नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने
नवलपुर, माघ २६ गते । नवलपुर जिल्लामा किशोरी स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै एचपीभी खोप अभियान सुरु हुने भएको छ। कक्षा ६ मा अध्ययनरत छात्राहरुलाई लक्षित गरेर सञ्चालन गरिने यो अभियान आगामी फागुन १ गतेदेखि सुरु गरिने जनाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाका सरोकारवाला निकायसँग समन्वय बैठकपछि अभियानको मिति तय गरेको हो।
अन्य जिल्लामा अभियान सुरु भइसके पनि नवलपुरमा भने तयारी मिलाएर फागुन १ गतेदेखि विद्यालयमै पुगेर खोप लगाइने व्यवस्था मिलाइएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाभित्रका सबै सामुदायिक र निजी विद्यालय समेटिनेछन्। यसअघि छुटेका छात्राहरुलाई पनि यही अभियानमार्फत खोप लगाइनेछ।
जिल्लाभर विद्यालय जाने तीन हजार ५६५ जना र विद्यालय बाहिर रहेका ३० जना किशोरीलाई निःशुल्क खोप दिइने लक्ष्य राखिएको छ। अभियान एक साताभित्र सक्ने योजना भए पनि बिदा परेको कारण फागुन १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
स्वास्थ्यकर्मीका अनुसार पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप प्रभावकारी मानिन्छ। महिनावारी र यौन सम्पर्क सुरु हुनुअघि खोप लगाएमा यसको सुरक्षा क्षमता अझ बढी रहने चिकित्सकहरू बताउँछन्।