बाँदरले तरकारी सखाप पारेपछि मर्कामा किसान – News Nepal Media
Trend

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका व्यावसायिक तरकारी खेतीमा संलग्न किसानले बाँदरका कारण हैरानी खेप्नुपरेको छ । बारीमा लगाएको तरकारी बाँदरले खाइदिन थालेपछि किसान मारमा परेका हुन् ।

लौका, काँक्रा, बोडी, करेलालगायतका तरकारी बाँदरले नोक्सान गर्दैआएका छन् । “गाउँ नजिकैको कालिका सामुदायिक वन क्षेत्रबाट आउने बाँदरको हुलले बारीमा फलेका तरकारी केही बाँकी राख्दैनन्”, स्थानीय तेजबहादुर चौधरीले भन्नुभयो, “असारयता किसानको लाखौँ मूल्यको तरकारी बाँदरले खाइसेको छ ।”

चौधरीको मात्रै बाँदरले रु ३५ हजार मूल्य बढीको तरकारी नोक्सानी गरेको छ । अर्का व्यावसायिक तरकारी खेतीमा संलग्न किसान वीरेन्द्र चौधरीको रु २० हजार बराबरको तरकारी बाँदरले खाइदिए । दैनिक बाँदरको हुल गाउँमा पस्ने गरेको छ । स्थानीयवासीले भगाउँदा सामुदायिक वनका नजिकका रुखमा बस्ने र तरकारी बारीमा कोही नभएको बेला हुलका हुल आएर एकैपटक पूरै बारीको तरकारी खाने र तोडेर लैजाने गरेको स्थानीय चन्द्रबहादुर चौधरीले बताउनुभयो ।

“बालबालिका र महिलाले धपाउन जाँदा टेर्दैनन्”, उहाँले भन्नुभयो, “आक्रमण गर्न आउँछन् । बाँदरकै लागि बारीमै ढुकेर बस्नुपर्ने अवस्था छ ।” बजारमा बेच्नका लागि तयार भएको मकैसमेत बाँदरले बाँकी नराखेको उहाँले बताउनुभयो । बेलडाँडी गाउँका अधिकांश किसान तरकारी खेतीमा संलग्न छन् । बाँदरको हुल नै बारीमै पसरेर तरकारी नोक्सानी गर्न थालेको छ ।

बाँदर नियन्त्रणका लागि स्थानीय किसानले माग गरेका छन् । “बाँदरले निकै सताउन थालेका छन्”, स्थानीय मीना चौधरीले भन्नुभयो, “सामुदायिक वन छेउका घरभित्रै पसेर अन्नसमेत खाइदिने गरेको छ । बारीमा लगाएको तरकारी बाँदरकै कारण टिप्न पाएका छैनौँ ।”

स्थानीय जनप्रतिनिधिसँग छलफल गरी बाँदर नियन्त्रणका उपायका लागि कार्य अगाडि बढाउनसमेत अनुरोध गरिएको किसानको भनाइ छ । बाँदर नियन्त्रणका लागि आग्रह गरिँदै आए पनि कुनै पनि निकायले यसबारे चासो नदिएको उनीहरुको भनाइ छ ।

अर्कोतर्फ सामुदायिक वन संरक्षण भई हराभरा भएपछि जङ्गली बँदेलले समेत यस क्षेत्रका किसानलाई सताउन थालेको छ । किसानले खेतमा लगाएको धान, गहुँलगायतका अन्न बँदेलले नोक्सान गर्दै आएका छन् । तीन वर्षदेखि यस क्षेत्रका किसान जङ्गली बँदेलबाट समेत पीडित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP