📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बाँकेको अधिकांश स्थानीय तह डुबानमा

🕒 October 10, 2022

केही दिनयतादेखि निरन्तर परेको वर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुबान तथा बाढीले प्रभावित भएका छन् ।

प्राकृतिक विपद्का कारणले करिब पाँच सय घरपरिवारका कम्तीमा तीन हजार पाँच सय विस्थापित भएका छन् । सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन् । राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका–२ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा तीन सय घरधुरी विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

“विस्थापित भनेका जोखिम देखेर घर छाड्नेहरु हुन्” उहाँले भन्नुभयो । विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखिएको र केही घरसमेत फिर्ता भएको उहाँले बताउनुभयो । बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको छ । त्यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ र २० का तीन सयभन्दा बढी बासिन्दा पनि डुबानबाट विस्थापित भएका छन् । बाढीले नरैनापुरका दुई सय घर भत्केका छन् । त्यहाँका छवटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिनुभयो ।

उहाँले पीडितलाई राहत र उद्धारका लागि पटक–पटक अनुरोध गरेको जानकारी दिँदै चार दिनदेखि विद्युत्समेत नभएको बताउनुभयो । नरैनापुरका बनियागाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर, पचपेडवा, घोडदौरिया, पण्डितपुरवा, जमुनाहालगायत धेरै बस्ती डुबानमा परेका छन् ।

“यहाँका सबै स्थान पानीले भरिएको छ”, उहाँले भन्नुभयो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावतिको तथ्याङ्क सङ्कलन गर्ने, तत्कालका लागि सुक्खा खाना उपलब्ध गराउने निर्णय गरेको
छ । बाढी र डुबानबाट पीडित भएकालाई पुनःस्थापना र राहतका लागि विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर स्थानीय सरकारले राहत उपलब्ध गराउने निर्णयसमेत भएको सूचना अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

डुडुवामा राहत व्यवस्थापन

डुडुवा गाउँपालिकामा बाढीपीडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सयलाई पुग्ने गरी तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेको बताउनुभएको छ ।

डुडुवा–१ का छिटाइपुर्वास्थित दुई पाझा टोलका करिब एक सय २० र सोही वडाअन्तर्गत कृषि चौफेरी, बोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब दुई सय ५० अहिले बाढी र डुबानबाट वस्थापित भएर गाउँ नजिकै पालिकाले निर्माण गरेको आश्रयस्थलमा बसिरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ र घर बाढीले सबै डुबान गरेपछि आश्रयस्थलमा पुगेका स्थानीयलाई अहिले तत्काल तयारी खाजा र चार–पाँच दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ । उहाँले केही दिनसम्म स्थानीय पीडित भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गर्दै गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने जानकारी दिनुभयो ।