खजुरा, २८ भदौ (रासस) ः बाँके डुडुवा गाउँपालिकाको होलिया टेपरीका तेजाराम यादव कृषिमा निर्भर हुनुहुन्छ । पानी परेपछि नै उहाँको खेतमा अनाज उत्पादन हुन्छ । किसान भएर पनि यादव आकाशमा कालो बादल मडारिदा खुशी हुनुपर्नेमा दुःखी देखिनु हुन्छ । ठूलो पानी पर्ने सङ्केत देखिंदा यादवलाई ज्यान बचाउने चिन्ता हुन्छ । जहान परिवार र वर्षभरि खाना राखेको अनाजको कसरी संरक्षण गर्ने भन्ने तनाब हुने
गर्छ ।
यादवको यो चिन्ता र तनाब अहिले आइलागेको समस्या भने होइन । यो वर्षौंदेखि भोग्दै आएको समस्या हो । भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र दशगजामा अग्लो सडकजस्तो बाँध बनाइदिएपछि बर्षात्को समयमा यादवको जीवन जोखिममा पर्ने गरेको हो ।
विसं २०७१ मा आएको ठूलो बाढीमा यादवको परिवार डुङ्गामा बसेर नजिकै रहेको दशगजाको बाँधमा पुग्नुभयो । यादवले खाद्यान्नको संरक्षण गर्न सक्नु भएन । यादव भन्नुहुन्छ, ‘‘भारतमा विहे भएकी छोरीले उतैबाट खाना ल्याएर सेवा गरिन् । दुई महिनासम्म उनैले पालिन् ।’’
रातिमा पानी पर्दा यादव परिवारलाई अझ बढी तनाब हुन्छ । रातिमा बाढी आइहालेमा कता भाग्ने समस्या हुन्छ । पटक–पटक डुबानमा पर्नु भएका यादवलाई कहिलेकाहीँ त लाग्छ, ‘भाग्यमा जे लेखेको छ । त्यही हुन्छ । बाढीबाट मर्न लेखेको छ भनेर जति भागे पनि बचिँदैन ।’ ‘श्वास रहुञ्जेल आश’ भने झै रातिमा ठूलो पानी पर्दा यादव परिवार जाग्राम नै बस्ने गरेको छ । उहाँको परिवार नजिकको उच्च ठाउँ या पक्की घरको छत खोज्न पुग्छ ।
होलिया कृषि चौफेरीका सेवकराम यादवले खाद्यान्न जति अटिया बनाएर राख्नु भएको छ । बाढी आइहालेमा खाद्यान्न बचाउने यादवको उपाय हो यो । कृषि चौफेरी राप्ती नदी बढ्ने बित्तिकै डुबानमा पर्ने ठाउँ मानिन्छ । आठ वर्षअघि ठूलो बाढी आउँदा सेवकरामको परिवार नजिकको स्कूलमा गएर बसेको थियो । नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो । यसपालि गाउँपालिकाले नजिकै आश्रय स्थल बनाइदिएकाले कृषि चौफेरीका मानिसलाई बाँचिने आशा पलाएको छ ।
बेतहनी बाबा गाउँका लायकराम यादवका परिवार ठूलो पानी पर्न थालेपछि घरको छतमा गएर बस्न विवश छ । गाउँमा सबैभन्दा पहिला पक्की घर बनाएका यादवले २०७१ र २०७४ सालमा ठूलो दुःख पाएको बताउनुभयो । त्यतिबेला ठूलो बाढी आएको थियो । २०७४ सालको बाढीले आफ्नो धेरै अन्न नोक्सान गरेको यादवले बताउनुभयो । घरभित्र नै पाँच फिटभन्दा बढी पानी पसेको यादवको स्मरण गर्नुभयो ।
डुडुवा गाउँपालिकामा ४५ हजार जनसङ्ख्या रहेको छ । वर्षेनीजसो आउने बाढीले २५ हजार मानिसलाई दुःख दिने गर्दछ । छ वडामध्ये चार वडा डुबानको जोखिममा पर्छन् । साविकको होलिया र बेतहनी गाविस धेरै जोखिममा रहेको छ । बाढीले गर्दा जनतालाई दुःख दिने, कटान र पटानले खेतीयोग्य जमिन मरुभूमि बनाउने क्रम चलिरहेको छ ।
वर्षेनी हुने बाढीको समस्या रोक्न गाउँपालिकाले विभिन्न उपायहरु अपनाउन थालेको छ । जनता बचाउन पालिकाले ठाउँ–ठाउँमा आश्रयस्थल बनाएको छ । गाउँपालिका अध्यक्ष चौधरीका अनुसार रु ५२ लाख बढी खर्च गरेर पाँच वटा आश्रयस्थल निर्माण गरिएको छ । केही ठाउँमा अझै बनाउने योजना गाउँपालिकाको छ ।
वडा नं. १ होलियाको छिटईपुरुवामा दुई वटा, कृषि चौफेरी र बोर्डर चौफेरीमा एक÷एक वटा र बेतहनीको रामनगर पाजामा एउटा आश्रयस्थल बनाइएको छ । एउटा आश्रयस्थलमा सय बढी मानिस अट्न सक्छन् । बाढी आउँदा स्थानीय बासिन्दा त्यहाँ गएर बस्न सक्छन् । बाढी आएपछि स्थानीय बासिन्दा उच्च स्थानमा पुग्ने गर्दछन् । कसैको पक्की घर, स्कूल वा अरु कुनै उच्च ठाउँमा पुगेर ज्यान बचाउने होलिया र बेतहनीका बासिन्दालाई आश्रयस्थलले ठूलो सहयोग पु¥याउने पालिकाको विश्वास रहेको छ ।
