हिजो २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन, केहि दिनमै सडक सफा हुने

हिजो काठमाडौँको करिव २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको छ । हिजो १५३ ट्रक फोहोर व्यवस्थापन गरिएको थियो ।

फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि केही अवरोध छैन । साइट इञ्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठ भन्नुहुन्छ, ‘यही गतिमा काम भएपछि केही दिनमै सहरका सडक सफा हुनेछन् ।’

प्रभावितसँग काठमाडौँ महानगरको १८ बुँदे सहमति गरेपछि फोहोर उठ्न थालेको हो। सहमति पछि महानगरका प्रमुख शाहले प्रभावित क्षेत्रका स्थानीयको मागलाई क्रमशः सम्बोधन गरिने बताउनु भएको छ । ‘फोहोरलाई वातावरणमैत्री बनाइएन भने मानव स्वास्थ्यसहित वातावरण र अन्य प्राणी जीवनमा पनि संकट ल्याउँछ । यसप्रति हामी संवेदनशील छौँ । यसैअनुरुप साइट व्यवस्थापनको काम गर्नेछौँ ।’ प्रमुख शाहले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सहमतिअनुसार साइटलाई दुर्गन्ध नआउने बनाउने र फोहोर बोक्ने गाडीबाट फोहोर पानी (लिचेड नखस्ने) बनाउने कामका लागि १ महिना अवधि राखिएको छ । यस्तै २ महिनाभित्र लिचेडको बैज्ञानिक व्यवस्थापन गर्ने काम महानगरले गर्नेछ । यस्तै ३ महिनाभित्र बञ्चरे डाँडा वरपरका घरटहरा क्षतिपूर्ति सम्बन्धी निर्णय हुनेछ ।

बैज्ञानिक अध्ययनका आधारमा प्रभावित क्षेत्र छुट्याउने, यसका आधारमा अधिग्रहण, मुआब्जा वितरणलगायतका काममा महानगरले सम्बन्धित मन्त्रालयमा पहल गर्नेछ । सिसडोलको क्यापिङ् सम्बन्धी अध्ययन गराएर त्यसको शिफारिसका आधारमा ६ महिनाभित्र काम  हुनेछ ।

स्थानीयसँगै फोहोरका चालक र सहचालकको स्वास्थ्य बीमा गर्ने, प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि बार्षिक बजेटलाई निरन्तरता दिने, प्रभावित क्षेत्रमा हरियाली बढाउने, कृषि प्रवर्धनका काम गर्ने, फोहोरलाई स्रोतमा बर्गीकरण गरेर व्यवस्थापनको काम थालनी गर्ने सहमति पत्रमा उल्लेख छन् ।

तीनपिप्ले गल्छी बैकल्पिक राजमार्गका लागि सरकारसँग अनुरोध गर्ने, तीनपिप्ले बञ्चरे सडकको नाममा लगत राख्ने तथा यसअघि सहरी विकास मन्त्रालयमा भएका प्रतिवद्धता कार्यान्वयन गर्न पहल हुनेछ । यी बुँदामा सहमति भएपछि फोहोरको अवरोध हटेको हो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *