📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नुवाकोट क्षेत्र नं २ : गठबन्धनका केसी ढुक्क, एमालेका खतिवडा दबाबमा

🕒 November 17, 2022

त्रिशूली, १ मङ्सिर (रासस) : यही मङ्सिर ४ गते हुने आमनिर्वाचनमार्फत नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नतिजा आफ्नो पक्षमा आउने अजुर्ननरसिंह केसीको विश्वास छ ।

निर्वाचनको प्रतिस्पर्धामा जित र हारको आलोपालो नतिजा व्यहोर्दै आउनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केसी यस पटक नतिजा आफ्नो पक्षमा आउने पालो पर्खनुभएको मात्रै छैन जीवनको अन्तिम पटकको चुनावी यात्रा भन्दै सुखद् नतिजाको पर्खाइमा हुनुहुन्छ । त्यसका लागि सत्तारुढ दलबीचको गठबन्धनको साथ र सुधारिएको पार्टीको सङ्गठन बलियो आधार भएको उहाँ दाबी गर्नुहुन्छ ।

“मेरो प्रतिस्पर्धी कोही छ जस्तो लाग्दैन”, उम्मेदवार केसीले दाबीका साथ भन्नुभयो, “पार्टीगत प्रतिस्पर्धाका लागि तयार भएको व्यक्ति हुँ, संविधानको रक्षा र नेपाली नागरिकको मौलिक हक सुनिश्चित गर्न सत्तारुढ दलहरुबीचको गठबन्धनसहितको साझा उम्मेदवारसमेत भएकाले जितभन्दा पनि मतान्तर फराकिलो बनाउने कसरतमा छु ।”

यसअघिको निर्वाचन २०७४ मा करिब १० हजार मतले केसीलाई पराजित गरेर विजयी भएका नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडा यस पटक पनि नतिजा आफ्नै पक्षमा आउने दाबी गर्नुहुन्छ । “निर्वाचित भएको पाँच वर्षको अवधिमा जनताको विश्वास र मतको दुरुपयोग हुन दिइनँ”, उम्मेदवार खतिवडाले भन्नुभयो, “भूकम्पपछिको पुनःनिर्माण, कोरोनाकालको समयमा त्रिशूली अस्पतालमा आरटी–पिसीआर प्रयोगशालासहित देशभरकै उत्कृष्ट बनाउन पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्थाले नागरिकको स्वास्थ्यमा सुधार, कृषिका लागि जोन, पकेट र ब्लक कार्यक्रमको विस्तार लगायतमा गरेको सेवा मेरो जितको आधार हो ।”

एमालेका उम्मेदवार खतिवडाका लागि अघिल्लो पटकको जस्तो नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन छैन । पार्टी फुटको असरलाई सुधार गर्नुपर्ने दबाबमा उहाँ हुनुहुन्छ । यस पटकको निर्वाचनमा जनताले जितको भारी बोकाउने विश्वासमा रहेका केसी र खतिवडाका लागि चुनौतीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डे हुनुहुन्छ । पर्यटन व्यवसायमा बनाएको छवि बोकेर राजनीतिक यात्रामा होमिनुभएका पाण्डे आफूलाई वैकल्पिक शक्तिका रूपमा जनताले चाहेको र परिवर्तनको नेतृत्वका रुपमा प्रस्तुत गर्नुहुन्छ ।

निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा ११ उम्मेदवारमध्ये अधिकांशले आफ्नो प्रचारलाई तीव्र बनाएका छन् । स्वतन्त्र भनिएका र केही साना दलका उम्मेदवारले मनोनयन दर्तासँगै गुमनाम भए पनि अधिकांश उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा लागिरहेका छन् । उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका झनक प्याकुरेल, नेपाल मजदुर किसान पार्टीका गणेशमान बाटाकक्षी, लोकतान्त्रिक समाजवादी पार्टीका धनकुमारी सुनार, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेममाया तामाङ र जनसमाजवादी पार्टीका हिमाल जोशीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेको बताउनुभएको छ ।

स्वतन्त्र उम्मेदवार गायत्री दाहाल, सुदर्शन पुडासैनी र विनोदकुमार तामाङले सामाजिक सञ्जाल तथा निर्वाचन क्षेत्रमा आफ्नो प्रचार–प्रसार, मतदाता भेटघाटसहितको घरदैलो कायमै राखिरहेको जनाउनुभएको छ ।

यस निर्वाचन क्षेत्रमा पर्ने विदुर र बेलकोटगढी नगरपालिकासहित तारकेश्वर, म्यागङ र किस्पाङ गाउँपालिकामा एक लाख १८ हजार नौ सय ७४ मतदाता छन् ।