विश्व अण्डा दिवस : जनचेतना अभावमा अण्डा खपत कम

चितवन, २८ असोज (रासस) : स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डा जनचेतनाको अभावमा खपत कम भएको छ । अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व, ठिक्क मात्रामा चिल्लो पदार्थ पाइने भएर पनि यसको खपत भने कम भएको हो ।

विज्ञका अनुसार मानिस शरीरले सजिलैसँग शोषण हुने एकमात्र खाद्यवस्तु अण्डा हो । यसमा मुख्यरुपमा गुणस्तरीय प्रोटिन, भिटामिन ई, ए, के, बि १, बि २, बि ३, बि ६, बि ९, बि १२ खनिज तत्वहरु फोस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, आइरनका साथै चिल्लो पदार्थ पनि ठिक्क मात्रामा पाइन्छ । यी तत्वले मान्छेको शरीरमा मांशपेशी र दिमागको पर्याप्त वृद्धि विकास, स्नायु र मुटुसम्बन्धी तथा अन्य शारीरिक र मानसिक कार्य समानरुपले चलाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरी प्रोटिनको सबैभन्दा राम्रो स्रोत अण्डा भएको बताउनुहुन्छ । अण्डामा प्रोटिन, क्यालोरी र मिनिरल्स पाइने उहाँको भनाइ छ । यो अण्डाको सेतो भागमा धेरै पाइन्छ । पहेलो भागमा कोलेस्ट्रोल र मिनिरल्स पाइन्छ । उहाँ बच्चालाई कोलेस्ट्रोल पनि चाहिने हुँदा पहेलो भाग खुवाउनुपर्ने बताउनुहुन्छ । कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप भएकालाई पहेँलो भाग नखान उहाँको सुझाव छ ।

मादक पदार्थ धेरै खाएर प्रोटिनको मात्रा घटेका, कलेजोमा समस्या देखिएकाले प्रोटिन बढाउने मुख्य माध्यम अण्डा भएको डा अग्रहरीको भनाइ छ । उहाँले भन्नुभयो, “अण्डाले कलेजो र शरीरमा थिग्रिएको पानीलाई सोस्न सहयोग गर्छ ।” बयस्क र बच्चाका लागि दैनिक कम्तीमा एउटा अण्डा खानुपर्ने उहाँको सुझाव छ ।

शारीरिक विकास, मानसिक वृद्धि सबैमा अण्डा उपयोगी हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मानिसलाई बुझाउन नसक्दा अण्डाको उपयोग कम छ ।” यसका लागि उपयुक्त माध्यम जनचेतना नै भएको उहाँ बताउनुहुन्छ ।

विश्वको तुलनामा नेपालमा अण्डाको उपभोग निकै कम छ । नेपाल पशु चिकित्सक परिषद्का उपाध्यक्ष, वरिष्ठ पशु चिकित्सक डा सुवीर सिंह एशियाका मानिसले वार्षिक एक सय ८० अण्डा उपभोग गर्नुपर्ने भए पनि नेपालमा यो दर ६१ मात्रै रहेको बताउनुहुन्छ । जापानमा यो दर तीन सय ६२ रहेको उहाँले जानकारी दिनुभयो । मानिसमा आवश्यक जनचेतनाको अभावका कारण खपत बढ्न नसकेको सिंह बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “बेमौसमी काउलीभन्दा अण्डा सस्तो छ, तर बुझाउन नसक्दा खपत हुन सकेन ।” प्रोटिनको मुख्य स्रोत अण्डा निकै सस्तो भएर पनि उपभोग बढाउन नसकिएको उहाँको भनाइ छ ।

नेपालमा सबैभन्दा धेरै अण्डा उत्पादन गर्दै आएको दाउन्ने कर्पाेरेटका कार्यकारी निर्देशक विनोद पोखरेल सरकारी तवरबाट अण्डाको महत्वका बारेमा आम नागरिकलाई बुझाउन नसक्दा खपत नबढेको बताउनुहुन्छ । निजी क्षेत्रले लागत मूल्य बढी भएकाले जनचेतनामूलक काम गर्न नसकेको भन्दै उहाँले नेपालमा आत्मनिर्भर यो व्यवसायलाई टिकाउनका लागि सरकारी तवरबाट काम हुनुपर्ने बताउनुभयो ।

कोरोनाका बेला अण्डाको उपभोग निकै बढेको भन्दै उहाँले यसको महत्वका बारेमा आम नागरिकलाई बुझाउनुपर्ने बताउनुभयो । नेपालमा ठूला फार्म खुलेका जनाउँदै उहाँले व्यवसाय आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीको भनाइमा अहिले दैनिक ४८ देखि ५० लाख अण्डा उत्पादन हुँदै आएको छ । सङ्घमा आबद्ध फार्म मात्रै एक हजार दुई सय छन् । सङ्घमा दर्ता नभएका साना फर्म तीनगुणा बढी भएको उहाँ बताउनुहुन्छ । दुई लाखभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी यसले दिएको छ । समग्र पोल्ट्री क्षेत्रमा नेपालमा रु एक खर्ब ५० अर्बभन्दा बढी लगानी रहेको तथ्याङ्क छ । त्यसको झण्डै आधा अण्डा उत्पादन क्षेत्रमा लगाानी भएको उहाँले जानकारी दिनुभयो । यद्यपि उचित प्रचारप्रसारको कमीका कारण उपभोग बढाउन नसकिएको उहाँ
बताउनुहुन्छ ।

मानिसमा क्रयशक्तिमा कमि आउँदा प्राथमिकतामा अण्डा पर्न नसकेको उहाँको भनाइ छ । नागरिकलाई बुझाउन सकेमा मानवीय स्वास्थ्यका लागि अण्डाको खपत बढाउन सकिने केसी बताउनुहुन्छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *