व्यावसायिक कृषकलाई अनुदान – News Nepal Media
Trend

जिल्लामा व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन् । जिल्लाका दुग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए । प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा अनुदान दिएको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले गत आर्थिक वर्ष नौ सहकारीलाई उत्पादनमा आधारित प्रोत्साहन रकम रु ४४ लाख ४६ हजार अनुदान वितरण गरेको हो । केन्द्रका प्रमुख शम्भुराज पाण्डेले १७ लाख ७९ हजार लिटर दूध उत्पादनमा साढे दुई रुपैयाँका दरले सहकारीमार्फत कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषकसम्म पुग्ने र अनुदानको दुरुपयोग हुन पाउँदैन ।

उहाँले भन्नुभयो, “उत्पादन गरेका आधारमा सरकारी अनुदान पाउनुपर्दछ भन्ने कृषकको माग हो । त्यसैले हामीले जसले बढी उत्पादन गर्छ, उसैले बढी अनुदान पाउने प्रोत्साहन कार्यक्रम ल्याएका हौँ । उत्पादन वृद्धि गरी आयात निरुत्साहित गर्न यसले योगदान दिएको छ ।”

कार्यालयले दूधमा प्रोत्साहन अनुदानका लागि गत वर्ष रु ४५ लाख बजेट विनियोजन गरेको थियो । सो अनुदान रकम कृषकले चौमासिकरूपमा प्राप्त गर्नेछन् ।

यसैगरी प्रदेश सरकाराद्वारा सञ्चालित पशुपक्षी कार्यक्रममा बीमा प्रिमियममा कार्यालयले २५ प्रतिशत अनुदान दिएको छ । कृषि तथा पशुपक्षी बीमा सङ्घीय सरकारको ७५ प्रतिशत र प्रदेश सरकारको २५ प्रतिशत गरी निःशुल्क गरिएको हो । जिल्लामा अघिल्लो वर्ष आठ सय ६५ कृषकले आफ्ना पशुपक्षीको बीमा गराएका छन् ।

गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुर, भेडा–च्याङ्ग्रा र माछा गरी तीन लाख १८ हजार ६२ पशुपक्षी बीमामा रु एक करोड १० लाख ८९ हजार भुक्तानी गरिएको कार्यालय प्रमुख पाण्डेले जानकारी
दिनुभयो । कार्यालयले पशुमा पूर्णखोप कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, पशुपक्षी पकेट विकास कार्यक्रम, नयाँ पोखरी निर्माण र पोखरी सुधारका मुख्य कार्यक्रम सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले बताउनुभयो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालु आर्थिक वर्षमा पनि अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ । यस वर्ष केन्द्रको बजेट रु नौ करोड ६५ लाख ७९ रहेकामा पूँजीगत खर्चतर्फका कार्यक्रमका लागि रु तीन करोड ६६ लाख ९८ हजार छ । यसैगरी चालू खर्चतर्फ रु पाँच करोड ९८ लाख ८९ हजार रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP