‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रम

तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले विगत दुई वर्षदेखि सञ्चालन गरेको ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

कार्यक्रम सुरु भएपछि घरमा हुने असुरक्षित सुत्केरी सङ्ख्या घटेको र संस्थागत सुत्केरी गराउनेको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिनुभयो ।

यसअघि वार्षिक रुपमा १५÷२० जना मात्रै संस्थागत सुत्केरी हुने गरेकामा कार्यक्रम लागू भएपछि संस्थागत रुपमा सुत्केरी गराउनेको सङ्ख्या १४० रहेको उहाँले बताउनुभयो । “अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत संस्थागत सुत्केरी गराउनेलाई रु तीन हजार पोषण खर्च बापतको रकम प्रदान गर्छौं,” उहाँले भन्नुभयो, “यो कार्यक्रममार्फत असुरक्षित सुत्केरी गराउने क्रम घटेको छ ।”

गाउँपालिकाले घरमा हुने सुत्केरीलाई पूर्ण रुपमा निस्तेज पार्दै संस्थागत सुत्केरी सेवालाई प्राथमिकतामा राखेको बताउँदै उहाँले भन्नुभयो, “यसले गर्दा घरमा हुने असुरक्षित सुत्केरीको कारण आमा र बच्चाको स्वास्थ्य हुने जोखिम न्यूनीकरणका पनि टेवा पु¥याएको छ ।”

गाउँपालिकाले चालु आर्थिक वर्षमा संस्थागत सुत्केरी गराउने ९५ जना महिलालाई पोषण खर्चबापत रु तीन हजारका दरले प्रोत्साहन रकम प्रदान गरिसकेको छ । यसै क्रममा केही दिनअघि मात्रै १९ जनालाई पोषण खर्चबापत रु तीन हजारका दरले रकम वितरण गरिएको छ ।

गाउँपालिकाले सुत्केरीका लागि घरबाट स्वास्थ्य संस्थासम्म र स्वास्थ्य संस्थाबाट घरसम्म जान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । साथै जोखिम अवस्थामा रहेका र स्थानीय स्वास्थ्य संस्थाबाट रिफर गरिएका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पोखरादेखि भरतपुरसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

मातृ शिशु मृत्युदर कम गराउन सञ्चालित यो कार्यक्रम प्रभावकारी बन्दै गएको र यसलाई निरन्तरता दिइने श्रेष्ठले बताउनुभयो । “गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउँदा महिलाहरुको ज्यान जाने खतरा हुन्छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “त्यसलाई निरुत्साहित गर्दै स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने नीति लिएका छौँ ।” उहाँका अनुसार पोषण भत्ता वितरण थालिएपछि स्वास्थ्य संस्थामा परीक्षण गराउन र सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घिमिरेका अनुसार गाउँपालिकाले दिने रु तीन हजार पोषण भत्ता लिनलाई गर्भवतीले कम्तीमा चारपटक स्वास्थ्य परीक्षण गराएको हुनुपर्छ । उहाँका अनुसार म्याग्दे बाहिरका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेले भने यो सुविधा पाउँदैनन् ।

सुरक्षित प्रसूति तथा कुपोषणमुक्त गाउँपालिका बनाउने उद्देश्यसहित यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । “स्वास्थ्य क्षेत्र सुदृढ गर्न तथा सुरक्षित प्रसूति एवं कुपोषणमुक्त बालबालिका बनाउन यो कार्यक्रम ल्याएका हौँ,” स्वास्थ्य शाखा प्रमुख अधिकारीले भन्नुभयो, “यसले मातृ मृत्युदर घटाउनाका साथै आमा र शिशुको स्वास्थ्यलाई समेत फाइदा पुग्छ ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *