इतिहास झल्काउने ‘कस्यप ताल’ – News Nepal Media
Trend

तालै तालको शहर पोखराको उच्च भूभाग कास्कीकोटस्थित कस्यप तालबारे कतिपयलाई थाहा नहुन पनि सक्छ । स्वदेश तथा विदेशका विभिन्न स्थानबाट आएका अधिकांशः पर्यटक पोखराको फेवाताल सहित लेखनाथका ताल हेरेर फर्कने गरेको वास्तविकतामा पोखरा महानगरपालिका वडा नं २४ मा पर्ने यस ताललाई पर्यटन बजारमा पु¥याउने चासो र चर्चा पछिल्ला समयमा बढ्दै गएको छ ।

झण्डै छ हजार वर्षअघि कस्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्तीका कारण पनि यहाँको गरिमा र महत्व अझै बढाएको जनाइएको छ । चार वेद मध्येको एक यजुर्वेद लेखेको विश्वास गरिने कश्यप ऋषिले स्नान गर्ने गरेको यस ताललाई धार्मिक एवं संस्कृतिकरूपमा पनि उत्तिकै महत्वका साथ लिने गरिएको छ ।

कास्कीकोट गाउँको मध्यभागमा अवस्थित यहाँको धार्मिक एवम् ऐतिहासिक महत्व रहेर पनि उजागर हुन नसकेको वास्तविकतामा पछिल्ला समयमा स्थानीय जनसमुदाय एवम् स्थानीय सरकारले चासो दिन थालेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० गण्डकी प्रदेशका अध्यक्ष एवम् पोखरा महानगरपालिकाको होमस्टे सञ्चालन तथा दर्ता नविकरण समितिका अध्यक्ष उदय सुवेदीले बताउनुभयो ।

करिब पाँच वर्ष अघिसम्म हिउँदको समयमा पनि पानी अडिने गरेको यस तालमा पछिल्ला वर्ष पानी सुक्न थालेपछि बढ्दै गएको चासो र चिन्ताका बीच वडा कार्यालयका तर्फबाट यसको संरक्षणमा पहल बढाइएको छ । वडाका तर्फबाट विभिन्न समयमा गरिएको प्राविधिक अध्ययनले यसको पूर्ण रुपमा संरक्षणका लागि साढे तीन करोड रुपैयाँ लाग्ने अनुमान गरिएको वडा सचिव इन्द्र जिसीले जानकारी दिनुभयो ।
विगतमा एक हजार ६०० भन्दा बढी जनसङ्ख्या बसोबास गर्ने गरेको यस क्षेत्रमा यहाँको पानी गाईवस्तुलाई खुवाउनुका साथै घरायसी प्रयोजन र यहाँको झण्डै ७०० रोपनी क्षेत्रफलमा सिँचाइ पनि उपलब्ध हुँदै आएको थियो । ताल करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

नेपालका शाहवंशीय राजाको पालामा यस तालको थप संरक्षण भई त्यस समयमा पनि यहाँको पानीको भरपुर उपयोग गर्ने गरेको बताइन्छ । ताल माथि रहेको नेपालका शाहवंशीय राजाको उद्गमस्थल कास्कीकोट दरबार र यहाँबाट देखिने अन्नपूर्ण, धवलागिरी लगायतको दृश्यले यसलाई एउटा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको पोखरा महानगरपालिका वडा नं २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारी बताउनुहुन्छ ।

यसको संरक्षण र विकासका लागि पहल थालिएको बताउँदै उहाँले ताल परिसरमा रेलिङ लगायतका संरचना निर्माणका लागि यस वर्ष पोखरा महानगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।
समुद्री सतहबाट एक हजार ७७८ मिटरको उचाइमा रहेको कास्कीकोटमा पहिलो शाहवंशीय राजा कुलमण्डन खान९शाह० को दरबारका साथै तत्कालीन समयदेखि नै पूजाआजा गर्दै आइएको गुप्तकालिका मन्दिरले यहाँको गरिमा र महत्व अझै बढाएको छ ।

तत्कालीन समयमा यस स्थानमा कश्यप ऋषिले तपस्या गरेको कुटीको भग्नावशेष एवम् ऋषिले सत्सङ्ग तथा प्रवचन गर्ने गरेको धामको गह्रासमेत सुरक्षित रहेको स्थानीयवासी प्राध्यापक बेदहरि तिमल्सिना बताउनुहुन्छ ।

जैविक विविधताले भरिपूर्ण पर्यटकीय, धार्मिक, तथा शाहवंशीय ईतिहासको साक्षी कास्कीकोटका धार्मिक एवं ऐतिहासिक सम्पदाको संरक्षण र विकास अपरिहार्य भएको उहाँले बताउनुभयो । धार्मिक ईतिहासको साक्षी कश्यप तालसँगै यहाँका ऐतिहासिक दरबार तथा मन्दिर उचित संरक्षण गर्न सकेमा पोखरा आउने पर्यटकलाई एक दिन यस क्षेत्रको अवलोकन गराउँदै बसाई लम्ब्याउन सकिने उहाँको भनाइ छ ।

पोखराबाट करीब ११ किमि पक्की बाटो पार गरेपछि यहाँ पुग्न सकिन्छ । त्यस्तै पोखरा–बाग्लुङ राजमार्गको नागडाँडाबाट पुर्वतर्फ करीब पाँच किमी दूरी पार गरेर पनि यहाँ आउन सकिन्छ । तालको संरक्षणसँगै यसले यहाँको इतिहास र पर्यटनलाई जोड्न सक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP