सौर्य ऊर्जाबाट खानेपानी – News Nepal Media
Trend

गौरादह, २१ भदौ (रासस) ः सौर्य ऊर्जाको प्रयोग गरेर झापाको गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पानी वितरण गरिरहेको छ । विद्युत्को प्रयोग कम भएसँगै उपभोक्ताले सस्तो मूल्यमा पानी उपभोग गरिरहेका छन् ।

सौर्य ऊर्जाको उपयोगपछि लागत घटेकाले समितिले खानेपानीको महसुल घटाएको छ । पानी तान्नेदेखि वितरण गर्नेसम्मका काम सौर्य ऊर्जाबाट नै हुने भएकाले पानीको महसुल सस्तो भएको हो । उपभोक्ताले न्यूनतम आठ युनिट पानीको महसुल एक सय ३० रुपैयाँ तिर्नु पर्दथ्यो भने सौर्य ऊर्जाको उपयोगपछि महसुल घटेर एक सय पाँच रुपैयाँ तिर्नुपर्ने भएको छ ।

“समितिले उठाएको महसुलबाट पाँच रुपैयाँ संस्थाको सामाजिक विकास कोषमा जम्मा हुने गरेको छ । महसुल त एक सय रुपैयाँ हो, संस्थाको सामाजिक विकास कोषमा जम्मा भएको पाँच रुपैयाँबाट सामाजिक उत्तरदायित्वअन्तर्गतका काम हुने गरेको छ”, संस्थाका सचिव डण्डिराज घिमिरेले भन्नुभयो ।

सौर्य ऊर्जाको उपयोगपछि दुई हजार ४०० उपभोक्ताको महसुलबापत मासिक रु ६० हजार बचत भएको छ । समितिले विद्युत् प्राधिकरणलाई मासिक तिर्नुपर्ने महसुल पनि आधा कम भएको छ ।

यसअघि मासिक एक लाख ३० हजार रुपैयाँसम्म विद्युत् महसुल समितिले तिर्ने गरेको थियो । तर सौर्य ऊर्जाको उपयोगपश्चात् ४५ प्रतिशत कम महसुल तिर्ने गरेको छ । संस्थाको तथ्याङ्कअनुसार अहिले प्रतिलिटर पानी उत्पादनमा एक दशमलव १५ पैसा लाग्ने गरेको छ ।

सौर्य ऊर्जाबाट पम्प तथा कम्प्रेसरसमेत सञ्चालन गरेर पानी वितरण गरिएको छ । विसं २०५२ मा स्थापना भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा दुई हजार तीन सय ५० जना सदस्य
छन् ।

गौरादह– १ मा रहेका दुई ट्याङ्कीबाट समितिले पानी वितरण गर्दै आएको छ । साढे पाँच लाख लिटर क्षमताका दुई वटा ट्याङ्कीमा पानी भर्ने तथा धारासम्म पु¥याउने काममा दिनको समयमा सौर्य ऊर्जाको उपयोग हुन्छ । उक्त दुई वटा ट्याङ्कीबाट दैनिक चार लाख ५० हजार लिटर पानी उत्पादन हुँदै आएको छ ।

रातमा भने विद्युत्कै प्रयाग गर्ने गरिएको छ । सौर्य ऊर्जाबाट चार्ज गर्ने ब्याट्री नराखिएको र सोझै प्रयोग गर्ने गरिएकाले रातको समयमा विद्युत्कै उपयोग हुने गरेको समितिका सचिव घिमिरे बताउनुहुन्छ ।

समितिको पानी वितरण क्षेत्रमा पाँच वटा सामुदायिक विद्यालयमा एक÷एक र अन्यत्र दुई वटा सामूहिक धारा छन् । ती धाराको न्यूनतम खपतबापतको महसुल सामाजिक विकास कोषमा जम्मा भएको रकमबाट भुक्तानी हुने भएकाले विद्यालय र सामूहिक धाराको पानी उपयोग गर्नेले रकम तिर्नु नपर्ने संस्थाले जनाएको छ ।

प्रदेश सरकारको अनुदानमा खानेपानी वितरणका लागि सौर्य ऊर्जा जडान गरिएको हो । प्रदेश सरकारबाट प्राप्त ८८ लाख ७५ हजार नौ सय रुपैयाँ अनुदानबाट समितिले एक सय ४२ वटा सौर्य ऊर्जाको प्यानल जडान गरेको छ । गौरादहका– १, २ र ३ नम्बर वडामा करिब दुई हजार चार सय धारामा पानी वितरण हुँदै आएको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP