कागेश्वरी मनोहरामा कांग्रेसका उपेन्द्र कार्की ८९६ मतान्तरले अघि
जेठ ३, २०७९ मंगलबार ५७ पटक हेरिएको
कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसका उपेन्द्र कार्की ८९६ मतान्तरले अघि लाग्नुभएको छ । कार्कीले पाँच हजार ५६५ मत पाउनुभएको हो । उहाँलाई पछ्याउँदै नेकपा (एमाले)का रामशरण ढुङ्गानाले चार हजार ६६९ मत ल्याउनुभएको निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिनुभयो । नगर प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का कृष्णहरि थापाले एक हजार ४६७ मत पाउनुभएको छ ।
थापा विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख निर्वाचित हुनुभएको थियो । एमाले फुटेपछि उहाँ समाजवादीमा लाग्नुभएको हो । नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु फुयाँलले ४२४ मत पाउनुभएको छ । यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले पाँच हजार ४७७ मतका साथ अग्रता कायम गर्नुभएको छ । उहाँलाई पछ्याउँदै नेकपा (माओवादी केन्द्र)का भोला चापागाईंले तीन हजार १०० मत पाउनुभएको छ । समाजवादीका सरस्वती नेपालले ९०० मतका साथ पछ्याइरहनुभएको छ । नगर उपप्रमुख राप्रपाका उम्मेदवारले ७५० मत पाउनुभएको छ । नगरपालिकाको वडा नं २, ८ र ९ मा कांग्रेसले जितेको छ । वडा नं १ मा एमालेले विजयी हासिल गरेको छ ।
हाल वडा नंं ३ र ७ को मतगणना भइरहेको निर्वाचन अधिकृत राउतले सुनाउनुभयो । दुई वडाको मत परिणाम आउन बेलुकीसम्म लाग्ने नगर निर्वाचन कार्यालयले जनाएको छ । मतगणनास्थल बढाउन मानेनन दलले नगरपालिकामा दुई स्थानमा मात्र मतगणना भइरहेको छ । धेरै स्थानमा मतगणना गर्न कार्यालयले छलफल चलाए पनि दलका प्रतिनिधिले नमानेको निर्वाचन अधिकृत राउतले बताउनुभयो । नगरपालिकामा अझै वडा नं ४, ५ र ६ को मतगणना सुरु भएको छैन ।
नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो । सो निर्वाचनमा एमालेले छ वटा वडामा वडा अध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । कांग्रेसले तीन वटा वडामा जितेको थियो ।