बुधबार , बैसाख ३, २०८२
मतदाता रिझाउने अन्तिम कसरतमा उम्मेदवार – News Nepal Media
Trend

आसन्न निर्वाचनका लागि प्रचारप्रसार गर्ने अवधि तीन दिन मात्रै बाँकी छ ।

आइतबार हुने निर्वाचनको मौन अवधि बिहीबारदेखि सुरु हुनेछ । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने भएपछि चितवनका उम्मेदवारे घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा गठबन्धन दल र एमालेबीच मूख्य प्रतिस्पर्धा हुने देखिए पनि यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनौती दिने मतदाताको आँकलन छ ।

प्रमुख राजनीतिक दलहरुले भरतपुरमा चुनावीसभा पनि सम्पन्न गरिसकेका छन् । सत्ता गठबन्धनले शनिबार सत्ता गठबन्धनले भरतपुरको गेष्टहाउस चौरमा जनसभा आयोजना ग¥यो भने सोही ठाउँमा ने नेकपा (एमाले) ले सोमबार जनसभा सम्पन्न ग¥यो ।

शनिबारको जनसभालाई सम्बोधन गर्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै केही वर्ष यही गठबन्धन कायम रहने भन्दै आफ्ना उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वामगठबन्धनले चुनाव जित्नुपर्ने धारणा राख्नुभयो ।

सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई जनमत सङग्रहको संज्ञा दिँदै गठबन्धनका उम्मेदवार विजयी भए मात्र देशमा स्थायित्व कायम हुने बताउनुभयो ।

उहाँले चितवनबाट गोरखा जानुको कारण बताउँदै आफू चितवनकै स्थायी बासिन्दा भएको प्रष्ट पार्नुभयो । प्रचण्डले निर्वाचनपछि गठबन्धनको सरकार बन्ने बताउँदै उम्मेदवारहरुलाई मत माग्नुभयो ।

गठबन्धनले सभा गरेको दुई दिनपछि सोही ठाउँमा एमालेले आयोजना गरेको जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार निर्माण भएमात्रै देशमा स्थिर सरकार आउने दाबी गर्नुभयो ।

गठबन्धन र एमाले दुवैका जनसभा सकिएपछि प्रमुख पार्टीका उम्मेदवार आज र भोलि जनमत धेरै भएको क्षेत्रमा केन्द्रित घरदैलो र कोणसभा गर्दैछन् । उम्मेदवार व्यक्तिगत रुपमा मतदाता भेट्ने र फोन गरेर समेत मत मागिरहेका छन् ।

घरदैलोका क्रममा भेट्न नपाएका मतदातालाई गठबन्धनका उम्मेदवारले फोनमार्फत कुरा गरेर मत मागिरहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनुभयो ।

उहाँले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अन्तिम कसरतमा लागेको भन्दै पार्टीले कार्यकर्ता व्यापक रुपमा परिचालन गरेको जानकारी दिनुभयो ।

माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले धेरैभन्दा धेरै मतदाता भेटघाट गर्न उम्मेदवार घर–घरमा गइरहेको बताउनुभयो । उहाँले निर्वाचनको सङ्घारमा कुन उम्मेदवारलाई मत दिने भन्ने निर्णय नगरिसकेका मतदातालाई आफ्नो पक्षमा पार्न गठबन्धनका पार्टी लागिरहेको जानकारी दिनुभयो ।

नेकपा (एमाले) चितवनका उपसचिव प्रकाश ढुङगानाले पार्टीका उम्मेदवार अवको तीन दिन घरदैलो र जनता भेटघाटमा नै केन्द्रित हुने बताउनुभयो । उहाँले मौन अवधि सुरु हुनुभन्दा अगाडि तीन वटै निर्वाचन क्षेत्रमा मतदातालाई नै भेटघाटका कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने यसपटक जनसभाको आयोजना नगर्ने तर घरदैलो र कोणसभा भने मौन अवधि सुरु हुनुभन्दा अघिसम्म गर्ने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले पार्टीले घरदैलोलाई नै प्राथमिकता दिएको भन्दै आज एक दर्जन बढी ठाउँमा भेटघाटका कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने अन्तिम कसरतका रुपमा मङ्सिर १ गते नारायणी नदी किनारमा जनसभा गर्ने जनाएको छ । पार्टी अध्यक्ष रवि लामिछानेले तीन दिन चितवन केन्द्रित घरदैलो गर्ने बताउनुभयो ।

चितवनका तीनवटै निर्वाचन क्षेत्रमा स्वतन्त्र रुपमा उम्मेदवार बनेकाहरुले पनि मतदाता रिझाउन अन्तिम दौडधूपमा लागेका छन् । जिल्लामा चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP