हुप्सेकोटमा ’जीईईपी’ कार्यक्रम अन्तर्गत लगानी प्रस्तुति सम्पन्नः थमन बहादुर रजाली मगर सर्वोत्कृष्ट उद्यमी घोषित

👤 adminnews | 🕒 २० घण्टा अगाडि
२४६ सेयर
f 𝕏 💬 🖨️

नवलपुरको हुप्सेकोट गाउँपालिकामा सञ्चालित “वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम“ अन्तर्गत ’लगानी प्रस्तुति कार्यक्रम’ एवं सर्वोत्कृष्ट उद्यमि घोषणा गरिएको छ ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्ण सिं राना मगरको प्रमुख आतिथ्यता एवं दायित्व संस्थाका गण्डकी प्रदेश वरिष्ठ प्रबन्धक शुलभ नेपालको अध्यक्षता रहेको थियो ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, हुप्सेकोट गाउँपालिका र ’दायित्व’ संस्थाको संयुक्त साझेदारीमा गत आर्थिक वर्ष २०८२,८३ मा सञ्चालित जीईईपी कार्यक्रमको एक औपचारिक समारोहका विच गाउँपालिकाको सभाहलमा सम्पन्न गरिएको हो ।
स्थानीय स्तरमा उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यका साथ सञ्चालित यस कार्यक्रममा पालिकाका विभिन्न उद्यमि मध्येका उत्कृष्ट १० स्थानीय उद्यमीहरूले आ–आफ्नो व्यवसायिक योजना, प्रगति र भावी रणनीतिको प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा सहभागी उद्यमीहरूको सघन मूल्याङ्कन पश्चात् ’थमन अर्गानिक एग्रि फार्म’ का सञ्चालक थमन बहादुर रजाली मगर सर्वोत्कृष्ट उद्यमी घोषित हुनुभएको छ ।
उहाले निर्णायक मण्डल एवं श्री सरस्वती संस्कृत तथा साधारण मावि र हुप्सेकोट प्राविधिक शिक्षालयका विद्यार्थीहरु समेतको मूल्याङ्कनकर्ताहरूबाट २० पूर्णाङ्कमा १९ अंक प्राप्त गरी कुल अंक तालिकामा शीर्ष स्थान हासिल गर्न सफल हुनुभएको हो ।

उहाँसँगै ’मित्रबाटिका कृषि फार्म’ की बाटुली तिवारीले पनि उत्कृष्ट अंक (१८.५ सहित कडा प्रतिस्पर्धा गर्नुभएको थियो ।
उद्यमीहरूको प्रस्तुतिको मूल्याङ्कनका लागि एक तटस्थ र विज्ञ जुरी प्यानलको गठन गरिएको थियो ।
जसमा हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारी, कुमारी बैंकका शाखा प्रमुख अवधेश महतो, उद्योग संघका प्रतिनिधि पिताम्बर कोइराला, दायित्व संस्थाका वरिष्ठ प्रबन्धक शुलभ नेपाल र उद्योग तथा पर्यटन मन्त्रालयका प्रतिनिधि विक्रम सुवेदी रहनुभएको थियो ।
जुरीले उद्यमीहरूको नवप्रवर्तन, स्थानीय कच्चा पदार्थको प्रयोग, दिगोपना र रोजगारी सिर्जनाको क्षमताका आधारमा महत्वपूर्ण पृष्ठपोषण प्रदान गरेका थिए ।
त्यस्तै उद्यमिहरुको प्रस्तुति पछि निर्णायक मण्डलले व्यवसायमा भएका विभिन्न पक्षहरुवारे प्रश्न राख्नुभएको थियो भने व्यवसाय सुधारकालागि सल्लाह प्रदान गर्ने उद्येश्यले गठित एक सुझाव मण्डलले उद्यमिहरुलाई उद्यम विकास एवं प्रवर्धनकालागि सुझाव दिनुभएको थियो ।
सुझाव मण्डलमा पालिकाको पशु विकास शाखा प्रमुख बुद्धि बहादुर देउजा, कृषि विकास शाखा प्रमुख ऋचा देवकोटा, रोजगार संयोजक तिर्थराज रेग्मी, र सहकारीबाट विश्वनाथ पाण्डे रहनुभएको थियो ।
उत्कृष्ट १० उद्यमीहरूको अन्तिम प्राप्ताङ्क विवरणः
थमन बहादुर रजाली मगर (थमन अर्गानिक एग्रि फार्म) – प्राप्ताङ्कः १०/९ (सर्वोत्कृष्ट उद्यमी – विजेता)
बाटुली तिवारी (मित्रबाटिका कृषि फार्म) – प्राप्ताङ्कः १०८.५
देवका पोखरेल (पोखरेल कृषि तथा पशुपंक्षी फार्म) – प्राप्ताङ्कः ९/६.५
चिजा गुरुङ (सि.एन. कृषि तथा पशुपंक्षी फार्म) – प्राप्ताङ्कः ८.५/७
बन्दना आले (बि.एन. ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर) – प्राप्ताङ्कः ८.५/६.५
शेर बहादुर (सागर) गाहा मगर (झरनाखोला सामुदायिक मगर होमस्टे) – प्राप्ताङ्कः ७/७.५
ग्याम बहादुर रुहाली मगर (प्रेम पिण्ड तरकारी फार्म) – प्राप्ताङ्कः ७/६.५
सिर्जना परियार (सिर्जन सटिङ सुटिङ एण्ड टेलरिङ) – प्राप्ताङ्कः ७/४.५
आस बहादुर गाहा (रातेखरक बङ्गुर तथा कृषि फार्म) – प्राप्ताङ्कः ६.५/५.५
कृष्ण प्रसाद पोखरेल (कृष्ण पोल्ट्री फार्म) – प्राप्ताङ्कः ५.५/५
’दायित्व’ संस्थाले नेपालका विभिन्न स्थानीय तहहरूमा आर्थिक समृद्धिका लागि नवप्रवर्तनकारी कार्यहरू गर्दै आएको छ ।
जीईईपी कार्यक्रम अन्तर्गत दायित्वले केवल प्रतिस्पर्धा मात्र नगराई स्थानीय उद्यमीहरूलाई व्यवसायिक साक्षरता, नेतृत्व विकास, प्राविधिक सहयोग, बजार व्यवस्थापन र वित्तीय पहुँचका लागि सघन मेन्टरसिप प्रदान गर्दै आएको छ ।
ग्रामीण क्षेत्रमा छरिएर रहेका साना कृषि, पशुपालन र सेवामूलक व्यवसायहरूलाई प्रविधि र बजारसँग जोडेर दिगो बनाउन दायित्वले स्थानीय सरकारसँग मिलेर उत्प्रेरकको भूमिका निर्वाह गरिरहेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष रानाले यस कार्यक्रमका कारण धेरै नव युवाहरुलाई समेत स्वदेशमै उद्यम गर्न प्रेरणा मिलेको भन्दै आगामि दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत वेदहरी अधिकारीले स्थानीय सरकारले उद्यमशीलता प्रवद्र्धन र युवाहरूलाई स्वरोजगार बनाउन सदैव बजेट तथा नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, कार्यक्रमको समापन शत्रलाई सम्बोधन गर्दै दायित्व संस्थाका वरिष्ठ प्रबन्धक शुलभ नेपालले ग्रामीण क्षेत्रका लुकेर रहेका उद्यमहरूलाई प्रवद्र्धन गर्न जीईईपी कार्यक्रमले कोसेढुङ्गाको काम गरेको विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आगामि आर्थिक वर्षकालागि गण्डकी समेत गण्डकी प्रदेशले यस कार्यक्रम निरन्तरताकोलागि वजेट विनियोजन गरेको जानकारी पाएको उल्लेख गर्दै गाउँपालिकाले समेत आफ्नो बजेट वक्तव्यमा यसलाई निरन्तरता दिनेमा आशावादि रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विष्णु राना सहित अन्य स्थानीय जनप्रतिनिधि, पालिकाका विभिन्न शाखा प्रमुख, पत्रकारहरु, विद्यार्थी एवं विभिन्न उद्यमिहरुको उपस्थिति रहेको थियो ।

ट्याग्स : कुनै ट्याग छैन
सम्बन्धित समाचार
Scroll to Top