पासाङल्हामु मार्गमा डोजर व्यवस्था

धुञ्चे–रसुवागढी खण्डमा वर्षायाममा हुने सम्भावित राजमार्गको अवरोध हटाउन डोजरको व्यवस्था गरिएको छ । यसबाट रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्री सहज रूपले गन्तव्य पठाउन सहयोग पुग्ने जनाइएको छ । सो खण्डका मार्गमा दिनहुँजसो पहिरो जान थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्देशमा तीनवटा डोजर राखिएको हो ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार भारी वर्षाका कारण दैनिक सडक अवरुद्व हुन थालेपश्चात् पूर्वसावधानी अपनाउँदै डिभिजन सडक कार्यालय नुवाकोट र गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाको डोजर तैनाथ गरिएको हो ।

आकस्मिक कार्यका लागि धुञ्चे, मूलखर्क र स्याफ्रुबेँसीमा एक÷एकवटा डोजर राखिएको र स–साना पहिराले सडक अवरुद्व भइहाले त्यस्ता अवरोध एक÷दुई घण्टामै हटाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

वर्षायामको समयमा राजमार्ग सञ्चालन गराउन सरकारी निकायको अलावा जिल्लामा सञ्चालित जल विद्युत् आयोजनालाई समेत जिम्मेवार बनाइएको छ । बेत्रावती, कालिकास्थान, धुञ्चे तथा खोपाङ क्षेत्रमा डिभिजन सडक कार्यालयले, मैलुङ– बेत्रावती क्षेत्रमा गल्छी, स्याफ्रु सडक विस्तार आयोजानाले र स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १११ मेगावाट रसुवागढी हाइड्रोपावरले आकस्मिक पहिरो पन्छाउने कार्यक्षेत्र तोकिएको हो ।

रसुवागढी हाइड्रो पावरले भने राजमार्गमा आउने आकस्मिक पहिरो विगत आठ वर्षदेखि पन्छाई सहयोग गर्दै आएको र सो हाइड्रो पावरको सहयोगकै कारण मालवाहक कन्टेनर गुड्न सहज भई भन्सार राजश्व असुली कार्यमा समेत सहज भएको सीमा क्षेत्रका बासिन्दाले बताएका छन् ।

मैलुङदेखि स्याफ्रु याङयाङ खण्डको १९ किलोमिटर राजमार्गमा हुने अवरोध हटाउन अपर त्रिशूली वान २१६ मेगावाट जलविद्युत् आयोजनालाई जिम्मा दिइएको छ ।

त्यस्तै गरी बाह्रघुम्ती स्याफ्रुबेँसी खण्डको अवरोध हटाउन २० मेगावाट लाङ्टाङ खोला जलविद्युत् आयोजनालाई तोकिएको छ ।

साङ्जेन जलविद्युत् आयोजनालाई भने रोङ्गा आसपासदेखि स्याफ्रुबेँसीतर्फ कार्यक्षेत्र तोकिएको र कामको अनुगमन डिभिजन सडक कार्यालयले गर्ने व्यवस्था मिलाइएको प्रजिअ जैसीले बताउनुभयो ।

वर्षायामको राजमार्ग सञ्चालन गरी चीनबाट आयात भएका सामग्री सहजरूपले काठमाडौँ पठाउन, विकास निर्माणका सामग्री ढुवानी गराउन, बिरामी बोक्ने एम्बुलेन्स एवं यात्रुवाहक बस नियमित गुडाउन सहजीकरण जस्ता जनहितकारी कार्यमा स्थानीय प्रशासन, सुरक्षा निकाय जनप्रतिनिधि, सडक प्राविधिकसमेत योगदान निरन्तर अगाडि बढेको स्थानीयवासीले बताएका छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *