स्थानीय पाठ्यक्रम : पढ्दै सिक्दै विद्यार्थी – News Nepal Media
Trend

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘मेरो कावासोती : मेरो गौरव’ लागू गरेको हो ।

विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेको नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयारी गरी लागू गरिएको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।

“स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, सामाजिक संस्था, आनिबानी तथा स्वास्थ्य, प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका साथै यहाँको संस्कार, संस्कृति तथा रहनसहन, योग शिक्षा, अतिथि आदर सत्कारलगायतका विषयवस्तु समेटेका छौँ”, नगरप्रमुख भुसालले भन्नुभयो ।

उहाँले पाठ्यक्रममा समग्र कावासोतीभित्रको आर्थिक, सामाजिक, भौतिक तथा शासकीय पक्ष, वनवातावरण, आचरण, बानीव्यहोरा, जनसाङ्ख्यिक अवस्थाका बारेमा जानकारी दिएको बताउनुभयो । विद्यार्थीलाई कक्षा कोठाभित्र पढाएर मात्रै नहुने भएकाले व्यवहारिक सिकाइ प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले स्थलगत सिकाइलाई स्थानीय पाठ्यक्रममा अनिवार्य गरिएको नगरप्रमुख भुसालले बताउनुभयो ।

कावासोतीका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान प्रदान गर्ने र अनिवार्य सीप सिकाउने गरी स्थानीय पाठ्यक्रमका विषयवस्तु तयार पारिएको बताउनुभयो ।

“हामीले तयार पारेको स्थानीय पाठ्यक्रमको अध्ययन–अध्यापन नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा सुरु भइसकेको छ”, शिक्षा अधिकारी भण्डारीले भन्नुभयो, “नगरभित्रका केही विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित हुँदै व्यवहारिक ज्ञान प्रदान गर्न स्थलगत सिकाइका लागि विद्यार्थीलाई जोड्न सुरु गरिसकेका छन् ।” यहाँका विद्यालयले व्यवहारिक सिकाइअन्तर्गत नगरपालिका कार्यालय, यहाँका धार्मिक र पर्यटकीयस्थल, प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदामा अवलोकन भ्रमण गराइसकेका भण्डारीले बताउनुभयो ।

कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमअनुसार अहिले नगरका विभिन्न विद्यालयले स्थलगत सिकाइमा विद्यार्थीलाई संलग्न गराउने सिलसिला बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही विद्यालयले नगरपालिका कार्यालय, केहीले पर्यटकीयस्थल, सार्वजनिकस्थल तथा सामाजिक सङ्घ संस्था, धार्मिकस्थल, स्वास्थ्य संस्थामा स्थलगत अध्ययन तथा अवलोकन गराएर स्थानीय पाठ्यक्रममा समावेश व्यवहारिक ज्ञान प्रदान गर्ने विषयलाई सार्थकता दिँदै छन् ।” नगरपालिकाले कक्षा ८ सम्मका विद्यार्थीका लागि अनिवार्य विषय बनाएर एक सय पूर्णाङ्कको पाठ्यक्रम नै लागू गरेको हो ।

पाठ्यक्रम लागू भइसकेपछि आगामी दिनमा व्यवहारिक सिकाइको सिलसिला नियमितरूपमा नै सञ्चालन हुने पाण्डेले बताउनुभयो । नगरपालिकाले राष्ट्रिय पाठ्यक्रममा आधारित हुँदै स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्य गरिहेको पाण्डेको भनाइ छ । यसै शैक्षिकसत्रभित्र कक्षा ३ सम्मको स्थानीय पाठ्यपुस्तक लेखनकार्य सम्पन्न गर्ने गरी काम भइरहेको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP