मतगणना छिटो गराउन जनशक्ति र बजेटमा सहजीकरण गर्दै आयोग – News Nepal Media
Trend

स्थानीय  तह सदस्य निर्वाचनको जारी मतगणना कार्यलाई छिटो सम्पन्न गराउन निर्वाचन आयोगले आवश्यक जनशक्ति र बजेटको प्रबन्धमा तदारुकता देखाएको छ । मतपत्रमा ६४ लहरसम्मका निर्वाचन चिह्न रहनु, सहरी क्षेत्रका अधिक मतदाता भएका स्थानीय तहमा स्वाभाविकरूपमा धेरै समय गणनामा लाग्ने तथा गणनामा सानातिना विषयमा विवाद झिक्ने प्रवृत्ति देखिएपछि आयोगले चासो दिएको हो । मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यकरूपमा उचाली विवादको विषय बनाई मतगणना कार्य नरोक्न, हूलहुज्जत नगर्न, नाराबाजी नगर्न र समग्र मतगणना कार्यलाई ढिलाइ नगर्न आयोगले आग्रह गरिसकेको छ । गणनामा देखिएको ढिलाइ र समाधानका उपायहरु बुझ्न आज आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुले विभिन्न महानगरपालिकासहित स्थानीय तहका मतगणनास्थलमा अवलोकन—निरीक्षण गरी स्थलगत निर्देशन पनि दिनुभएको छ । प्रमुख आयुक्त थपलिया सोमबार मोरङको विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिका, सुन्दरहरैचा नगरपालिका र सुनसरीको धरान उपमहानगरपालिका, दुहवी नगरपालिका र गढी गाउँपालिकामा गणना कार्यमा पुग्नुभएको थियो । अवलोकनका क्रममा प्रमुख आयुक्त थपलियाले त्यहाँस्थित राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, कर्मचारी, सञ्चारकर्मीलगायतसँग परामर्श गरी गणना कार्य छिटो गराउन सबैतिरबाट आएको सुझाव ग्रहण गर्दै सोबमोजिम छिटो गर्न÷गराउन निर्देशन दिनुभएको थियो । उहाँले आयोगका तर्फबाट जनशक्ति र वित्तीय प्रबन्धका लागि कुनै कमी हुन नदिइने भएकाले जेठ ५ गते अगावै मतदान सम्पन्न गराउन आग्रह गर्नुभएको थियो । प्रमुख आयुक्तको निर्देशनबमोजिम मोरङ र सुनसरी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबाट समूहगतरूपमा आवश्यक जनशक्ति खटाई छिटो गणना सम्पन्न गराउन पहल गर्ने प्रतिबद्धता प्राप्त भएको थियो । भ्रमणकै क्रममा गत वैशाख ३० गते रातिदेखि सुरु भई बीचमा विवादका कारण गणना स्थगित भएको रङ्गेली नगरपालिकामा प्रमुख आयुक्त थपलियाकै उपस्थितिमा दल र प्रतिनिधिसमेतसँग छलफल गरी सोमबार ५ बजेदेखि गणना पुनः सञ्चालन गराइएको थियो । जारी मतगणना कार्यमा देखिएको ढिलाइ र समाधानका उपायहरुको खोजीका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारी आज काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाको मत गणनास्थल क्रमशः प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र ललितपुर महानगरको प्रशासकीय भवनमा पुग्नुभएको थियो । आयोगका सचिव गोकर्णमणि दुवाडीसहित जानुभएका आयुक्त भण्डारीले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सम्बद्ध पक्षसँग छलफल गरी गणनास्थल बढाउन आग्रह गर्दै आयोगका तर्फबाट जनशक्ति र वित्तिय प्रबन्ध गरिने विश्वास व्यक्त गर्नुभएको थियो । मतगणना कार्यको निरीक्षणका क्रममा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर आज काठमाडौँको तारकेश्वर नगरपालिकामा पुग्नुभएको थियो । सो पालिकामा गणना कार्य सहजरूपमा अघि बढिरहेको र सोमबार रातिसम्म सम्पन्न गर्ने गरी काम भइरहेको आयुक्त तुलाधरलाई अवगत गराइएको थियो । आयोगले जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्न, उपलब्ध भएसम्म नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउन, स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्न निर्देशन दिएको छ । आयोगले मतगणना कार्यमा खटिएका कर्मचारीले पदीय जिम्मेवारी तथा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई दृष्टिगत गरी राम्रोसँग मतगणना निर्देशिका (संशोधन सहित) को अध्ययन गरी मतगणना कार्य छिटोभन्दा छिटो सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि व्यवस्थित र अनुशासित भएर छिटो सम्पन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आवश्यक सहयोग र सहजीकरण गरी मतगणना कार्यलाई अझ व्यवस्थितरूपले अगाडि बढाई तोकिएको समयभित्रै सम्पन्न गर्न आयोगले आग्रह गरेको छ । –––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP