‘उम्मेदवारको प्रचारशैलीे भड्किलो छैन’ – News Nepal Media
Trend

तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यतिखेर ८९ उम्मेदवार घरदैलो एवं प्रचारमा छन् । जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा १७ जनाको उम्मेदवारी छ भने प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (१)मा आठ जना र (२)मा छजनाको उम्मेदवारी छ ।

निर्वाचन आचारसंहिताका कारण यतिखेर उम्मेदवारको प्रचारशैली विगतमा जस्तो भड्किलो छैन । धानलगायतका बाली भित्र्याउने समय भएका कारण खेत तथा बारी पुगेका मतदातालाई काम गरेकै ठाउँमा पुगी मत माग्नु यतिखेर उम्मेदवारका लागि बाध्यताजस्तै बनेको छ । विगतका निर्वाचनमा प्राप्त मतलाई ठूला तथा पुराना दलले आसन्न निर्वाचनका लागि मुख्य आधार मान्दै जोड घटाउ गरिरहेका अवस्थामा नयाँ दल तथा तथा स्वतन्त्र उम्मेदवार पनि उच्च मनोबलका साथ निर्वाचनलाई आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा छन् ।

चुनावी घरदैलोका क्रममा मतदातासँग भएको भेटघाटले आफू निकै उत्साहित बनेको हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार चेतबहादुर महत बताउहुनुन्छ । प्रत्येक सर्वसाधारणले सुशासनसँगै समृद्धि र विकासको चाहना व्यक्त गरेको बताउँदै उहाँले राजनीतिक नेतृत्व परिवर्तनका पक्षमा मतदातालाई पाएको बताउनुभयो ।

घरदैलोसँगै विभिन्न सामाजिक सञ्जालको प्रयोगबाट चुनाव प्रचारप्रसार गरेको बताउने स्वतन्त्र राजनीतिक शक्ति नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यका समानुपातिकतर्फका उम्मेदवार राजु बराल अहिलेको मतदाताले राज्यको स्रोत साधनमा भइरहेको घोटाला एवं ब्रह्मलुट गर्ने प्रवृत्तिको अन्त्य यसै निर्वाचनमार्फत खोरिहेको बताउनुहुन्छ ।

“विकास आयोजना सम्पन्न हुन बीसौँ–तीसौँ वर्ष लाग्ने परिपाटीबाट सार्वजनिक साधन र स्रोत खेर जाने तथा जनता र अर्थतन्त्रको अवस्थामा कुनै सुधार नआउने प्रवृत्तिको अन्त्यका लागि पनि हाम्रो उम्मेदवारी हो”, उहाँले भन्नुभयो । मौलिक परम्परा, भाषा, लिपि, कला, संस्कृति र प्राचीन धरोहरको संरक्षण आवश्यक भएको बताउँदै उहाँले आफूहरूले नदी किनारका सुकुम्बासी नागरिकको जीविकोपार्जन र वैकल्पिक स्थानमा बसोबासको व्यवस्थापन गर्न सार्थक सहयोग गर्नेलगायतका प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव कँडेल भ्रष्टाचाररहित समाज एवं राष्ट्र आफूहरूको प्रमुख नीति भएको बताउँदै बेथिती विसङ्गति तथा सबै प्रकारका विकृतिको अन्त्य गरी देशमा सुशासन स्थापना गर्ने लक्ष्य लिइएको बताउनुभयो । शिक्षा क्षेत्रको विकासका लागि प्रत्येक सरकारी विद्यालयको भवनस्तरीय बनाई अन्तर्राष्ट्रियस्तरको पाक्रयक्रम लागू गरी दक्ष शिक्षक नियुक्ति गरी १२ कक्षासम्म निःशुल्क अध्ययन अध्यापनको व्यवस्था मिलाउने योजना रहेको उहाँले बताउनुभयो ।

पचास वर्ष अगाडिको परिकल्पना गरी त्यस अवस्थाका आवश्यक मोटरबाटो, पुल, बिजुली, खानेपानी तथा सञ्चारको प्रभावकारी तथा दीर्घकालीन व्यवस्था गर्ने विषयलाई घोषणापत्रमा उल्लेख गरिएको बताउँदै उहाँले प्रत्येक जिल्ला जोड्ने मोटर बाटो चारदेखि छ लेनसम्मको बनाउन पहल गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । स्वास्थ्यमा जनताको पहुँच, कृषिको आधुनिकीकरणसँगै पर्यटकीय विकास गर्ने बताउँदै उहाँले नयाँ उद्योग सञ्चालनका साथै हालसम्म बन्द रहेका उद्योग पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्योग सञ्चालनमा आवश्यक बैंक ब्याजदर न्यूनीकरण गर्ने, स्वदेशी पानीलाई विदेशसम्म बजारीकरण गर्नेलगायतका योजना रहेको उहाँको भनाइ छ ।

क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार तारानाथ सुवेदी विकास योजनाको वितरणका नाममा अन्धाधुन्ध र बेथितीपूर्वक रकम बाँड्ने प्रवृत्तिलाई राष्ट्रिय योजना आयोग र महालेखा परीक्षकको कार्यालयमार्फत नियन्त्रण गरिनुपर्नेलगायतका योजनासहित चुनावी अभियानमा हुनुहुन्छ । कृषि क्षेत्रको समस्याको रुपमा रहेको जमिन उपयोग गर्ने र त्यसको भूस्वामित्वको प्रश्नलाई स्थायी समाधान गरी युवा जनशक्ति रोजगारीका लागि बाहिर जानु नपर्नेलगायतका विषय उहाँले घोषणापत्रमा समेट्नुभएको छ ।

हाम्रो नेपाली पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिरिष गुरुङ भ्रष्टाचाररहित समाज निर्माण गर्नु अहिलेको प्रमुृख आवश्यकता भएको बताउनुहुन्छ । कृषि पर्यटनलाई जोड दिँदै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकतालाई सहज एवं सुलभ बनाउनेलगायतका विषय नै आफ्नो मुख्य एजेन्डा रहेको उहाँले बताउनुभयो ।घरदैलो एवं मतदाता भेटघाटबाट आफू निकै उत्साहित बनेको जनाउँदै उहाँले जनता परिवर्तनका पक्षमा रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP