वीरगञ्ज समाचारः जिसस पर्सामा सोनार विजयी – News Nepal Media
Trend

जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी हुनुभएको छ । जसपा र नेकपा (एमाले) तर्फबाट साझा उम्मेदवार बन्नुभएका उहाँ दुई मतको अन्तरले विजयी हुनुभएको हो ।

उहाँले १५ मत ल्याउँदा उहाँका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित जिजयी बन्नुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गर्नुभयो ।

जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन मिलेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् । एमालेको १० र जसपाको पाँच गरी १५ मत थियो । यसैगरी कांग्रेस १२ र लोसपा एक गरी १३ मत थियो ।

रामको उपचार खर्च प्रमुख सिंहले व्यहोर्ने

छाडा साढेको आक्रमणमा परी घाइते भएका पर्सा परवानीपुरका लक्ष्मण रामको उपचारमा लागेको सम्पूर्ण खर्च वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले व्यक्तिगतरूपमा तिर्नुभएको छ । गत जेठ १५ गते साढेको आक्रमणमा परी राम गम्भीर घाइते हुनुभएको थियो । गरिबीका कारण उपचारमा कठिनाइ भोगेका रामको सबै उपचार खर्च नगर प्रमुख सिंहले तिर्नुभएको हो ।

स्पर्श हस्पिटलमा उपचार गरिरहेका रामको आर्थिक अवस्था खराब रहेको जानकारी पाएपछि नगरप्रमुख सिंह उनलाई भेट्न अस्पतालमै पुग्नुभएको थियो । नगरप्रमुख सिंहले गरेको प्रतिबद्धताबमोजिम नै रामको उपचारमा लागेको रु एक लाख ८० हजार उपलब्ध गराइएको हो ।

नगरप्रमुख सिंहले भन्नुभयो, “छाडा चौपायको आक्रमणबाट घाइते बनेका यसमा पनि आर्थिक अवस्था कमजोर भएका कारण मानवीय सेवाभावले रामको उपचारमा लागेको खर्च मैले व्यहोरेको हुँ ।” यही जेठ १५ गते साढेको आक्रमणबाट वीरगञ्ज–२४ परवानीपुरका राम गम्भीर घाइते भएका थिए ।

अन्तर्राष्ट्रिय शैक्षिक मेला

विद्यार्थीलाई उच्च शिक्षाका लागि जानकारी दिने उद्देश्यले वीरगञ्जमा आयोजित दुईदिने अन्तर्राष्ट्रिय शैक्षिक मेलाको करिब चार हजार विद्यार्थीले अवलोकन गरेका छन् । आस्था नेपाल र कृष्णा फाउण्डेशनको संयुक्तरूपमा आयोजनामा गरेको शैक्षिक मेलाको आयोजना गरेका थिए ।

उच्च शिक्षाका लागि भारत जान चाहनेहरूलाई मध्यनजर गर्दै आयोजित शैक्षिक मेला शुक्रबार र शनिबार चलेको थियो । शैक्षिक मेलामा छिमेकी राष्ट्र भारतका ख्यातिप्राप्त १५ कलेजका प्रतिनिधिले विद्यार्थीलाई निःशुल्क परामर्श दिएका थिए ।

विद्यार्थीलाई कुन–कुन विषय अध्ययन गराइन्छ र सो अध्ययन गर्दा कति शुल्क लाग्छ भन्नेसहितका सम्पूर्ण जानकारी दिने अभिप्रायले मेला आयोजना गरिएको फाउण्डेशनले जनाएको छ । बाराको सिमरा, कलैया, जितपुर, रौतहट, पर्सालगायतका विभिन्न ठाउँका गरी झण्डै चार हजारभन्दा धेरै विद्यार्थी एवं अभिभावकले शैक्षिक मेलामा सहभागी भएर निःशुल्क परामर्श लिएका थिए ।

सालको काठ बरामद

पर्साको पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुर खोलाबाट अवैध सालको गोलिया बरामद भएको छ । डिभिजन वन कार्यालय रङ्गपुरको गस्ती टोलीले सालको गोलिया एक थान बरामद गरेको हो ।

राष्ट्रिय वन क्षेत्रबाट कटान गरेर साइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा गस्ती टोलीले गोलिया बरामद गरेको थियो । गस्ती टोलीलाई देख्नेबित्तिकै साइकल र काठ छाडी काठ ल्याउने व्यक्ति फरार भएको हुँदा निजको खोजी भइरहेको डिभिजन वन कार्यालय रङ्गपुरले जनाएको छ । बरामद काठ र साइकल कार्यालय राखिएको र थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP