📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पचपन्न वर्षीय यमीकुमारीको पढाइ मोह

🕒 October 16, 2022

घोराही, ३० असोज (रासस) ः खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ ५५ वर्षीय यमीकुमारी पुनमगरलाई पनि पढ्न उमेरले छेकेन । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर कालीमाटीका उहाँ ५५ वर्षको उमेरमा पनि विद्यालय जाने गर्नुहुन्छ ।

स्थानीय गङ्गा माध्यामिक विद्यालय रामपुरकोे कक्षा ५ मा अध्ययनरत यमी साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोग्नु परेकाले बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न आफू विद्यालय जाने गरेको बताउनुहुन्छ ।

“पढाइ नभएकै कारण कति धेरै अवसर गुमाएको छु”, उहाँ भन्नुहुन्छ, “जीवन सजिलो र सहज बनाउन शिक्षाभन्दा ठूलो केही रहेनछ, त्यस कारण अहिले ५५ वर्षको उमेरमा पनि विद्यालय जाने गरेकी छु ।” शिक्षा आर्जन गर्नका लागि उमेरले केही गर्दैन भन्ने कुरा देखाउन पनि अरुलाई प्रेरणा मिल्ने यमीको भनाइ छ ।

उहाँ यसअघि विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । जनप्रतिनिधिमा निर्वाचित भएपछि बैठकमा सहभागी हुनुपर्ने, उपस्थितिमा हस्ताक्षर गर्नुपर्ने, वितरण गरेका लेख्य सामग्री पढ्नुपर्ने र अध्ययन गरेर आफ्नो धारणा व्यक्त गर्नुपर्ने जिम्मेवारी आएको हुँदा दुई वर्षअघि कक्षा ३ मा भर्ना हुनुभएको थियो । घरमा सबै परिवार शिक्षित भएकाले आफू पनि पढेर हरेक कुराको जानकार बन्ने रहर पूरा हुँदै गएको यमी बताउनुहुन्छ ।

यसअघि स्थानीय तहमा निर्वाचित भएपश्चात् आफूले पढेलेखेको भए अझ धेरै विषयमा ज्ञान पाउन र जान्न सहज हुने उहाँको भनाइ छ । यमी घरको काम सबै भ्याएर पनि नियमित विद्यालय जाने गर्नुभएको छ । शिक्षकहरुले पढ्ने समयमा आज यो पाठ अथवा विषय पढ्ने हो भन्नेवित्तिकै आफूले सहज तरिकाले भेटाउन सकेको उहाँको अनुभव छ ।

“सुरुसुरुमा पढ्न केही असहज थियो, अहिले त सहज भइसकेको छ”, यमी भन्नुहुन्छ, “अहिले नियमित विद्यालयमा जाने र गृहकार्य पनि गर्ने गरेको छु ।” आफ्नो स्वास्थ्यले साथ दिँदासम्म पढाइलाई निरन्तरता दिँदै जाने उहाँको अठोट छ । बिचैमा पढाइ छोडेकाहरुलाई पनि उहाँको पढ्ने र केही सिक्ने जाँगरले प्रेरणा मिल्ने गरेको छ । “म विद्यालयबाट फर्कंदा अरुले पनि केकति, के के ? पढेको भनेर चासो राख्ने गर्छन्”, यमी भन्नुहुन्छ, “बिचैमा पढाइ छोड्नुभएका दिदीबहिनीले चासो राखेको देखेर खुसी लाग्छ ।” उहाँलाई परिवारबाट पनि पढाइका लागि निकै सहयोग मिल्ने गरेको छ ।

आफ्ना नाति नातिनाले अध्ययन गर्ने तहमा बसेर उनीहरूसँगै खेल्दै रमाउँदै गरेर सिक्दा झनै रमाइलो हुने गरेको यमीको अनुभव छ । उहाँको छोरी दुर्गा पुन आमाको पढाइप्रतिको उत्साहका कारण सबै परिवार खुसी हुने गरेको बताउनुहुन्छ । पढ्नुपर्छ भन्ने त्यो जोश, जाँगर आमामा भएकाले भोलिका दिनमा शिक्षण सिकाइ अझ प्रभावकारी हुँदै जाने उहाँको विश्वास छ । यमीले आफ्नो पढाइलाई निरन्तरता दिएसँगै विद्यालयमा वातावरण रमाइलो बनेको र अरू साना उमेरका विद्यार्थी पनि सिकाइका लागि उत्प्रेरित भएको विद्यालयका शिक्षिका सीता अधिकारी बताउनुहुन्छ ।

परिवेशअनुसारको अध्यापन गराउँदा साना उमेरका विद्यार्थीभन्दा यमीले छिटो सिक्ने र बुझ्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँलाई सुरुआती दिनमा अध्ययनका लागि केही अप्ठ्यारो भए पनि हाल भने निकै सहज भएको छ । यमीले सिकाइप्रति उत्सुकता राखेको देख्दा खुसी लाग्ने गरेको शिक्षिका अधिकारीको भनाइ छ । पुराना पुस्ताका व्यक्तिले अझै पनि अध्ययनमा चासो देखाउनाले समाजमा पठन संस्कृतिको विकास हुने र त्यसले हरेक विद्यार्थीलाई अध्ययनशील बनाउने विद्यालयको भनाइ छ ।