एक वर्षमा दुई लाख थान टिकट बिक्री – News Nepal Media
Trend

जिल्ला हुलाक कार्यालय तनहुँले एक वर्षमा दुई लाख थानभन्दा बढी टिकट बिक्री वितरण गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७८÷७९ मा दुई लाख दुई हजार पाँच सय ५० थान टिकट बिक्री गरेको हो ।

यसअघि बजारका स्टेशनरी पसल, फोटो पसलबाट पनि टिकट बिक्री वितरण हुँदै आएकामा तोकिएको भन्दा बढी मूल्य लिने गरेपछि हुलाकबाट मात्रै टिकट बिक्री हुने गरेको हुलाक कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराईले जानकारी दिनुभयो । साउन महिनामा २५ हजार आठ सय २०, भदौमा २४ हजार चार सय २०, असोजमा २७ हजार एक सय २०, कात्तिकमा १५ हजार चार सय ४०, मङ्सिरमा १४ हजार पाँच सय २०, पुसमा आठ हजार चार सय २०, माघमा २१ हजार, फागुनमा १५ हजार दुई सय ५०, चैतमा १५ हजार सात सय ५०, वैशाखमा १० हजार ६०, जेठमा १० हजार एक सय दश र असारमा १४ हजार छ सय ४० थान टिकट बिक्री भएको छ ।

कार्यालयले एक वर्षको अवधिमा विभिन्न सेवाबाट रु २६ लाख २१ हजार दुई सय ४५ राजस्व सङ्कलन गरेको भट्टराईले जानकारी दिनुभयो । भन्सार महसुल आयात शीर्षकबाट रु ७३ हजार नौ सय २५, हुलाक सेवा शुल्कबाट रु २१ लाख दुई हजार पाँच सय ६८, अन्य क्षेत्रको आयबाट रु ३४ हजार पाँच सय, धरौटी सदर स्याहाबाट रु ४४ हजार चार सय २३ र अन्य बाडफाड हुने राजस्व शीर्षकबाट रु तीन लाख ६५ हजार आठ सय दुई सङ्कलन भएको छ ।

हुलाक कार्यालयले तनहँुबाट प्रकाशित हुने सात वटा दैनिक, पाँच वटा साप्ताहिक र सात वटा एफएम रेडियोलाई नेपाल सरकारको लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी गर्दै आएको छ ।

जिल्लामा एउटा जल्ला हुलाक कार्यालय, १४ वटा इलाका हुलाक कार्यालय र ३७ वटा अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह हुँदै आएको भट्टराईले जानकारी दिनुभयो । हुलाक कार्यालयले चाँडै नै घरघरमा राहदानी सेवा ढुवानीको कार्यसमेत गर्ने तयारी गरेको छ ।

सेवाग्राहीले राहदानीको फारम भरेर गएपछि केन्द्रबाट राहदानी आएपछि हुलाक कार्यालयमार्फत राहदानी उपलब्ध गराउने सेवा चाँडै नै सुरु हुने कार्यालय भट्टराईले बताउनुभयो । चिठीपत्रको दर्ता चलानी र ढुवानीको सेवा बाहेक जिल्ला हुलाक कार्यालयले द्रुत डाँक सेवा, जिल्लामा सञ्चालित केबल टेलिभिजनको इजाजत नविकरण तथा रोयल्टी लिने सेवा, पाँच सय वाट क्षमतासम्मका एफएम रेडियोको इजाजत नवीकरण रोयल्टी लिने कार्य पनि गर्दै आएको छ ।

यसैगरी टिकट बिक्री, पत्रपत्रिका दर्ता तथा नविकरण, प्रेस प्रतिनिधिको प्रमाणपत्रको नविकरण, जिल्लास्थित सञ्चारगृहले लोककल्याणकारी विज्ञापन प्रकाशन गरे नगरेको यकिन गरि भुक्तानी दिने कार्य, जिल्लाभरका सार्वजनिक निकायको सूचना अधिकारीको विवरण सङ्कलन, अद्यावधिक गर्ने र प्रकाशन गर्ने काम तथा जिल्लाका सार्वजनिक निकायले त्रैमासिकरुपमा प्रकाशन गर्नुपर्ने सूचना प्रकाशित गरे नगरेको बारेमा पनि अनुगमन गर्दै आएको छ ।

भारतीय दूतावासको सहयोगमा विद्यालय भवन

भारतीय दूतावासको सहयोगमा तनहुँको घिरिङ गाउँपालिकामा एक विद्यालय भवन निर्माण गरिएको छ । घिरिङ गाउँपालिका–१ बैडीस्थित दीपक माध्यमिक विद्यालयमा दूतावासको सहयोगमा भवन निर्माण गरिएको हो ।

भारतीय दूतावासको रु दुई करोड १९ लाख ५६ हजारको लागतमा विद्यालय भवन निर्माण गरिएको हो । उक्त भवनको आइतबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र भारतीय दूतावासका प्रथम सचिव डा साहिल कुमारले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा समन्वय समितिका प्रमुख वाग्लेले नेपालको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा भारत सरकारको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको ग्रामीण भेगमा अवस्थित यस विद्यालयको नयाँ भवन निर्माणका लागि भारतीय दूतावासले गरेको सहयोगको जति प्रशंसा गरेपनि कम हुन्छ ।”

भारतीय दूतावासका प्रथम सचिव डा कुमारले नेपालको स्वास्थ्य, शिक्षाको क्षेत्रमा भारत सरकार सदैव सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङ गाउँपालिकालाई छनोट गरी सुविधासम्पन्न विद्यालय भवन बनाइदिएकामा दूतावासप्रति आभार व्यक्त गर्नुभयो ।

नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद अधिकारीले बताउनुभयो । विद्यालयको पुरानो भवनबाट पठनपाठन हुँदै आएको र उक्त भवन साँघुरो रहेकाले पठनपाठनमा असहज हुँदै आएकामा नयाँ भवन निर्माण सम्पन्न भएपछि सहज हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP