटमा चासो कृषक समूहको झण्डै दुई सय रोपनी जग्गामा कागतीका बिरुवा हुर्कँदै गरेका छन् । सोही समूहलाई समेत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चक्लाबन्दी कार्यक्रममा समावेश गरिएको थियो ।

बाँझो जग्गालाई एउटै ‘पलट’ बनाउने, जग्गाकोे खण्डीकरण मिलाउने र एकल बाली लगाउने कामलाई चक्लाबन्दीका रूपमा लिने गरिन्छ । बाँझो जग्गामा एकीकृत खेती गर्नका लागि गलकोट नगरपालिकाको एक सहकारीले निलुवा लेकमा जग्गा चक्लाबन्दी गरेर खेती थालेको छ । जिल्लामा विस्तारै जग्गा चक्लाबन्दी गरेर व्यावसायिक खेती प्रणालीमा लैजान थालिएको छ ।

बसाइँसराइले क्रमशः गाउँका जग्गा बाँझो पल्टिने, जग्गाको खण्डीकरणका कारण यान्त्रिकरण गर्न नसकिने तथा एकल बालीका लागि उपयुक्त जग्गाको अभावका कारण चक्लाबन्दीको योजना आएको हो ।

नगदे बालीको उत्पादन बढाउने, यान्त्रिकरणको माध्यमबाट उत्पादन लागत घटाउने र खेर गएको जग्गालाई सदुपयोग गर्नका लागि जग्गा चक्लाबन्दीको योजना अघि सारेको सो परियोजनाले जनाएको छ ।

परियोजनाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा पाँच स्थानमा करिब पाँच सय रोपनीभन्दा बढी जग्गा चक्लाबन्दी गरेकामा चालु आवमा चक्लाबन्दी योजनाका लागि पुनः पाँच योजनाका लागि रु ५० लाख बजेट विनियोजन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना बागलुङका वरिष्ठ कृषि अधिकृत सुजित पौडेलले बताउनुभयो । उहाँका अनुसार चक्लाबन्दी कार्यक्रममा समावेश हुनका लागि फार्मको साठी रोपनी र समूहको एक सय रोपनी जग्गाभन्दा माथि हुन आवश्यक छ ।

“पछिल्लो सयम कृषिमा यान्त्रिकरण भइरहेको छ, पहाडमा साना–साना खण्डकीरणका जग्गा छन् भने केहीले जग्गालाई बाँझो बनाएर छाडेका छन्”, उहाँले भन्नुभयो, “दुई वर्ष पहिला परियोजनाले पाँचवटा चक्लाबन्दीको योजना सफल भएको छ, यो वर्ष पुनः पाँच स्थानको जग्गा चक्लाबन्दी गर्ने गरी योजना माग गरेका छौँ, चक्लाबन्दीले नगदे बाली बढाएको छ भने सम्भावित बाँझो जग्गालाई घटाएको छ, बाँझो जग्गा भाडामा लिएरसमेत जग्गा चक्लाबन्दी गर्न सकिने भएकाले जग्गाको उपयोगिता चक्लाबन्दीसँगै दोब्बरले बढेर जान्छ ।”

परियोजनाका अनुसार दुदीलाभाटी, ढोरपाटनमा समेत चक्लाबन्दी गरेको जग्गामा नगदे तरकारी तथा फलफूल बाली लगाइएको बताउनुभयो । चक्लाबन्दी जग्गामा अन्नबालीबाहेक जुनसुकै खेती गर्न सकिन्छ ।

चक्लाबन्दी जग्गामा सजिलै यन्त्र उपकरण लैजान सकिने, पानीको निकास हुने, पहिरो नजाने तथा उत्पादनमा समेत वृद्धि हुने र उत्पादन लागत घट्ने भएकाले जग्गा चक्लाबन्दीमा किसानको आकर्षण बढेको छ । चक्लाबन्दी भन्दैमा डोजर लगाएर जग्गा सम्याउनेमात्रै नभएर जग्गाको खण्डीकरण मिलाउने र अन्नबाहेकको एकल बाली लगाउनेलाई समेत चक्लाबन्दीका रूपमा लिदै आएको वरिष्ठ कृषि अधिकृत पौडेलको भनाइ छ । पौडेलका अनुसार चालु आवमा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामार्फत ४० विभिन्न कृषि योजनामा रु पाँच करोड बजेट विनियोजन भएको छ ।

छपन्न जनाको बाँझो जग्गा भाडामा लिएर गलकोटको सयपत्री बहुउद्देश्यीय सहकारीले एक सय २४ रोपनी जग्गा चक्लाबन्दी गरेर परीक्षण खेती थालेको छ । प्रतिरोपनी वार्षिक दुई हजार भाडा तिर्ने गरी जग्गा चक्लाबन्दी गरेर खेती गर्न थालिएको सहकारीका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष गण्डकी प्रदेश सरकारको रु २६ लाख र सहकारीको रु चार लाख लागतमा एक सय २४ रोपनी जग्गा चक्लाबन्दी गरिएको हो ।

“किसान घटाउने उत्पादन बढाउने हाम्रो योजना हो, परीक्षणका लागि केही खेती गरेका छौँ, गत वर्ष चक्लाबन्दी गरेको जग्गामा यस वर्ष जमिन दबेर खाल्डाखुल्डी परेको छ, पुनः जग्गा व्यवस्थित गरेर नगदेबाली लगाउनेछौँ”, उहाँले भन्नुभयो, “अहिले लसुन तथा सिमी लगाइएको उक्त स्थानलाई यस वर्ष पुनः व्यवस्थित गरेपछि खेती थालिनेछ ।”