शुक्रबार , बैसाख ५, २०८२
धन कमाउन कुवेत पुगेका सुरज उतै अस्ताए – News Nepal Media
Trend

काठमाडौँ । अछामका सुरजबहादुर कडायत करिब १३ महिना अगाडि वैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए । आर्थिक उन्नतिका लागि भन्दै विदेसिएका उनको गत मंगलबार सवारी दुर्घटनामा मृत्यु भयो ।

मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रमा गाडीको ठक्करबाट अछाम पञ्चदेवलका २६ वर्षीय सुरजसहित नागार्जुन नगरपालिका–२ सानोभर्‍याङ बस्ने सुजन कार्की र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको थियो ।

गत आइतबारमात्र सुरजले आफ्नी पत्नी डल्ली कडायत र छोराछोरीसँग ‘भिडियो कल’ गरी कुराकानी गरेका थिए । त्यसको दुई दिनपछि डल्लीलाई फेरि कुवेतबाट फोन आयो तर त्यतिबेला सुरज होइन, उनलाई कुवेत पठाउने मेनपावर कम्पनीका सञ्चालकले दुखद खबर सुनाउन फोन गरेका थिए । डल्लीलाई सुरजको मृत्युको खबर सुनाइएको थियो ।

दुर्घटनामा मृत्यु भएका तीनै जना एउटै कम्पनी ‘पापाजोन’मा काम गर्दै आएका थिए । हवालीमा बस्दै आएका सुजन र धिरज गत सोमबार राति महाबुल्लास्थित साथी सुरजलाई भेट्न गएका थिए । मंगरबार बिहान कोठा फर्किने क्रममा बस चढाउन आएका सुरजसहित तीनै जनालाई कुवेती नागरिकले चलाएको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै ज्यान गएको कुवेत प्रहरीलाई उद्धृत गर्दै कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

घरमा सुरजकी श्रीमती, १ छोरा, २ छोरी, आमा बुबा र तीन भाइ छन् । उनको मृत्युको खबरले कडायत परिवार स्तब्ध भएको छ । बुबा नरबहादुर र आमा धनसरी देवीलाई छोराको मृत्यु खबर पत्याउनै गाह्रो छ । यसअघि उनीहरूले माइलो छोरा गुमाएका थिए । भारतमा काम गर्दै आएका माइलो छोराको पनि सवारी दुर्घटनामै परेर मृत्यु भएको थियो ।

सुरजका काकाका छोरा झंकरले दाइको मृत्यु खबर पत्याउनै गाह्रो भइरहेको बताए । काठमाडौँमा बस्दै आएका झंकर पनि वैदेशिक रोजगारीको तयारीमा छन् ।

कडायत परिवारका अनुसार सुरज कुवेतमा वेटरको काम गर्दै आएका थिए । यसअघि लामो समय भारतमा बसेर काम गर्दै आएका उनी नेपाल फर्किएर वैदेशिक रोजगारीको चाँजो मिलाएका थिए । सोही क्रममा कुवेत पुगेका उनको कामधन्दा राम्रै चलिरहेको थियो । उनले बर्दियामा जग्गा किनेर घर बनाइरहेका थिए । घर पूरा गर्न नपाउँदै उनी आफैँ अस्ताउन पुगे ।

घर बनाउन थालेपछि आमा धनसरी देवी अछामबाट बर्दिया झरेकी थिइन् । छोराको मृत्युको खबरपछि उनी अछाम पुगेकी छन् । सुरजका कान्छो भाइ अहिले प्लस टुमा पढिरहेका छन् । परिवारका लागि आर्थिक रूपमा मेरुदण्ड बनेका सुरज नै अस्ताएपछि परिवार विक्षिप्त बनेको छ ।

दुर्घटनामा मृत्यु भएका तीनै जनाको शव नेपाल पठाउने तयारी भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । यो विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पनि निकै चासो देखाएका छन् ।

उनीहरूको शव पोस्टमार्टमको लागि फरवानिया अस्पतालमा राखिएको छ । पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाइने गरी आवश्यक पहल भइरहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP