इलामबाट प्रतिनिधिसभा २५ र प्रदेशसभामा २९ को मनोनयन – News Nepal Media
Trend

इलामबाट प्रतिनिधिसभा सदस्यका लागि २५ जनाले उम्मेदवारी दिनुभएको छ । जिल्लामा दुई पार्टीका जिल्ला अध्यक्षबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले यही जिल्लाबाट उम्मेदवारी दिनुभएको छ । विगत वर्षमा एउटै पार्टीबाट दुई क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएका उहाँहरू यसपटक फरकफरक दलबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो ।

उहाँहरूसँगै इलाममा प्रतिनिधिसभामा २५ र प्रदेशसभामा २९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको
छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका झलनाथ खनालको इलाम क्षेत्र नं १ मा ३ स्वतन्त्रसहित प्रतिनिधिसभामा ११ जनाले उम्मेदवारी दिनुभएको छ । प्रदेशसभातर्फ इलाम क्षेत्र नं १ को (क) मा आठ जना र इलाम क्षेत्र नं १ को (ख) मा छ जनाले उम्मेदवारी दिनुभएको छ । खनालसँग प्रतिस्पर्धाका लागि नेकपा (एमाले)का तर्फबाट एमाले इलामका अध्यक्ष महेश बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पूर्वसभामुख नेम्वाङले जित्दै आएको इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दिनुभएको छ । प्रदेशसभातर्फ इलाम क्षेत्र नं २ को (क) मा आठ जना र इलाम क्षेत्र नं २ को (ख) मा १ स्वतन्त्रसहित आठ जनाले उम्मेदवारी दिनुभएको छ । नेम्वाङ आफँै आएर मनोनयन गर्नुभयो भने खनालका तर्फबाट उहाँकै पार्टीका प्रतिनिधिबाट मनोनयन दर्ता भयो । नेम्वाङसँग प्रतिस्पर्धाका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले मनोनयन दर्ता गराउनुभएको छ । खनालले वारेसनाममार्फत गठबन्धनकोतर्फबाट उम्मदेवारी दर्ता गराउनुभएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलाममा दुई लाख २४ हजार सात सय ७८ मतदाता रहेका छन् ।

इलाममा यस पटकको चुनाव निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । ठूला नेतासँग जिल्ला अध्यक्षको प्रतिस्पर्धा निकै कडा हुने अनुमान लगाउन सकिन्छ । पूर्वप्रधानमन्त्री खनालले पार्टी नै परिवर्तन गरेर कांग्रेससँगको सहकार्यमा मत लिनुपर्ने हुन्छ । उता नेम्वाङका प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति पनि समाजसेवी र जिल्लाकै लोकप्रिय नेताकारुपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP