मंगलबार , साउन १४, २०८२
मिथिलामा चाडबाडको रौनक – News Nepal Media
Trend

साउन शुक्लपक्ष सुरु भएसँगै मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । साउन महिना नै शिवभक्तिमा झुम्ने मिथिलामा शुक्लपक्ष सुरु भएसँगै एकपछि अर्को पर्वले चाडबाडको रौनक बढाएको हो । साउन शुक्लपक्षको तृतीया तिथिमा नवविवाहिता मिथिलानी (मिथिलाका नारी) ले १३ दिने मधुश्रावणी पर्व सम्पन्न गरेका छन् । सोही तिथिमै मिथिला झुलनोत्सव सुरु भएको छ । तृतीयादेखि पूर्णिमासम्म मिथिलामा झुलनोत्सवको परम्परा छ । यस अवसरमा मठ, मन्दिर र धार्मिकस्थलहरुमा मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नन्दिनी सीताका प्रतिमा चाँदीका डोलामा राखेर भजनकीर्तन गाउँदै ‘झुलाघर’ पु¥याइन्छ । अघि त्रेता युगमा ससुराल आउनुभएका भगवान् रामलाई जनकपुरधाममा सोही समयमा ठाउँठाउँमा झुला खेलाइएको सम्झनामा यो परम्परा चलेको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ रवीन्द्रदास वैष्णव बताउनुहुन्छ ।

यस पर्वका अवसरमा मिथिलाक्षेत्रका सबैजसो मठमन्दिरमा अहिले झुलनोत्सव समारोह आयोजन गरिएका छन् । प्रत्येक साँझ रामसीताका प्रतिमा झुलाघर (उत्सवका लागि झुला राखिएको खास कोठा या घर) मा पु¥याइएपछि सन्त, महन्थ र सर्वसाधारणले रामसीताका महिमा गान गाउँदै पालैपालो रामसीताका प्रतिमा राखिएका झुला झुलाउँछन् । यसै अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठसँगैको ‘झुलाघर’ उत्सवमय बनेको छ । महोत्तरी र आसपासका मठमन्दिरबाट रामसीताका प्रतिमा यही ‘झुलाघर’ मा ल्याइएका छन् । महोत्सवमा सन्त र महन्थहरुको जमघटले आफ्नो नगर अहिले उत्सवमय बनेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । महोत्सवभर प्रत्येक साँझ प्रारम्भ हुने झुलनोत्सव मध्यरातसम्म जारी रहन्छ । यस क्रममा रामायण पाठ गर्ने, रामलीला मञ्चन गर्ने परम्परा छ । झुलनोत्सवका लागि प्राचीन मिथिला क्षेत्रका भारतको विहार राज्यको तिरहुतसम्मका सन्त रमहन्थ जम्मा भएका छन् । मठमन्दिरमा सिंहासन निर्माण गरी भगवान् रामसीताको प्रतिमा राखेर झुलाइने गरिएको हुँदा यो पर्वलाई झुलनोत्सव भन्ने गरिएको हो ।

झुलनोत्सवसँगै मिथिलामा साउन शुक्ल पञ्चमीका दिन ‘लगपाँच’ पर्व मनाइन्छ । नाग देवताको पूजाआराधना गरिने यो पर्वको प्रभावले सर्प आदिको भय नहुने जनविश्वास गरिन्छ । त्यसरी नै साउन शुक्लपक्ष प्रारम्भसँगै मिथिलामा राखी (रक्षाबन्धन) पर्वको रौनक बढ्छ । दाजुभाइ दिदीबहिनीबीच आत्मीय सम्बन्धको प्रतीक मानिने साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ को रमझम र पूर्वतयारी साउन शुक्लपक्षको प्रारम्भसँगै सुरु हुन्छ ।

मिथिलामा आयोजन गरिने महोत्सव, शुभकार्य र सबै कर्मकाण्डीय अनुष्ठान मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा निर्णय गरिन्छ । दुवै प्रचलित पञ्चाङ्गमा वर्षको पहिलो महिनाको गणना साउन शुक्लपक्षसँगै प्रारम्भ हुन्छ । वर्षको प्रारम्भ नै साउन शुक्लपक्षबाट सुरु हुने भएको हुँदा सबै चाडबाडको प्रारम्भ साउनदेखि नै हुने मान्यता मिथिलामा स्थापित भएको बर्दिबास–२ का पण्डित (प.) महेशकुमार झाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP