📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

मोरङ–३ : त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

🕒 November 16, 2022

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ । सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ ।

विसं २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा र वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकालबीच प्रतिस्पर्धा भएको थियो । ढकालले विजयी हुँदै ४२ हजार चार सय १३ तथा शर्माले ४० हजार पाँच सय छ मत प्राप्त गर्नुभएको थियो । ढकालसँग शर्मा एक हजार नौ सय सात मतान्तरले पराजित हुनुभएको थियो ।

गत स्थानीय तहको निर्वाचनको परिणामलाई हेरेर यस पटक अनुमान लगाउन सकिने अवस्था छैन । नायिका थापाको उम्मेदवारीले यस पटकको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । एमालेलाई बलियो सङ्गठनको भरोसा छ । शर्मा गठबन्धनको भर पर्नुभएको छ ।

नायिका थापा मोरङ–३ मा मतदाताले आफुलाई साथ दिने बताउनुहुन्छ । जनताको सेवा गर्ने भावनाले नै चलिचित्र क्षेत्रलाई केही समयका लागि थाँती राखेर चुनाव लड्न आएको उहाँ बताउनुहुन्छ । मुख्य प्रतिस्पर्धा ढकाल, शर्मा र थापाबीच हुने देखिन्छ । कांग्रेसबाट जयराज संयोक बागी उम्मेदवार रहनुभएको छ ।

मोरङ क्षेत्र नं ३ मा सङ्घीय र प्रदेशमा गरी ३३ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । उन्नाइस स्वन्तन्त्र उम्मेदवार हुनुहुन्छ । नेमकिपाबाट ओमनारायण राजवतार, लोकतान्त्रिक समाजवादी पार्टीबाट भवन राई, हाम्रो नेपाली पार्टीबाट खगेन्द्रप्रसाद न्यौपाने, नेकपा (माले) बाट उद्धिमबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेशनबाट विकेन्द्र राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिकादेवी लिम्बू, नेशनलिष्ट पिपुल्स पार्टीबाट नारायण शर्मा, समाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती चुनावी मैदानमा हुनुहुन्छ ।

त्यसैगरी दिनेश चापागाईँ, जयराज संयोक, कृष्ण राई, पङ्कजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

क्षेत्र नं ३ प्रदेशसभा (१) मा कांग्रेसबाट मानबहादुर लिम्बू, एमालेबाट दिलीपकुमार राई, राप्रपाबाट तीर्थबहादुर गुरुङलगायत सात जनाको उम्मेदवारी छ । प्रदेशसभा (२) मा एमालेका ज्ञानेन्द्र सुवेदी, नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमार श्रेष्ठ, राप्रपाबाट रमेश रिजाललगायत १३ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाका चौविस वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा एक लाख ३९ हजार आठ सय ३३ मतदाता छन् । प्रदेशसभा (१) मा ७५ हजार तीन सय ९३ तथा प्रदेशसभा (२) मा ७४ हजार दुई सय ४० मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले बताउनुभयो । उक्त क्षेत्रमा ४८ मतदान केन्द्र कायम गरिएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत सङ्ख्या हेर्दा सत्ता गठबन्धनको मत बढी देखिएको छ । एकल मतमा भने एमाले थोरै अगाडि छ । सो निर्वाचनमा एमालेको ३७ हजार चार सय १० र जनता समाजावादी पार्टीको चार सय ६३ मत आएको थियो । जसपा–एमाले गठबन्धनमा ३७ हजार आठ ७३ मत देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दुई हजार एक सय २१ मत छ । कांग्रेसको ३६ हजार नौ सय १६, माओवादी केन्द्रको सात हजार तीन सय ७३ र एकीकृत समाजवादीको एक हजार आठ सय ५५ मत रहेको छ । सत्ता गठबन्धनको कुल मत ४६ हजार एक सय ४१ रहेको छ ।