📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

चुनावी चर्चा छैन सदरमुकामकै डोम बस्तीमा

🕒 November 14, 2022

सप्तरी, २८ कात्तिक (रासस) ः राजविराज नगरपालिका– ९ मलेठका रमेश मरिकले एफएम रेडियोबाट आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारेको सूचना पाए पनि कसरी मत हाल्ने भन्नेमा उहाँ अन्योलमा हुनुहुन्छ ।

गाउँदेखि सहरसम्म चुनावको चर्चाले व्यापकता पाइरहँदा डोम बस्तीमा भने अझै कुनै चुनावी चहलपहल छैन । त्यसका कारण मरिक आगामी निर्वाचनमा कुन उम्मेदवारलाई मत हाल्ने र कसरी मत हाल्नेमा अन्योलतामा पर्नुभएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा मत माग्न डोम बस्तीमा अहिलेसम्म उम्मेदवार तथा दलका नेता कार्यकर्ता नपुग्दा त्यस बस्तीका बासिन्दा बेखर जस्तै भएका हुन् ।

“नत अहिलेसम्म कुनै नेता भोट माग्न आएका छन्, नत भोट कसरी हाल्ने भन्ने सिकाउन कोही आएका छन्”, मलेठस्थित डोम बस्तीका मरिकले भन्नुभयो, “रेडियो एफएमबाट चुनाबकाबारे खबर त पाएका छौँ, तर कसरी भोट हाल्ने भने हामीलाई केही थाहा छैन् ।”

सो बस्तीदेखि करिब एकसय मिटरपूर्वमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको सम्पर्क कार्यालय छ भने पाँचसय मिटर दक्षिणमा एमाले–जसपा तालमेलका उम्मेदवारको सम्पर्क कार्यालय छ । राजविराज–रुपनी सडक खण्डको छेउमै रहेको उक्त बस्तीमा सात घरपरिवार डोम समुदायको बसोबास छ । सुँगुरपालनसँगै बाँसको सामग्री बनाएर गुजारा गर्दै आएका डोम बस्ती शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारीलगायतका अवसरबाट वञ्चित छ ।

बिहान र बेलुकाको जोहो गर्न मजदुरी गर्नमै व्यस्त रहने ती बस्तीका बासिन्दा राजेश मरिकले भन्नुभयो, “पटकपटकको चुनावमा मत हालेर प्रतिनिधि जिताएर पठाए तर, कसैले आफूहरुको समस्या बुझ्न सकेको छैन ।” त्यसैले आफूहरुको समस्या बुझ्ने र समस्या समाधान गर्ने उम्मेदवारलाई मत दिने उहाँको भनाइ छ ।

निर्वाचनका बेला आफूहरूलाई भोट बैंकका रूपमा प्रयोग गरे पनि चुनाव जितेपछि नेताहरू आफूहरुको बस्तीमा फर्केर नआउने गरेकामा यहाँका मतदाता दुःखी भएका छन् ।

मलेठस्थित आधारभूत विद्यालयसँगै टाँसिएको डोम बस्तीका डोम परिवार ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् । फुसको छाप्रो हालेर बस्दै आएका त्यहाँका बासिन्दाले आफूहरुका लागि सुरक्षित घर बनाइदिने उम्मेदवारलाई यसपालि मतदान गर्ने बताएका छन् ।

“हामीले मत दिएर नेताहरुलाई जिताएर पठाउँछौँ तर हाम्रो अहिलेसम्म नत उचित बासको व्यस्था हुन सकेको छ नत हाम्रो रोजगारीकै सुनिश्चितता हुन सकेको छ”, कारी मरिकले भन्नुभयो,“ हाम्रो भोट लिएर थुप्रै नेताहरु कुर्सीमा पुगे, तर हाम्रो समस्या ज्यूँका त्यूँ छन् ।”

त्यसैले सुरक्षित घर बनाइदिने उम्मेदवारलाई मात्र आफूहरुले मतदान गर्ने उहाँको भनाइ छ । “चुनावका बेला यो गर्दिन्छु, त्यो गर्दिन्छु भनेर मत लिने, तर चुनाव जितेपछि हाम्रो समस्या बुझ्न एकपटक आउँदैन्”, स्थानीय रेखा मरिकले भन्नुभयो, “मत हाल्न हामी आतुर छौँ, तर कसलाई र कसरी मत हाल्नेमा अन्योलमा छौँ ।”

यता बाम–लोकतान्त्रिक गठबन्धनका प्रदेशसभा सदस्य पदका उम्मेदवार उमेशकुमार यादवले घरदैलोमा व्यस्त भएकाले सो बस्तीमा पुग्न नसकेको र आजभोलिसम्ममा पुग्ने बताउनुभयो । “अरु कुनै कारणले होइन, व्यस्तताका कारण मत माग्न नभ्याएको हो”, उहाँले भन्नुभयो, “सकेसम्म आजै वा भोलिसम्म त्यो बस्तीमा पुग्छौँ ।”

उक्त क्षेत्रबाट प्रतिनिधिसभातर्फ एमाले–जसपा तालमेलबाट जसपा अध्यक्ष उपेन्द्र यादव, बाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष डा सीके राउत लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तीनै उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

सप्तरी सदरमुकाम र राजविराजसहित महदेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका रहेको यस क्षेत्रमा कूल ९५ हजार तीन सय ९४ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा तीमध्ये ६४ प्रतिशत अर्थात् करिब ६२ हजार मत खसेको थियो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा महदेवा गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा लोसपाले जितेको छ भने कांग्रेसले तिलाठी कोइलाडी तथा जसपाले राजविराज नगरपालिकामा जीत हात पारेको छ । यसपटक निर्वाचनामा पनि स्थानीय तहकै जति मत खस्ने अनुमान गरिएको छ ।

विसं २०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन राजपा र कांग्रेससमेतको साथ पाएर तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका उपेन्द्र यादवले जीत हात पार्नुभएको थियो ।