नेताहरु चीन जाँदा नेपालमा उथलपुथल योजना कि संयोग ?

एउटा अचम्मको संयोग के देखिएको छ भने नेपालका नेताहरु चीन भ्रमणमा गएकाबेला नेपालमा कुनै न कुनै महत्वपूर्ण राजनीतिक घटनाक्रम हुने गरेको छ । कुनैपनि राजनीतिक दलका शीर्ष नेता वा पार्टी नेताहरुको प्रतिनिधिमण्डल चीन गएकाबेला नेपालको राजनीतिमा उतारचढाव देखिने गरेको छ ।

अहिले पहिलोपटक रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेसहित सांसद तथा नेताहरु चीन भ्रमणमा गएकाबेला सभापति रवि लामिछानेमाथि संकट आइप¥यो । सहकारी ठगीमा संसदीय समितिले उनलाई जिम्मेवार ठहर गरेपछि सरकारले रविमाथि एक्सन लिन थालेको हो । वाग्लेसहितको टोली चीन पुगेकै दिन रविलाई पक्राउ गर्न प्रहरी बनस्थलीस्थित पार्टी कार्यालयमा पुग्यो । पार्टी कार्यालयमा तनावको स्थिति बन्यो ।

सभापति लामिछानेले चीन भ्रमणमा रहेको टोलीलाई तत्काल स्वदेश फर्किन निर्देशन दिए । उनको पक्राउ र वाग्लेको टोलीको चीन भ्रमणसँग के सम्बन्ध थियो र तत्काल फिर्ता हुन निर्देशन दिनुपर्ने आवश्यकता आयो ? यो प्रश्न गम्भीर छ ।

सभापतिको निर्देशपनिपछि उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेता आकस्मिकरुपमा स्वदेश फर्किँने निर्णयमा पुगे । पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद शिशिर खनाल, गणेश पराजुली, तोसिमा कार्की र असिम शाह, तथा नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, तपेश्वर यादव र प्रकाश विष्टलगायत फर्किएकाहुन ।

रास्वपा नेताहरु फर्किएपछि चिनियाँ नेता र रास्वपका नेताहरुबीच हुने निर्धारित सम्पूर्ण कार्यक्रम रद्द भएकाछन । १० दिने भ्रमणमा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम थियो । चीनले पहिलोपटक औपचारिकरुपमा रास्वपा नेताहरुलाई भ्रमणका लागि निम्तो दिएको थियो ।

यस्तै संयोग एमाले नेता विष्णु रिमालको टोली चीन भ्रमणमा रहँदा परेको छ । एमालेका तत्कालिन उपमहासचिव विष्णु रिमालको नेतृत्वमा चीन भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सन ह्याइयानसँग शिष्टाचार भेट गरिरहेकाबेला नेपालमा कांग्रेस र एमालेको सरकारको खाका तयार भएको थियो ।

एमालेले नेकपा माओवादी केन्द्रसँग गठबन्धन तोडेर कांग्रेससँग सरकार बनाउने ७ बुँदे सहमतिको खाका तयार गरिसकेको थियो । नेपालको राजनीतिक इतिहासमा यो निकै ठूलो परिवर्तन थियो ।

हाल प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार रहेका रिमालले त्यो बेला चीनको हवेइ प्रान्तको नवनिर्मित स्मार्ट सिटी सियाङ्गाआ शहरमा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सन ह्याइयानलाई भेटेका थिए । उनीहरुबीच दुई कम्युनिष्ट पार्टी, दुवै देशका सरकार र जनस्तरमा आपसी सहयोग आदानप्रदानलगायत विषयमा छलफल भएको थियो । त्यो भ्रमण टोलीमा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्यहरू विनोद श्रेष्ठ, सुजिता शाक्य, केन्द्रीय सदस्यहरू, पार्टीका प्रदेश तथा जिल्ला अध्यक्षलगायत २९ जना सहभागी थिए ।

यस्तै, अर्को संयोग एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा नेकपा एमालेका २२ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गर्दा भएको छ । महासचिव पोखरेलको टोली चीन जाँदा पार्टीका नेता सुवास नेम्वाङको अचानक निधन भएको थियो । नेम्वाङको निधनपछि महासचिव पोखरेलसहितको टोली सम्पूर्ण कार्यक्रम रद्द गरेर स्वदेश फर्किनु परेको थियो । भ्रमण टोलीमा महासचिव पोखरेलसहित स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह लगायत थिए ।
अचानक स्वदेश फर्किनु परेपछि चीनसँगका निर्धारित सम्पूर्ण कार्यक्रम रद्द हुँदा थुप्रै कुरा अघि बढ्न सकेनन ।

अहिले रास्वपालाई चीन भ्रमणमा बोलाएकाबेला सभापति रवि प्रकरणले रास्वपाको उच्चस्तरीय टोली फर्कनुपरेको छ । २०२४ को सुरुवातमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको उच्चस्तरीय टोली नेपाल भ्रमणमा आएको थियो । यो टोलीको नेतृत्व चिनियाँ उपमन्त्री सुन हैयानले गरेका थिए । भ्रमणको क्रममा सुन हैयानले रवि लामिछानेसँग भेट गरेका थिए । नेपालको राजनीतिक परिदृश्यमा रास्वपाको चाँडो उदयलाई स्वीकार गर्दै पार्टीको सफलताका लागि बेइजिङको शुभेच्छासमेत उनले व्यक्त गरेका थिए । अहिले रास्वपाको टोली चीन भ्रमणमा रहेकाबेला सभापति लामिछानेलाई पक्राउ गर्नु योजना भन्दा पनि संयोग पर्न गएको धेरैको ठम्याइ छ ।

रास्वपाका उपसभापति डा. वाग्लेले ‘मोन्रो डक्ट्रिन’ को चर्चा गर्दै भारतप्रति नरम दृष्टिकोण राखेको सन्दर्भमा उनको चीन भ्रमणलाई पनि अर्थपूर्णरुपमा हेरिएको थियो ।

नेपालमा बढ्दै गएको राजनीतिक अस्थिरताको कारण दुई दिनमै टोलीलाई स्वदेश फर्काउनु यसलाई पनि आश्चार्य मानिएको छ । लामिछानेले चीनसँगको सम्बन्धले निम्त्याउन सक्ने विवादलाई रोक्न प्रतिनिधिमण्डललाई फिर्ता बोलाएको आशंका धेरैले गर्न थालेका छन्।

रास्वपाले भने चीनको भ्रमण विश्व राजनीतिक गतिविधिहरू बुझ्न र अन्तर–पार्टी सम्बन्धलाई प्रवर्द्धन गर्नको लागि गरिएको भनेर स्पष्ट पारेको छ ।
रास्वपाको महत्वपूर्ण प्रतिनिधिमण्डलको चीन भ्रमणका क्रममा नेपाल सरकारले पार्टी अध्यक्षलाई गिरफ्तार गरेको घोषणा चिनियाँ कम्युनिष्ट पार्टीको उक्साहट हो भन्नु लज्जाको विषय बनेको छ । पछिल्लो पटक एमालेको चीन भ्रमणमा पनि विद्रोह भएको थियो, यसपटक पनि । यस्तो कुरा अस्वीकार्य हुनुपर्छ अन्यथा सम्बन्धलाई असर गर्नेछ ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *