पूर्वखोला पूर्ण खोप सुनिश्चितता पालिका घोषणा – News Nepal Media
Trend

पाल्पाको पूर्वखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल र उपप्रमुख काशिका गैरेले सोमबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नुभयो ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल बताउनुहुन्छ ।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकामा १२ वर्षभन्दा माथि उमेरका कोभिड विरुद्वको खोप १२ हजार १०२ जनाले पूर्ण मात्रामा लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ ।

सोही तथ्याङ्कका आधारमा पालिकाका करिब ९९.८० प्रतिशत कोभिड विरुद्वको खोप पालिका घोषणाका लागि जिल्ला समन्वय समितिसमक्ष पेस गरिएको र स्वीकृत भई घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताउनुभयो । पालिकाभित्र छवटा स्वास्थ्य चौकी र पाँचवटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् । साबिकका सिलुवा, जल्पा, रिङ्नेरह, देवीनगर, वीरकोट र हेक्लाङ्ग गरी छवटा गाविसहरू समेटेर पूर्वखोला गाउँपालिका बनेको हो । यस पालिकाभित्र हाल छवटा वडा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP