पूर्वाधार निर्माण गर्दै बगरफाँटवासी – News Nepal Media
Trend

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा गाउँलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन जुटेका छन् ।

म्याग्दी नदीको किनारमा विशाल खेतको फाँटमा दुर्गा भगवतीको मन्दिर निर्माण गरेका उनीहरुले अहिले मन्दिर वरपरको क्षेत्रलाई धार्मिक पर्यटकमैत्री पूर्वाधार निर्माणमा व्यस्त छन् । वरिपरि धान खेतको फाँट, बीचमा अग्लो भूभाग, त्यही अग्लो स्थानमा पाञ्चायन देवतासहितको आकर्षक दुर्गा मन्दिर निर्माण गरिएको छ ।

मन्दिरको निर्माणसँगै, रङरोगन, मन्दिरसम्म पुग्ने पक्की पदमार्ग, रेलिङ, मन्दिर परिसरमा स्लेट ढुङ्गा बिछ्याउने र मन्दिर परिसरदेखि उपल्लो फाँटसम्म जाने पक्की पदमार्ग निर्माणलगायतका भौतिक संरचना बनेपछि मन्दिरको सुन्दरता थपिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७८÷०८९ मा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको पहलमा सांसद विकास कोषबाट प्राप्त रु चार लाख, प्रदेश सरकारकै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त रु दुई लाख र बेनी नगरपालिकाको रु एक लाख ५० हजार गरी कूल रु सात लाख ५० हजारको लागतमा सो संरचना निर्माण गरिएको मन्दिर निर्माण जानकारी दिनुभयो ।

यसका लागि स्थानीयले रु एक लाखभन्दा बढीको श्रमदानसमेत गरेका छन् । विसं २०३८ मा बगरफाँटवासीले स्थापना गरेको सो मन्दिरमा विगत तीन वर्षदेखि पुनःनिर्माण भइरहेको छ । अघिल्लो दुई आर्थिक वर्षहरुमा डिभिजन वन कार्यालय, बेनी नगरपालिकालगायत सङ्घ संस्थाबाट प्राप्त बजेट र स्थानीय बगरफाँटवासीले देश तथा विदेशमा सङ्कलन गरेको करिब रु १५ लाख बराबरको आर्थिक सहयोगमा मन्दिर पुनःनिर्माण गरिएको थियो ।

बगरफाँटलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि दुर्गा भगवतीको मन्दिरलाई व्यवस्थित गरिएको जनाइएको छ । करिब तीन रोपनी सार्वजनिक जग्गामा निर्माण भएको मन्दिरले बगरफाँटलाई नै सुन्दर बनाएको छ । यस मन्दिरमा असोज र चैतको अष्टमीमा बलिसहितको पूजा हुने गर्दछ भने साधारण पूजाआजाका लागि सधैँ नै खुला रहने गर्दछ ।

करिब ४० वर्ष अगाडि सामान्य ढुङ्गाबाट बनाइएको मन्दिरमा अहिले मन्दिर पुनःनिर्माण र अन्य भौतिक संरचना निर्माण भएपछि दर्शन तथा पूजाआजाका लागि सहजतासँगै गाउँकै सुन्दरता बढेको स्थानीय समाजसेवी क्या मीनबहादुर कार्कीले बताउनुभयो । मन्दिरको चारैतिर बत्ति राखेर झलमल बनाइएको छ । बेनी–बरङ्जा सडकको छेउबाट मन्दिर पुग्ने पक्की पदमार्ग र मन्दिरको फेददेखिनै राखिएका विभिन्न देवीदेवताको मूर्ति तथा साना मन्दिर थप आकर्षणको रुपमा रहेका छन् ।

मन्दिर परिसरमा अन्य संरचनासहित व्यवस्थापनको कार्य अझै बाँकी रहेकाले चालु आर्थिक वर्षमा पनि नगरपालिकामा रकमको माग गरिएको उपभोक्ता समितिका अध्यक्ष कार्कीको भनाइ छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP