नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा
नवलपुर । नवलपुर जिल्लामा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशिल निर्वाचन क्षेत्रको रुपमा तय गरिएको छ ।
एक सय १४ वटा निर्वाचन स्थल तथा ३ सय ११ मतदान केन्द्र रहेको नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल क्षेत्रको रुपमा तय गरिएको हो । त्यस्तै ५० वटा संवेदनशिल र ५३ वटा निर्वाचन स्थल सामान्य रहेको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले जानकारी दिए ।
भारतीय सीमाक्षेत्र, विगतमा भएका झडप, पर्खाल नभएका स्थल लगायत कारणले ११ वटा निर्वाचन स्थललाई अति संवेदनशिल क्षेत्रमा राखि निगरानी गरिएको उनको भनाइ छ । त्यसबाहेक निर्वाचन वहिस्कार गरेका केही समूहले भोट नहाल्न उर्दि जार िगर्दै प्रर्चा छरेको पाइएको प्रजिअ पाण्डेले बताए ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको नेपाल कम्युनिष्ट वैज्ञानिक समाजबादी पार्टी, समर जंग नेतृत्वको समाजबादी कम्युनिष्ट पार्टी र महेन्द्र मल्ल नेतृत्वको जनपक्षीय कम्युनिष्ट पार्टीले चुनाव वहिस्कारको घोषणा गरेका छन् । उनीहरुका गतिविधिलाई शुक्ष्म ढंगले निगरानी गरी सतर्कता बढाइएको पाण्डेले बताए ।
सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखि माघ २१ गतेदेखि शसस्त्र प्रहरीले प्रगतीनगर र चोरमारामा सुरक्षा वेश क्याम्प खडा गरेको छ भने नेपाली सेनाले पनि सुरक्षा वेश क्याम्प खडा गरी नियमित गस्तै सुरु गरिसकेको छ ।
प्रतिनिधि सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा क्षेत्र नं. १ का लागि ५८ वटा र क्षेत्र नं. २ का लागि ५६ वटा गरी १ सय १४ वटा निर्वाचन स्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका कार्यालय प्रमुख लालप्रसाद भुसालले बताए ।
प्रजिअ पाण्डेयका अनुसार नवलपुरमा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा निकायले निर्वाचन स्थलको रेकी गर्न शुरु गरिसकेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी ४ वटै तहको सुरक्षा घेरामा निर्वाचन स्थलको सुरक्षा गरिने छ ।
सुरक्षाकर्मीले अहिलेदेखि नै निर्वाचनलाई लक्षित गरी मोबाइल फोर्स, पैदल गस्ती, सादा पोशाकमा गस्ती लगायतका गतिविधि बढाई सकेको प्रजिअ पाण्डेको भनाइ छ । निर्वाचनको मितिभन्दा ४ दिन अघि नै निर्वाचन स्थलमा कर्मचारीहरु खटाइने छ । नवलपुर निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३७ हजार ८१ मतदाता र २ मा १ लाख ३१ हजार ४ सय ४५ जना मतदाता रहेका छन् ।