📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कर्णालीमा विपद्बाट ४९ को मृत्यु, २५ बेपत्ता

🕒 November 7, 2022

गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मृत्यु जुम्ला र मुगुमा रहेको जानकारी दिनुभयो ।

“असोज अन्तिम साताको अविरल वर्षाबाट जुम्ला र मुगुमा दश÷दश, कालीकोटमा नौ, हुम्लामा आठ, डोल्पामा दुई र दैलेखमा एक गरी ४१ व्यक्तिको मृत्यु भएको थियो”, उहाँले भन्नुभयो, “विपद्का कारण बेपत्ता हुनेको सङ्ख्या कालीकोटमा मात्रै १८ पुगेको छ ।” त्यस्तै, दैलेखमा तीन, जुम्ला, हुम्ला, डोल्पा र रुकुमपश्चिममा एक÷एक गरी २५ व्यक्ति बेपत्ता भएको उहाँले बताउनुभयो ।

चालु आव ०७९÷०८० को साउन, भदौ र असोज महिनामा विपद्बाट सुर्खेतमा कुनै मानवीय क्षति भएको छैन । यसबाट कर्णाली प्रदेशभर घाइते ७४ भएको जनाइएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार २० हजार सात सय ९४ परिवार विस्थापित भएका छन् । त्यसमा सात हजार चार सय १८ कालीकोट र पाँच हजार दुई सय ८२ जना मुगुकै मात्र छन् ।

त्यस्तै, तीन हजार दुई सय ८६ हुम्ला, जुम्लामा एक हजार नौ सय ५२, दैलेख एक हजार छ सय २०, सल्यान छ सय चार र सुर्खेतमा पाँच सय ६६, डोल्पा ३२, जाजरकोट र रुकुमपश्चिम १७÷१७ परिवार विस्थापित भएको सम्पर्क व्यक्ति रोकायले जनाउनुभयो । उहाँका अनुसार विपद्बाट कर्णालीमा हालसम्म दुई हजार दुई सय ५९ घर पूर्ण र दुई हजार छ सय ८४ घर आंशिक क्षति भएका छन् ।

कर्णालीमा सडक दुर्घटनाबाट ३३, चट्याङबाट एक र हिमपात चिसोबाट दुई व्यक्तिको मृत्यु भएको बताइएको छ । विपद् पूर्वतयारी र प्रतिकार्य योजनाका कारण असोज घटनामा खोज तथा उद्धारकार्यमा सहयोग पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिनुभयो ।

“विपद्को समयमा एक सय २८ मान्छेको उद्धार गरिएको थियो”, सचिव भुसालले भन्नुभयो, “खासमा पछि गएर राहत वितरण गर्नेभन्दा पूर्वतयारीकै काम गर्नु बुद्धिमानी रहेछ ।” विपद् कुनै पनि बेला हुनसक्ने जनाउँदै उहाँले स्थानीय आपत्कालीन कार्यसञ्चालन समितिलाई बलियो र क्रियाशील बनाउनतर्फ सबै विकास साझेदार र सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।