नवलपरासी । प्रेस सेन्टर नेपाल पश्चिम नवलपरासीको अध्यक्षमा विष्णु खनाल निर्वाचित भएकी छन् । शनिबार सेन्टरको दोस्रो जिल्ला अधिवेशनबाट यसअघि सचिव रहनुभएकी खनाल अध्यक्षमा निर्वाचित भएकी हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा रामकरण हरिजन, सचिवमा पिपला अस्लामी मगर, कोषाध्यक्षमा सितमति चमार, सहसचिव मिम बहादुर सुनार र मनोज परियार, सदस्यहरूमा सम्झना पौडेल सुवेदी, मोहन सापकोटा, रचना चौधरी, राजकुमार हरिजन, अमृता पन्थी निर्वाचित भएका छन् ।
अधिवेशन समारोहलाई सम्बोधन गर्दै सेन्टरका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नारायण भण्डारीले सेन्टरमा आवद्ध भएका पत्रकारले निष्पक्ष र आचार संहितासहितको पत्रकारिता गर्दै आइरहेको बताए ।
केन्द्रीय सदस्य गोपी ज्ञवालीले सङ्गठनलाई चुस्त बनाउन सम्बद्ध सबै पक्षको सहकार्यको आवश्यकता रहेकोमा जोड दिए । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार डा. घनश्याम परिश्रमीले पत्रकारिता तालिमको माध्यमबाट सक्षम पत्रकारहरू उत्पादन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले क्षमतावान पत्रकारले पत्रकारिताको धर्म समेत निभाउन सक्ने र त्यसैको माध्यमबाट आय आर्जन समेत गर्न सक्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका पश्चिम नवलपरासी संयोजक रामानन्द यादव, बर्दघाट नगर अध्यक्ष तेजेन्द्र पुर्जा लगायतले बोलका थिए ।