📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती

🕒 June 6, 2022

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो ।

यस्तै चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनुपर्ने बाध्यता छ । काठमाडौँ उपत्यकामा रहेको र राजधानीसँग जोडिएको नगरपालिका भए पनि चाँगुनारायणका वडा नं ३ र ५ मा सार्वजनिक यातायात सञ्चालन नहुँदा यहाँका नागरिकले दैनिक सास्ती भोग्दै आएका छन् । उनीहरुलाई जरुरी कामको लागि पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा कोही बिरामी परे अस्पताल लैजानसमेत महँगो भाडा तिरेर सवारी साधन ‘रिजर्भ’ गर्नुपर्ने बाध्यतासमेत छ ।

सार्वजनिक सवारी साधन नहुँदा विद्यार्थीलाई समयमा कक्षा भ्याउन हम्मेहम्मे पर्ने तथा आफ्नो बारीमा उत्पादन भएका तरकारी एवं बाली बजारसम्म लैजान किसानलाई हम्मेहम्मे पर्ने गरेको छ । केही समय अघिसम्म छालिङमा सार्वजनिक यातायात सञ्चालन भएको भएता पनि हाल बन्द हुँदा नजिकका आफन्तले समेत हेला गर्ने गरेको छालिङका स्थानीय गोकर्ण पुरीले बताउनुभयो । विकासको क्षेत्रमा छलाङ मारेपनि झौखेलमा सार्वजनिक यातायात सञ्चालन नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको स्थानीय गोविन्द थापाले बताउनुभयो ।

यसैबीच राजधानीबाट नजिक तथा भक्तपुर नगरसँग जोडिएको स्थान भए पनि यातायात सेवा नहुँदा झौखेल र छालिङवासीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि नगर प्रमुख जीवन खत्रीले समस्या समाधानको पहल गर्नुभएको छ । चाँगुनारायणका हरेक क्षेत्रमा सार्वजनिक यातायातको पहुँच विस्तारका लागि उहाँ जुट्नुभएको हो ।

यातायातको समस्याले दुःख खेप्दै आएका नगरवासीकोे समस्या समाधानका लागि नगर प्रमुख खत्रीले ख्वप भक्तपुर मिनिबस यातायात समितिका पदाधिकारीसँग छलफल गर्दै चाँगुनारायणमा सार्वजनिक यातायातको विस्तार र पहुँच वृद्धिको लागि पहलकदमी सुरु गर्नुभएको    हो ।

“चाँगुनारायण नगर त भयो तर अहिले पनि अधिकांश स्थान ग्रामीण परिवेशभन्दा फरक छैन”, नगर प्रमुख खत्रीले भन्नुभयो, “जहाँ यातायातको सेवा नहुँदा काठमाडौँबाट नजिक भए पनि धेरै टाढाको दूरदराजको गाउँ जस्तो महसुस हुने गरेको छ ।” उहाँले चाँगुनारायणको वडा नम्बर १ देखि ९ सम्म सञ्चालन भइरहेका सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्न र नियमित समय तालिका निर्माण गरी सञ्चालन गर्न यातायात व्यवसायीसँग सहकार्य गर्न नगरपालिका तयार रहेकोसमेत बताउनुभयो ।

छलफलका क्रममा समितिका पदाधिकारीले झौखेल र छालिङमा एक महिनाभित्र यातायात सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै नगरका सडकको सुधार गर्नुपर्ने, विगतमा यातायात सञ्चालन गर्दा अनेक समस्या आएकाले त्यस्ता समस्या फेरि दोहोरिन नदिन नगरपालिकाले सहयोग गर्नुपर्ने माग राखेका थिए ।