हावाहुरीले केराखेतीमा क्षति – News Nepal Media
Trend

कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।

त्यस्तै टीकापुर–४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ । हावाहुरीका कारण यहाँ सयौँ घरका छानामा भएका जस्तापाता उडाएका, विद्यालयका छाना उडाएका र ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका छन् ।

हावाहुरीकै कारण जिल्लामा केराखेतीका क्षति भएको छ । हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानको गुनासो छ । टीकापुरका केरा किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती हावाहुरीले ढालेको छ । केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले केराखेतीमा नोक्सानी गरेपछि किसान पीडामा छन् । टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ । यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ । हावाहुरीले कतिपय किसानका पूरै बारी ढालेको छ ।

यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किसानको गुनासो छ । “लहरे तरकारी बाली सबै ढालेको छ । लटरम्म फलेका बोडी, फर्सी, काक्रा, लौका, करेलाजस्ता तरकारीमा नोक्सान भएको छ”, किसान झपिन्द्र चौधरीले भन्नुभयो, “तरकारी बारी पूरै हावाहुरीका कारण धुलाम्मे भएको छ । माटो र बालुवा आएर बारीमा भरिएको छ ।”

हावाहुरीका कारण क्षति भएका विवरण आइरहेकाले क्षतिको विवरण सङ्कलन गरी नगरपालिकाले पीडामा रहेका किसानलाई राहतका कार्यक्रम ल्याउने टीकापुर नगरउपप्रमुख खड्कबहादुर शाहले बताउनुभयो । “जताततैबाट क्षति भएको विवरण आउन थालेका छन्”, उहाँले भन्नुभयो, “आज कार्यपालिका बैठक र विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका कार्यक्रम ल्याउँछौँ ।”

हावाहुरीसँगै वर्षा भएपछि भने यहाँ शीतलता महसुस भएको छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएका नागरिकले वर्षा भएपछि केही शीतलता महसुस गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP