📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

खजुरामा ५३ विद्यालय भवन निर्माण

🕒 May 26, 2022

बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन भौतिक पूर्वाधारमा जोड दिएको छ । गाउँपालिकामा जनप्रतिनिधि आएपछि शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएका कारण विद्यालयका संरचना तयार भएको गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार बितेको पाँच वर्षमा खजुरा गाउँपालिकामा ५३ विद्यालय भवन बनेका छन् । गाउँपालिकाले सङ्घ र प्रदेशको समेत सहयोग लिएर भवन बनाएको हो । भौतिक पूर्वाधारको क्षेत्रमा आर्थिक वर्ष २०७४÷७५ देखि २०७८÷७९ सम्म आइपुग्दा करिब १२० कक्षाकोठा, नमूना विद्यालयको नियमित कार्यक्रम र सङ्घीय सशर्त अनुदानका दुईकोठ र चारकोठे भवन, प्रदेश सरकार, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, गाउँपालिकास्तरबाट र विद्यालयको आन्तरिक स्रोत परिचालन गरेर भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय सुधार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउनुभयो ।

‘जहाँ विद्यार्थी, त्यही शिक्षक’ अभियान चलाएको खजुराले विद्यार्थी र शिक्षकको अनुपात मिलाएको छ । खजुराले ४० विद्यार्थी बराबर एक शिक्षकको मापदण्ड बनाएको छ । सङ्घीय हिसाबमा ५० विद्यार्थी बराबर एक शिक्षक पर्छ । पञ्चवर्षीय योजना बनाएको पालिकाले करार शिक्षक नियुक्ति गरेर विद्यालयमा पठाएको छ । एक शिक्षक बराबर ४० भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा पालिकाले करारमा शिक्षक पठाएको केसीको भनाइ छ ।

स्थानीय सरकार आएपछि विद्यालयको सुक्ष्म व्यवस्थापनमा सहयोग गरेको छ । खानेपानी, शौचालय, खेलमैदान, विद्यालय भवन मर्मतसम्भारलगायत कार्यक्रममा सहयोग गरेको छ । खजुरामा निःशुल्क तथा अनिवार्य शिक्षा आधारभूत तहसम्म लागू गर्नका लागि पालिकास्तरबाटै वार्षिकरूपमा झण्डै रु ३८ लाख विद्यालयमा निकासा गरेपछि आधारभूत तहसम्म विद्यालय पूर्णरूपमा निःशुल्क भएका छन् ।

गाउँपालिकाले भवनसँगै शौचालय निर्माणदेखि आइटी ल्याब, शैक्षिक गुणस्तरीय कार्यक्रमअन्तर्गत विभिन्न सहयोग गरेको छ । सामुदायिक विद्यालय ३०, मदरसा १७ र निजी विद्यालय १८ गरी खजुरामा ६५ विद्यालय छन् । गाउँपालिकामा २१ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको सङ्ख्याअनुसार भवन थप्ने, शिक्षक मिलाउने काम भइरहेको मल्लले बताउनुभयो ।