विसं २०७१ मा ठूलो बाढी आउँदा सेनाको हेलिकोप्टर धेरैको उद्धार गरेको थियो । त्यसअघि डुङ्गाबाट मानिस अन्यत्र सारिएको थियो । पालिकाले बनाएको आश्रयस्थललाई प्राथमिक उपचारको रुपमा लिइएको छ । हेलिकोप्टरले उद्धार गर्नुअघि स्थानीय त्यहाँ बस्न सक्छन् । राप्ती नदीमा बाढी आउँदा होलिया, बेतहनीका गाउँहरुमा सिधा ठोकिन्छ । कृषि चौफेरी, छिटैपुरुवा, बोर्डर चौफेरी, गजराज पाजा, टेपरी, सिम्रहना, पिप्रहवा जोखिममा पर्छन् । केही वर्षयता राप्तीले धार परिवर्तन गर्दा सानो बाढीले पिप्रहवातिर भने असर नपार्ने भएको छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि गाउँपालिकाले वर्षात् लक्षित केही रणनीतिहरु बनाएको छ । अस्थायी तटबन्धको तयारी गरेको छ । कन्टेनर र डुङ्गाहरु तयारी अवस्थामा राखेको छ । ‘‘बाढी आइहालेमा उद्धार र राहतको तयारीमा छौंँ, पालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भन्नुभयो, पालिकाका सबै वडाहरुलाई तयारी अवस्थामा राखेका छौंँ ।’’
बाढी तथा डुबानले डुडुवा पालिकाको धेरै खेतीयोग्य जमिन मरुभूमि भएको छ । उब्जाउ भूमिमा अहिले बालुवा थुप्रिएको छ । राप्ती नदीले धार परिवर्तन गरिरहने गर्दछ । पालिकाले अब मरुभूमि बनेका जमिनलाई पुनः उब्जाउ गराउने रणनीतिहरु बनाउनु पर्ने देखिन्छ ।
भारतले एकतर्फी रुपमा सन् १९८५ देखि ९० सम्ममा राप्ती नदीमा लक्ष्मणपुर बाँध निर्माण ग¥यो । सन् २००० मा कलकलवा तटबन्ध बनायो । यी दुई संरचना बनेपछि बाँकेको राप्ती नदीतटीय क्षेत्रका बासिन्दाको ‘दशा’ शुरु भएको हो । यी संरचनापछिको डुबानले तटीय क्षेत्रका २० भन्दा बढी नागरिकको ज्यान लिइसकेको छ भने छ हजार बढी मानिस विस्थापित भइसकेका छन् । बाढीले पाँच हजार ४०० हेक्टर जमिन डुवान, कटान र पटान भएको छ ।
लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले नै ठूलो क्षति पु¥याइरहेको बेलामा भारतले फेरि दशगजासँग सटाएर सडकजस्तो बाँध बनाएको छ । यसले अझ ठूलो समस्या सिर्जना गरेको छ । यो सडकले तटीय क्षेत्र मात्रै नभएर बाँकेको दक्षिणी पूरै बस्ती डुबानको जोखिममा परेको छ । नेपालबाट बग्ने नदी, नालाको प्राकृतिक बहावलाई भारतले बनाएका यी संरचनाले रोक्ने गरेको छ । जसको असर नेपालका दक्षिणी भेगमा पर्ने गरेको छ ।
दुई देश भएर बस्ने नदीमा संरचना बनाउँदा दुवैको सहमति हुनुपर्छ । हेलसिंगी नियम १९६६ को नियम २९ (२) मा दुई देशमा बग्ने नदीलाई अर्को देशलाई असर पर्ने गरी संरचना निर्माण गर्न नपाइने उल्लेख छ । भारतले यो नियमलाई पालना गरेको छैन । नेपालबाट यसका बारेमा असन्तुष्टि जनाइएपछि भारतले सन् २००३ मा राप्ती नदीको दुवै किनारमा २८ किलोमिटर पक्की तटबन्ध बनाइदिने आश्वासन दिएको थियो । अहिलेसम्म यो आश्वासन पूरा हुन सकेको छैन । फेरि अहिले आएर ४५ किलोमिटर तटबन्ध बनाइदिने आश्वासन दिएको छ । त्यसका लागि नौ अर्ब छुट्याएको बताइएको छ । राप्ती नदीको बाया २२ दशमलव १५ र दाया २३ दशमलव २५ किलोमिटर पक्की तटबन्ध बनाइदिने सहमति भएको जनता तटबन्ध कार्यालयका इन्जिनियर महेशराज श्रेष्ठले जानकारी दिनुभयो ।
नदीको दुवै किनारमा पक्की तटबन्ध बनेमा तटीय क्षेत्रको गाउँ सुरक्षित हुनेछन् । भारतको भर पर्न नहुने स्थानीय बासिन्दाको जोड रहेको छ । लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले भारतले नदीका दुवै किनारमा पक्की तटबन्ध बनाइदिने आश्वासन दिएर झुलाउने काम गरिरहेको बताउनुभयो । राप्ती नदीले गर्दा कतिपय गाउँ विस्थापित भएका छन् । होलियाका टेपरीलगायत ठाउँका एक सय ४४ घरपरिवारलाई हजरत र झोरा सामुदायिक वनमा सारिएको छ । धेरै घरपरिवार अहिले पनि जंगल छेउछाउमा बसेका छन् ।