चितवनका उम्मेदवार भेटघाट र आन्तरिक छलफलमा व्यस्त – News Nepal Media
Trend

यही मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका क्रियाशील राजनीतिक दलहरु गाउँ पस्ने तयारीमा लागेका छन् । निर्वाचन आचारसंहिताले कात्तिक १५ गते पछि मात्रै झण्डा र ब्यानरसहित गाउँ पस्न दिने भए पनि दलका नेता कार्यकर्ता आफ्नो पक्षको उम्मेदवारलाई विजयी गराउन गाउँ पस्न सुरु गरेका छन् ।
जिल्लामा सत्ता गठबन्धनका उम्मेदवार अहिले आन्तरिक छलफल र गृहकार्यमानै व्यस्त रहेका छन्, भने नेकपा (एमाले)सहितका अन्य दल पनि उम्मेदवारसहित छलफल एवं परामर्शमा नै व्यस्थ रहेका छन् ।

उम्मेदवार र दलहरु आन्तरिक गृहकार्यमा व्यस्त रहँदै गर्दा दलका तल्लो तहका नेता भने आफ्नो पक्षमा मत माग्नका लागि गाउँगाउँ पुग्न सुरु गरिसकेका छन् । एमाले चितवनका उपाध्यक्ष कमल पाठक अहिले झण्डा र ब्यानर लिएर गाउँ पस्न नपाउने भए पनि उम्मेदवार भने गाउँ छिरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “औपचारिक रुपमा कात्तिक १७ गतेदेखि घरदैलो अभियान सुरु हुने भए पनि अहिले नेता कार्यकर्ता आ–आफ्नो तरिकाले भोट माग्ने काम भइरहेको छ ।” नेताहरुले भेटघाट र आन्तरिक छलफललाई तीव्र बनाएको उहाँले बताउनुभयो । जनताको माझ मत माग्न जाँदा नेकपा एमालेले राष्ट्रियता र सम्वृद्धिको नारा लिएर जाने बताउनुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार अहिले क्षेत्रीय तथा पालिकास्तरको छलफलमा व्यस्त रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । क्षेत्रमा भेला बैठक भइरहेको भन्दै उहाँले केही दिनमानै उम्मेदवार गाउँ पस्ने बताउनुभयो । आचारसंहितका कारण पार्टीको झण्डा र ब्यानर लिन नमिले पनि मत माग्न मिल्ने जनाउँदै उहाँले दलका नेता कार्यकर्ता गाउँ पस्ने तयारीमा रहेको बताउनुभयो । गठबन्धनको बैठक बसेलगत्तै उम्मेदवार गाउँमा जाने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “गठबन्धनको बैठक एक÷दुई दिनमानै बस्छ । अनि हाम्रा उम्मेदवार गाउँ छिर्नुहुन्छ ।” अहिले सम्पर्क कार्यालय स्थापना, निर्वाचन परिचालन समिति गठन, घोषणा पत्र तयारी समिति जस्ता महत्वपूर्ण समिति निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । गठबन्धनका उम्मेदवारले प्रतिगमनको विरुद्धमा लोकतन्त्रलाई बलियो बनाउँदै सम्वृद्धिका लागि मत माग्ने बताउनुभयो । अहिले नेता कार्यकर्ता आफ्नो पक्षमा मत माग्न गाउँ पुगेको जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र )केही दिनमानै घरदैलोमा जाने रणनीतिमा रहेको छ ।

माओवादी केन्द्रका चितवनका संयोजक रामचन्द्र अधिकारिका अनुसार पार्टीको र गठबन्धनको आन्तरिक बैठक सकिए लगत्तै घरदैलो अभियान सुरु हुने छ । उहाँले भन्नुभयो “आचारसंहिताले पार्टीको झण्डा र ब्यानर बोक्न रोकेको भए पनि जनतको घरमा पुग्न रोकेको छैन ।” उम्मेदवार र अन्य नेतासहित घरदैलो सुरु गरिने उहाँको भनाइ छ । अहिले दलका नेता तथा कार्यकर्ता गठबन्धनको पक्षमा मत माग्न गाउँ पसिसकेको उहाँले जानकारी दिनुभयो । गठबन्धनले सम्वृद्धिको नारासहित प्रतिगमनको विरुद्धमा मत माग्ने उहाँले बताउनुभयो । नेकपा एकीकृत समाजवादी पनि अहिले आन्तरिक गृहकार्यमा रहेको समाजवादीका जिल्ला उपाध्यक्ष अरुणपीडित भण्डारीले जानकारी दिनुभयो । अहिले निर्वाचन क्षेत्र, पालिका र वडा तहको बैठक जारी रहेको उहाँको भनाइ छ ।

बैठक सकिएलगत्तै उम्मेदवार तथा नेता कार्यकर्ता जनताको घरदैलोमा पुगिसक्ने उहाँले बताउनुभयो । निर्वाचनलाई गठबन्धनको पक्षमा पार्नका लागि नेकपा एमालेका नेता कार्यकर्ता लागिसकेको उहाँको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि गाउँ पस्ने तयारीमा छ ।

सबै क्षेत्र र वडास्तरमा निर्वाचन परिचालन समिति गठनको दौडमा रहेको राप्रपाका केन्द्रिय सहमहामन्त्री रिना गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले हामी आन्तरिक छलफल र परिचालन समिति निर्माणमानै व्यस्त छौँ । एक दुई दिनमा गाउँ पस्ने तयारीमा रहेका

छाँै ।”अहिले क्षेत्र, पालिका र वडा तहका नेता कार्यकर्ता मत माग्न गाउँपसिसकेको उहाँले जानकारी दिनुभयो । तीन प्रतिनिधिसभा सदस्य र ६ प्रदेशसभा सदस्य क्षेत्र रहेको यस जिल्लामा हाल चार लाख आठ हजार तीन सय ४२ जना मतदाता रहेका छन् । क्षेत्र नं १ मा एक लाख ३९ हजार आठ सय ४५ जना, क्षेत्र नं २ मा एक लाख चौबिस हजार दुई सय १४ जना र क्षेत्र नं ३ मा एक लाख चौवालीस हजार दुई सय ८३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । जिल्लामा एक सय ६२ मतदानस्थल र चार सय ६० मतदान केन्द्र रहेने

छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP