📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पञ्चकोटमा पूर्वाधार विकास गरिँदै

🕒 June 17, 2022

बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट धाममा पछिल्लो समय तीनै तहका सरकारको चासो बढेको छ । सङ्घीय, प्रदेश र स्थानीय सरकारले पञ्चकोटमा पूर्वाधार विकास र प्रचारप्रसारका लागि आफ्ना कार्यक्रममार्फत सहभागिता जनाउन थालेका हुन् ।

स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विसं २०७१ देखि बर्सेनि महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिँदै आएको छ । महायज्ञकै भरमा पञ्चकोटमा बनेका संरचनालाई पूर्णता दिन तीन तहका सरकारको ध्यानाकर्षण भएको हो । दक्षिण भारतीय शैलीमा निर्माण भएका मन्दिर र केही पूर्वाधार निर्माण भइरहेको अवस्थामा नै अध्ययन तथा अवलोकन र पूजापाठका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै सरकारी निकायको ध्यान पञ्चकोटमा पर्न थालेको वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

आठ वर्षदेखि निर्माणाधीन पञ्चकोटमा झण्डै रु २५ करोडभन्दा बढीको संरचना निर्माण भइसकेका छन् भने मुख्य संरचनाका रूपमा निर्माण हुने विश्व शान्ति कलशको रु ६० करोड लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन तयार गरी अहिले फाउण्डेसनको काम भइसकेको
छ । कलशको फाउण्डेसन तयार गर्नका लागि तीन वर्षयता बागलुङ नगरपालिकाले बजेट विनियोजन गर्दै आएको छ ।

बागलुङ नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न हरेक वर्ष लगानी गर्दै आएको पञ्चकोटमा आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले पनि झण्डै रु चार करोड विनियोजन गरेको छ । “पञ्चकोटमा विश्व शान्ति सर्वसिद्धिधाम कलश, भ्यू टावर र अन्य संरचना निर्माणका लागि आगामि आर्थिक वर्षका लागि रु तीन करोड ८८ लाख बजेट विनियोजन भएको छ”, सङ्घीय सांसद डा सूर्य पाठकले भन्नुभयो, “सहरी विकास मन्त्रालयले बागलुङमा विनियोजन गरेको बजेटमा प्राथमिकतामा पञ्चकोट परेको छ ।” महायज्ञमा उठेको दान दक्षिणाकै भरमा सुरु भएको पञ्चकोटको निर्माण कार्यमा सरकारको ध्यान पुगेकोमा सर्वसाधारण खुसी छन् ।

गण्डकी प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा पञ्चकोटलाई सम्बोधन गरेको छ । नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पञ्चकोटमा पूर्वाधार विकासका लागि बजेटको व्यवस्था भएको बागलुङ क्षेत्र नं १ (क) प्रदेसभा सदस्य इन्द्रलाल सापकोटाले बताउनुभयो । विनियोजित रकमको अङ्क भने मन्त्रालयगत बाँडफाँडमा तोकिने छ ।

बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारीकोट र संसारकोट मिलाएर पञ्चकोटको नामाकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलशसमेत निर्माण गरिँदैछ । कलश निर्माणपछि पञ्चकोटमा बाह्य पर्यटकसमेत आउने अपेक्षा गरिएको छ । समुद्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौलागिरि, निलगिरीलगायत दर्जन बढी हिमशृङ्खला देख्न सकिन्छ ।

पञ्चकोट पुग्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेपछि वडाले पनि आफ्ना कार्यक्रम पञ्चकोट लक्षित बनाउन थालेको छ । पर्यटकको सुविधाका लागि पञ्चकोट क्षेत्र आसपासमा खाना, बाँसलगायतका सुविधा प्रधान गरेर आर्थिक गतिबिधि बढाउने योजना रहेको वडाध्यक्ष रुद्रबहादुर केसी बताउनुहुन्छ ।

करिब १०० रोपनी क्षेत्रफलमा तीन तलाको अतिथि आवास तथा कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग निर्माण भइसकेको छ । गण्डकी माताको मन्दिर र गरुणशिलाको निर्माण पनि पूरा भइसकेको छ । सिसमहल, सत्संग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुना घर बनिसकेको छ । पाँच हजार ५५५ केजीको महाघन्टाका लागि आवश्यक संरचना तयार छ । त्यस्तै, सभा भवन निर्माणाधीन अवस्थामा छ ।