📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सुगम जिल्लाको दुर्गम ‘खल्ला मसेट्टी’

🕒 September 12, 2022

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित खल्ला मसेट्टी अहिले पनि यातायातका सञ्जालसँग जोडिएको छैन ।विकासको पूर्वाधारबाट पछाडि परेको यो ठाउँ सडक सञ्जाल, विद्युत्, सञ्चारलगायत सेवा–सुविधाबाट बञ्चित छ ।

सदरमुकामबाट उत्तरतर्फ चुरेफेदमा करिब २० किलोमिटर टाढा रहेको यो बस्तीमा न यातायातको सहज पहुँच छ न त विद्यालय र खानेपानी नै छ । मोबाइलमा प्रायः नेटवर्क हुँदैन भने भएको बिजुलीको पनि भर हुँदैन । यहाँका स्थानीयले दुई दिनदेखि बिजुली बाल्न पाएका छैनन् । महेन्द्रनगरबाट करिब १३ किमी ब्रह्मदेवसम्म सुविधासम्पन्न सडक छ । ब्र्रह्मदेव कटेपछि यहाँ पुग्न कठिन बाटोको यात्रा गर्नुपर्छ ।

कच्ची ढुङ्गैढुङ्गाको जोखिमपूर्ण बाटो भएर यहाँ पुग्न सकिन्छ । यहाँका स्थानीय किनमेलका लागि पैदलै आठ किलोमिटर टाढाको ब्रह्मदेव बजार पुग्ने गरेका छन् । विसं २०६१ मा डडेल्धुराको रुपालबाट खल्ला मसेट्टी बसाइँसराइ आएका रतनसिंह ठगुन्नाले यहाँका स्थानीयले धेरै दुःख झेल्नुपरेको बताउनुभयो । “यहाँको मुख्य समस्या भनेकै बाटो हो, बाटो नहुँदा धेरै समस्या झेल्नुपरेको छ ।” उहाँले भन्नुभयो, “घरायसी सामान खरिदका लागि आठ किमी पैदल हिँडेर जानुपर्छ, आउनजान एक दिन पूरै लाग्छ ।”

उहाँले यातायातको सुविधा नहुँदा बिरामीको उपचार गराउन निकै समस्या झेल्नुपरेको बताउनुभयो । “गाउँमा उपचार गराउन स्वास्थ्य संस्था छैन, महेन्द्रनगर पुग्नुपर्छ ।” उहाँले भन्नुभयो, “खानेपानी छैन, मोबाइलमा नेटवर्क हुँदैन, बिजुली पनि नियमित छैन समस्या धेरै छन् ।” छ सय बढी जनसङ्ख्या रहेको यो बस्तीमा आधारभूत विद्यालयबाहेक अरु केही छैन । विद्यालय नभएकै कारण यहाँका बालबालिका पढ्नबाट बञ्जित हुने गरेको उहाँले बताउनुभयो । यहाँबाट ब्रह्मदेव पढ्नका लागि आठ किमी पैदल जानुपर्छ । “सुविधाका नाममा कक्षा ५ सम्मको मात्र विद्यालय छ ।” उहाँले भन्नुभयो, “विद्यालय नहुँदा स्कुल छाडेर कामका लागि धेरै कम उमेरमै भारत जाने गरेका छन् ।”

सडक सञ्जाल नहुँदा कष्टकर जीवन बिताउनुपरेको यहाँका स्थानीय सडक भएपछि अन्य समस्या विस्तारै समाधान हुँदै जाने थिए”, उहाँले भन्नुभयो, “बिरामी हुँदा सबैभन्दा बढी समस्या झेल्नुपर्छ, हिँडेर जान पनि बाटो राम्रो छैन ।”

उहाँले नेपाल टेलिकमको टावर यहाँ रहे पनि नेटवर्क समस्या बेले–बेला भइरहने बताउनुभयोे । उहाँका अनुसार यहाँका बासिन्दाले भारतीय सिमकार्ड प्रयोग गर्ने गरेका छन् । “सबैभन्दा बढी समस्या वर्षात्का बेला हुने गरेको छ हिउँदमा मोटरसाइकलमा ओहोर–दोहोर गर्न सजिलो हुन्छ”, उहाँले भन्नुभयोे, “दैनिक उपभोग गर्ने सामग्री ल्याउन समस्या झेल्नुपर्छ ।”

यहाँ पक्की बाटो बन्ला र गाडी गुड्ला भन्ने आशामा दशक बितेको स्थानीय सुमित्रा थापामगरले बताउनुभयो । “यहाँ गाडी आउँछ भनेकै २० वर्ष भइसक्यो भोट माग्ने बेलामात्रै आश्वासन दिन्छन्”, उहाँले भन्नुभयो, “यहाँ सुविधाका नाममा केही पनि छैन । खोलाको पानी खान बाध्य छौँ ।” उहाँले गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी नहुँदा धेरैपटक बिरामीलाई बोकेरै ब्रह्मदेव बजारसम्म पु¥याएको बताउनुभयो ।

राज्यको सेवासुविधा लिन पनि यहाँका स्थानीयलाई धेरै कठिन हुने गरेको छ । महाकाली किनारको जोखिमपूर्ण बाटो भएर ब्रह्मदेव पुग्नुपर्छ । वडा कार्यालय पनि ब्रह्मदेवमा भएकाले यहाँका स्थानीयले वडाबाट पाउने सेवा–सुविधा सहजरूपमा पाउन नसकेको स्थानीय मानमति धामीले बताउनुभयो । “सरकारबाट धेरै टाढा छौँ, गाउँमा सरकार आयो भन्छन्, हाम्रा दिन फेरिएका छैनन् ।” उहाँले भन्नुभयो, “एउटा सिफारिस लिन पनि एक–दुई दिन लाग्छ ।”

भीमदत्त –९ का वडाध्यक्ष गगनसिंह कार्कीले यहाँको विकासका लागि नगरपालिका र प्रदेश सरकारसँग आग्रह गरेको जानकारी दिनुभयो । उहाँले यहाँका स्थानीयको भेला गरेर समस्या पहिचान गरी नगर र प्रदेश सरकारलाई विभिन्न योजना माग गरिएको बताउनुभयो । “सडक निर्माण खोलामा पुल र खानेपानीका लागि नगर र प्रदेश सरकारलाई वडाबाट लेखेर पठाएका छौँ ।” उहाँले भन्नुभयो, “यहाँ विद्यालय र अन्य आधारभूत समस्याका लागि पनि प्रदेश सरकारलाई माग गरेका छौँ ।” उहाँले यहाँको विकासका लागि आफू लागिरहेको बताउनुभयो । अर्थावस्था कमजोर भएका नागरिकको बसोबास रहेको यो बस्तीका अधिकांश पुरुष जीविकोपार्जनका लागि भारतमा श्रम गर्न जाने गरेका छन् ।