भ्रमणबारे जानकारी माग

प्रतिनिधिसभाका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी असार अन्तिम साता संयुक्तराज्य अमेरिकामा हुने भनिएको भ्रमणबारे जानकारी माग गर्नुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा परराष्ट्र नीति कार्यान्वयनसम्बन्धी भएको छलफलमा उहाँहरुले प्रधानमन्त्रीले गर्ने कुनै पनि भ्रमण अघि सबै दलसँग आवश्यक छलफल र परामर्श गर्दा उपयुक्त हुने धारणासमेत व्यक्त गर्नुभयो ।

बैठकमा समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र नीति कार्यान्वयन सम्बन्धमा विगतदेखि नै भएका गतिविधि समीक्षा गरेर अघि बढ्नुपर्ने बताउँदै नीति कार्यान्वयनलगायत विषयका लागि राष्ट्रिय शक्तिका बीचमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भ्रमणका सम्बन्धमा समिति, संसद् र सम्पूर्ण देशलाई् जानकारी हुनुपर्ने बताउँदै यस विषयमा परराष्ट्रमन्त्रीको धारणा आवश्यक रहेको उल्लेख गर्नुभयो । परराष्ट्र नीति कार्यान्वयन गर्दा छिमेकी मुलुकलाई सशङ्कीत बनाउने काम गर्न नहुने उहाँको धारणा थियो ।

समिति सदस्य एवं पूर्वउपप्रधानमन्त्री डा भीम रावलले प्रधानमन्त्री देउवाको भ्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई समितिमा आमन्त्रण गरेर स्पष्ट पार्नुपर्ने माग गर्नुभयो । समिति सदस्य पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सबै दलसँग परामर्श गरेर एक बोलीका साथ जाँदा उपयुक्त हुने बताउनुभयो । उहाँले कुनै छिमेकीलाई चिढाउने र कुनै छिमेकीलाई रिझाउने गरी पराराष्ट्र नीति कार्यान्वयन गर्न नहुनेमा जोड दिनुभयो ।

बैठकमा सांसद दिव्यमणि राजभण्डारीले विगतमा सरकार प्रमुखले रातिराति गोप्यरुपमा भेटघाट गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै अहिलेका भेटघाट पारदर्शी भएको बताउनुभयो । उहाँले विदेशीसँगका सबै भेटवार्ता पारदर्शी हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा कति कुन पेशासँग सम्बन्धित विदेशी छन् भन्ने सम्बन्धमा कुनै देश लक्षितभन्दा पनि सम्पूर्ण विवरणबारे जानकारी राख्नुपर्ने बताउनुभयो । सांसद सुरेन्द्रकुमार कार्कीले नयाँ परिवेशमा परिमार्जित ढङ्गले शान्तिको प्रस्ताव अघि बढाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै यसमा सबै पार्टी र सरकार मिलेर छिमेकीसँग वार्ता गर्न सुरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

समिति सभापति पवित्रा निरौला (खरेल)ले आगामी बैठकमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई आमन्त्रण गरेर भ्रमणबारे स्पष्ट पार्न आग्रह गर्ने बताउनुभयो । बैठकमा सांसदहरु लीलादेवी सिटौला, चाँद ताराकुमारी, मोहन बानियाँ, नारदमुनी राना, पुष्पाकुमारी कर्णलगायतले परराष्ट्र नीति कार्यान्वयन सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *