बैतडीमा दुई हजार मतदाता थपिए

बैतडीमा दुई हजार तीन सय ८१ मतदाता थपिएका छन् । थपिएका मतदातामा एक हजार एक सय दुई महिला र एक हजार दुई सय ७९ पुरुष छन् ।

जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार थपिएका मतदातामा एक महिला र ६ पुरुष अर्को जिल्लाका रहेका छन् । मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार ६ सय ६ मतदाता थिए ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर गत असार १ गतेदेखि बैतडीमा पनि फोटोसहितको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य जारी छ । जिल्ला प्रशासन, जिल्ला निर्वाचन र इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटबाट फोटोसहित मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले जानकारी दिनुभयो ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले सक्नेछन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र, बसाइँसराइ गरेर आएकाको हकमा बसाइँसराईको प्रमाणपत्र आवश्यक पर्ने कार्यालयले जनाएको छ । जिल्ला बाहिरका नागरिकले पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् ।

मतदाता नामावली सङ्कलनको क्रममा नामावलीमा रहेको त्रुटि सच्याउन र संशोधन गर्ने कार्य पनि भइरहेको छ । मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न तथा दोहोरो परेको नाम हटाउने काम जिल्ला निर्वाचन कार्यालयमा भइरहेको छ ।

गत असार १ गतेदेखि सुरु भएको फोटो मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहने बताइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *