आजदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली परीक्षण सुरु

लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा स्थित २५ मेगावाट क्षमता सो आयोजना एक महिनाअघि निर्माण सम्पन्न भएको थियो ।

आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले भन्नुभयो, “हामीले बल्लबल्ल आयोजना निर्माण सम्पन्न गरौँ, निर्माण सम्पन्न भएपछि आयोजनाको उत्पादित बिजुली आजदेखि परीक्षण सुरु गरेका छौँ ।” आज र भोलि दुई दिन मेसिन जडान गर्न समय लाग्ने उहाँको भनाइ छ । “नेपाल विद्युत् प्राधिकरणको अनुमति र प्राधिकरणबाट कर्मचारीको उपस्थिति भएसँगै परीक्षण सुरु भएको छ । १५ दिन जति परीक्षण गर्छौँ, सफल भएमा हामी व्यावसायिकरुपमै कात्तिकदेखि नै बिजुली उत्पादन गर्न थाल्ने छौँ”, उहाँले भन्नुभयो ।
यस आयोजनाको बाँकी रहेको काम पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएपछि उक्त समयमा बिजुली उत्पादन गर्न असफल भए पनि ती सबै काम सम्पन्न गरेर यतिबेला बल्ल उत्पादित बिजुली परीक्षण अघि बढेको आयोजनाले जनाएको छ ।

उहाँले भन्नुभयो ,“आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र दुई हजार सात सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत्गृहमा झारिएको छ ।” यसको सफल परीक्षणसमेत भइसकेको छ । आयोजना निर्माणका क्रममा रु तीन अर्ब ९६ करोड लगानीमा निर्माणकार्य सम्पन्न लक्ष्यका साथ अघि बढे पनि यसको लागतसमेत बढेको बताइएको छ ।

सो आयोजना विसं २०७१ बाट निर्माण थालनी गर्दै विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको थियो । तर विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन ।

सम्झौताअनुसार आयोजनाको निर्माण सम्पन्न गर्न नसक्दा पटक–पटक म्याद थप गर्दै आएको थियो । यस आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । आयोजनामा १२ दशमलव पाँचका दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । यस दोर्दी करिडोरमा यस आयोजनासहित पाँच आयोजना रहेका छन् ।

पिपुल्स हाइड्रो पावर कम्पनीद्धारा जिल्लाकै ठूलो निर्मााणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को रहेका छन् । त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१, छयाङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना रहेका छन् । यीमध्ये २७ मेगावाटको दोर्दीखोला, छयाङ्दीखोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *