मलङ्गवामा सुविधा सम्पन्न बसपार्क तयार – News Nepal Media
Trend

मलङ्गवा नगरपालिका–२ मा करिब रु छ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाममार्फत तयार भएको सो बसपार्क चाँडै नै सञ्चालनमा आउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो ।

हाल मलङ्गवा–९ स्थित पुरानो बसपार्कबाट बस सञ्चालन हुँदै आएको छ । टर्मिनल भवनसहित निर्माण गरिएको उक्त नयाँ बसपार्क सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही, मलङ्गवा नगरपालिका र मलङ्गवा यातायात सेवा प्रालिसँग आवश्यक समन्वय भइरहेको जनाइएको छ ।

जिल्ला सदरमुकाम मलङ्गवामा सुविधा सम्पन्न बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा समस्या देखिएको थियो । जनसागर बजार(श्रीमती कृष्णादेवी जनता माविको छेउ)मा रहेको पुरानै बसपार्कमा यात्रुबाहक सवारीसाधन पार्किङ गरी त्यहीँबाट सञ्चालन हुँदा सवारी व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाल सञ्चालनमा रहेको पुरानै बसपार्क एकदमै साँघुरो रहेको छ । सवारीसाधनको चाप बढेकाले बसपार्क अगाडिको मुख्य सडकमै सवारीसाधन पार्किङ गरेर राखिएको छ । यसबाट दुर्घटनाको जोखिम बढ्नुका साथै साँघुरो बसपार्कका कारण सवारीसाधनलाई आवतजावतमा समेत समस्या देखिएको छ ।”

मलङ्गवा यातायात सेवा प्रालिका अध्यक्ष राजीव यादवले नयाँ बसपार्क मुख्य बजारभन्दा टाढा रहेको र त्यहाँ जाँदा साना सवारीसाधनले पुरानो बसपार्क अगाडिबाटै यात्रु उठाएर लैजाने चिन्तामा नयाँ बसपार्कमा बस जान तयार नभएको बताउनुभयो ।

ठेकेदारले नगरपालिकालाई बसपार्क हस्तान्तरण गर्न बाँकी नै रहेको मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताउनुभयो । उहाँले राज्यको करोडौँ रकम खर्च गरेर बनाइएको सुविधा सम्पन्न बसपार्क हस्तान्तरण भएर सञ्चालनमा आएपछि बस व्यवसायीले बस पार्कमा बस लैजान्न भन्न नपाउने बताउनुभयो ।

मलङ्गवा नगर नगर प्रमुख नागेन्द्रप्रसाद यादवले नयाँ बसपार्क सञ्चालनका लागि बस व्यवसायीसंग चाँडै छलफल हुन लागेको बताउनुभयो । मलङ्गवाबाट लामो तथा छोटो दूरीका गरी करिब ९० बस दैनिक अन्यत्र लागि छुट्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP