वर्षाले राहत, मल अभावले निराश

गए रातिदेखि आएको वर्षाका कारण कञ्चनपुरका धान खेती गरिरहेका किसानलाई राहत भएको छ । लामो समय पानी नपर्दा आकाशे पानीको भरमा खेती गर्दै आएका किसान वर्षा हुँदा राहत भएको बताउँछन् । वर्षा नहुँदा जमिनको ‘पानीको सतह’ कम हुँदा बोरिङबाट पानी तान्ने पनि समस्या थियो । तर धान खेती गर्ने चटारो रहेका बेला कञ्चनपुरका मलखादको अभाव देखिएको छ । मलखादको अभावसँगै समयमा वर्षा नहुँदा सिँचाइको प्रबन्ध नहुँदा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कञ्चनपुरका १० प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा दिलबहादुर विष्टले मल अभाव रहेका बेला यहाँको खुल्ला सीमानाकाबाट आयात हुने भारतीय मल भने गुणस्तर नभएको बताउनुभयो । “सरोकारवाला निकायमा मलखाद अभाव हुँदा किसान भरतीय बजारबाट मल ल्याएर खेतमा हालिरहेको भए पनि त्यो त्यति गुणस्तरीय छैन”, उहाँले भन्नुभयो, “यहाँ धेरै जसोमा सिँचाइ सुविधा रहे पनि कतिपय स्थानमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था रहेको छ ।”

यता किसान भने भारतबाट मल ल्याएर खेती गरिरहेका छन् । यहाँको बेदकोट नगरपालिका–९ का सञ्जय रानाले सीमावर्ती क्षेत्रबाट मल ल्याएर खेतमा हालिरहेको बताउनुभयो । “भारतबाट रु दुई हजारमा ल्याउने मल यहाँको बजारमा रु दुई हजार पाँच सयमा किनबेच हुँदैछ”, उहाँले भन्नुभयो, “गाउँका धेरै किसान मलको अभावले खेती गर्न सकिरहेको अवस्था छैनन् ।” उहाँले सीमा क्षेत्रमा सुरक्षाकर्मीले मलखाद साइकल र मोटरसाइकलमा एक बोरा मात्रै ल्याउन दिइरहेको बताउनुभयो । “कृषि सामग्रीबाट ल्याएर सहकारी मलखाद गाउँमा वितरण गर्थे”, रानाले भन्नुभयो, “कृषि सामग्रीले पनि केही समयअघि आधा बोराको दरले मौज्दान मलखाद किसानलाई वितरण गरेको थियो ।”

त्यसैगरी शुक्लाफाँटा नगरपालिका–६ का सुनिल रानाले मलखादको अभाव जहिल्यै खेती गर्ने समयमा हुने गरेको बताउनुभयो । “खेती सुरु भइसक्दासम्म राज्यले मलाखद भित्र्याउने प्रबन्ध नगरेको सुनिन्छ”, रानाले भन्नुभयो, “सीमापारिबाट वैधानिक रुपले नमिल्दा हामी किसान जहिल्यै समस्यामा हुन्छौँ ।”

यहाँस्थित कृषि सामग्री कम्पनी लिमिडेटका प्रमुख बलबहादुर शाहले जेठमा यहाँ ६ सय मेट्रिक टन मात्रै ढिएपी मल धान खेतीका लागि आएको बताउनुभयो । “त्यो मल त्यही बेला सकिएयता अहिलेसम्म हामी कहाँ कुनै पनि मल आएको छैन”, शाहले भन्नुभयो, “असारको अन्तिमसम्म मलखाद यहाँ आउला कि भन्ने खबर छ ।”

त्यसैगरी साल्ट टे«डिङ कर्पोरेशन कञ्चनपुरका प्रमुख दीपक भट्टले एक हजार चार सय बोरा डिएपी मौज्दान रहेको बताउनुभयो । उहाँले भैरवाहबाट मलखाद आउनासाथ आफूहरूले सहकारीमार्फत किसानलाई वितरण गरिरहेको बताउनुभयो । “हामीकहाँ मल लैजाने १०२ वटा सहकारी आबद्ध छन्,” उहाँले भन्नुभयो, “मल पर्याप्त नरहे पनि अभाव नै भने भइसकेको छैन ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *