भलिबलले बेनी बजार उत्सवमय – News Nepal Media
Trend

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दी सदरमुकाम बेनी बजार उत्सवमय बनेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि बेनीमा सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई स्थानीय आयोजक र समुदायले ‘खेल उत्सव’को रूपमा सञ्चालन गरेका छन् ।

प्रतियोगिताको हरेक खेललगत्तै म्याग्दीको संस्कृति झल्कने सांस्कृतिक र साङ्गीतिक प्रस्तुति राख्ने गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले तय गरेको कार्यतालिकालाई असर नपर्ने गरी प्रतियोगितामा सहभागिता जनाउन आएका खेलाडी, अफिसियल, व्यवस्थापक र खेलप्रेमी दर्शकलाई मनोरञ्जनका लागि नृत्य र साङ्गीतिक प्रस्तुति राख्ने व्यवस्था मिलाइएको जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

“यो प्रतियोगितालाई हामीले खेलउत्सवकै रूपमा सम्पन्न गर्ने प्रयत्न गरेका छौँ, हरेक खेलको बीच र अन्त्यमा खेलाडीलाई म्याग्दीको संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति राख्ने हाम्रो जमर्को छ, पहिलो दिनको झाँकीसहितको सांस्कृतिक प्रस्तुतिले खेलाडी र खेल अवलोकन गर्न आएका दर्शक हर्षित भएको पाएका छौँ”, उहाँले भन्नुभयो । खेल अवधिमा म्याग्दीको थाली नाच, जातजातिको मौलिक कला संस्कृति झल्कने नृत्यसँगै विभिन्न सामूहिक नृत्यलाई समावेश गर्ने तयारी गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्लामा रहेका जातजाति र सङ्घसंस्थाको पहिचान, कला र संस्कृति झल्कने झाँकी प्रदर्शनसहित खेलाडीलाई स्वागत गरेको म्याग्दीले राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई महोत्सवका रूपमा सम्पन्न गर्ने लक्ष्य छ । बिहीबार उद्घाटनका अवसरमा ‘बेनीको बजार जता माया उतै छ नजर’ बोलको गीतमा सामूहिक नृत्य प्रस्तुत गरी स्वागत गरिएको कार्यक्रममा नौमती बाजा, नेवार समुदायको नागा–नागिनी नाच, मगर समुदायको पुख्र्यौली नाचसँगै युवायुवतीले लोकदोहोरी भाकाका गीतमा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो ।

महिला भलिबल प्रतियोगिताको अवसरमा बेनीलाई तुल, ब्यानर र तोरनले सिङ्गारिएको छ । प्रतियोगिता अवधिमा खेलाडीलाई बेनी नजिकका पर्यटकीय गन्तव्यमा भ्रमणको समेत बन्दोबस्त मिलाइएको छ । आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीनवटा विभागीय टिम सहभागी छन् । प्रतियोगिताको आज दोस्रो दिन पहिलो चरणको तीनवटा खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । लिक कम नकआउट सिस्टममा खेलाइने प्रतियोगिताका लागि चारवटा समूह बनाइएको छ । पाँच दिनमा १६ खेल सञ्चालन हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP