विद्यालयको शौचालय राम्रो छ तर पानी छैन

चिटिक्कको विद्यालय भवन, त्यससँगै नयाँ निर्माण गरिएको विज्ञान प्रयोगशालाको छुट्टै भवन र नजिकै रहेको शौचालय पनि नयाँ देखिन्छ । शौचालयमा धाराको टुटी जोडेर राखिए पनि टुटीबाट पानी भने कहिल्यै झर्दैन । यो अवस्था काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–६ कोलातीस्थित जनता माध्यमिक विद्यालयको हो ।

सो क्षेत्रकै सबैभन्दा जेठो र विद्यार्थी सङ्ख्याको हिसाबले पनि राम्रो रहेको उक्त विद्यालयका विद्यार्थीले भने पानीको अभावमा शौचालय राम्रोसँग प्रयोग गर्न पाएका छैनन् । सिङ्गो कोलाती गाउँमै खानेपानीको समस्या भएकाले विद्यालयका विद्यार्थीले शौचालयमा पानीकोे अभाव मात्रै झेल्नु परेको छैन, पिउने पानी पनि घरबाट लगेर प्यास मेटाउनुपर्ने बाध्यता रहेको छ ।
विद्यार्थीले खानेपानीका लागि घरबाट नै बोकेर लैजानुपर्छ । गाउँमै पानीको समस्या रहेकाले खानेपानी बोकेरै लानुपर्ने बाध्यता रहेको कक्षा ६ मा अध्ययनरत अञ्जना नेपालीले बताउनुभयो । “हामी सबै साथीले पिउने पानी यसरी नै घरबाट बोतलमा बोकेर लैजाने गरेका छौँ ।” उहाँले भन्नुभयो, “हाम्रो त घर नजिकै विद्यालय भएको कारण पनि सजिलो छ । कहिलेकाहीँ बिस्र्यो भने पनि घरमा नै गएर खाने गरेका छौँ ।”

सोही विद्यालयका कक्षा ७ मा अध्ययनरत विक्रम नेपाली र कक्षा ९ मा अध्ययनरत नकुल नेपालीले पनि खानेपानी र शौचालयमा प्रयोग गर्ने पानीको व्यवस्थापन नहुँदा निकै समस्या हुने गरेको बताउनुभयो । खानेपानीदेखि शौचालय जानुपर्ने अवस्थामा घरमै पुगी फर्केर आउने गरेको विद्यार्थीको अन्य विद्यार्थीको पनि भनाइ थियो । विद्यालय सहयोगी सोमाया पहरीले विद्यालयमा आफूले काम गर्न थालेदेखि नै खानेपानीका लागि गाउँदेखि तल रहेको खोल्साबाट पानी बोकेरै ल्याउनुपरेको बताउनुभयो । “काम गर्न थालेको १८ वर्ष भयो, त्यही बेलादेखि बिहानै धाराबाट बोकेर ल्याएर पानी घरमा राख्ने अनि विद्यालय खोल्ने समय भएपछि लगेर ख्वाउने गर्दै आएको छु ।” उहाँले भन्नुभयो, “पछि गाउँमा नजिकै धारा आए पनि पर्याप्त नभएका कारण अहिले पनि त्यसरी नै बोकेर नै ख्वाउने गरेको छु ।”

धेरै विद्यार्थी सङ्ख्या भएकाले दिनको दुई चार गाग्री ल्याएको पानीले सुरु सुरुमा खान आउने विद्यार्थीलाई पुगेपनि सबैलाई व्यवस्थापन गर्न गाह्रो भएको विद्यालय सहयोगी पहरीको भनाइ थियो । पानीको मुहान नजिक नभएका कारण सधैँभरी बोकेर समस्या समाधान गर्न कठिन भएको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्रान्ति लामाले यस भेगकै सबैभन्दा पुरानो विद्यालयमा पछिल्लो समयमा शैक्षिक वातावरण सुधार हुँदै आए पनि अझै खानेपानीको समस्या समाधान गर्न भने चुनौती नै रहेको बताउनुभयो । करिब ३०० विद्यार्थी अध्ययनरत विद्यालयमा खानेपानी समस्या समाधानका लागि भौगोलिक जटिलताकै कारण पनि कठिन भएको उहाँको गुनासो थियो । पानी अभावका कारण विद्यार्थीलाई मात्रै नभएर शिक्षकलाईसमेत शौचालय प्रयोग गर्नका लागि समस्या भएको विद्यालयले जनाएको छ ।

पछिल्लो समयमा खानेपानी समस्या समाधानका लागि वडा नं ५ सल्लेबाट थोरै पानी आइरहे भए पनि आफूहरुले उपभोग गर्दै आएको पानी कोलाती बासिन्दाले लगेको भन्दै विरोध गरेर सल्लेबासीले रोकिदिएका थिए । विद्यालयमा आफू व्यवस्थापन समितिको अध्यक्ष भएर आएपछि विज्ञान प्रयोगशाला सामग्री, कम्प्युटर ल्याबको व्यवस्था, विद्यालयमा नर्स र विज्ञान प्रयोगशाला भवन निर्माण गरिए पनि खानेपानीको समस्या भने अहिलेसम्म पूरा गर्न नसकिएको अध्यक्ष लामाले बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *