केपी ओलीलाई एमाले नेताको प्रश्न: एमसीसी पास गर्ने कि फेल, के हो हाम्रो धारणा ? – News Nepal Media
Trend

काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनका प्रतिनिधिहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा प्रष्ट पार्न माग गरेका छन् ।
ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि भएको समूहगत छलफलमा नेताहरुले एमसीसीबारे धारणा मागेका हुन् । केन्द्रीय निकाय तथा विभागहरुको टोली नेता भानुभक्त ढकाल, बागमतीका आनन्द पोखरेल लगायतले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा एमसीसी पास गर्न जोड दिएका थिए ।

सरकारमा हुँदा पार्टीभित्र चर्को विवादका बीच उनले एमसीसी पास गर्न दबाव दिएका थिए ।तर प्रतिपक्षमा पुगेपछि एमसीसी के गर्ने हो भनेर सरकारलाई प्रश्न मात्र गर्दै आएका छन् । सरकार र सत्तारुढ दलले पार्टीको धारणा सार्वजनिक गरेपछि आवश्यक समयमा मात्र एमालेको धारणा सार्वजनिक गर्ने एमाले नेताहरुले बताउने गरेका छन् ।

त्यस्तै बिधान अधिबेशनमा सहभागीहरुले एमालेको विधान महाधिवेशनमा केही प्रतिनिधिहरूले माधव नेपालको खोजी गरे । ‘माधव नेपाल विनाको एमाले कस्तो कस्तो लाग्ने रहेछ’ एक महाधिवेशन प्रतिनिधिले भने । सँगै दुखेसो पनि गरे, ‘म माधव कमरेडलाई राम्रो मान्छु । तर, परिस्थितिले मैले उहाँलाई साथ दिन सकिनँ ।’

एमाले उपमहासचिव भुसालले परिचय नलुकाई भने, ‘हाम्रो आन्दोलनमा त्यति लामो समय लागिराख्नुभएका साथीहरूको अभावै खट्किन्न भन्नु त्यो उद्दण्डता हुन्छ । उहाँहरूको अभाव खट्किन्छ ।’ तर, भावनाले राजनीति नहुने भएकाले एमाले पार्टी बनाउन लागिपरेकाहरूको अलग-अलग पार्टी बन्न पुगेको उनको विश्लेषण छ ।

नेकपा एमाले वागमती प्रदेश सम्पर्क कमिटीका सचिव शिशिर अर्याल पनि माधव नेपाललाई राम्रो नेता मान्छन् । तर, एमाले नै विभाजन गरेर अर्को पार्टी गठन गर्ने निर्णयमा भने उनले साथ दिन सकेनन् ।

‘केही गल्ती अध्यक्ष केपी ओलीबाट भएकै हो । अध्यक्ष ओलीले नभने पनि उहाँको मनमा गल्ती गरेको महसूस भएकै होला, कालान्तरमा त्यो व्यक्त हुन्छ’ अर्याल भन्छन्, ‘तर, नेताको गल्तीमा पार्टी फुटाउने कुरा चाहिं उचित लागेन र यहाँ छु ।’

माधव नेपाल फेरि एमालेमै आउने र माधव नेपाल सहितको एमालेको ठूलो भेलाको कल्पना गर्ने प्रतिनिधिहरू पनि छन् । ‘माधव नेपाल एमालेमै फर्किनुहुन्छ भन्ने विश्वास छ । र हामी यसैगरी भेला हुन सक्छौं’ कञ्चनपुर बेलगाडीकी उपाध्यक्ष समेत रहेकी नेतृ कमला देवी कार्कीले भनिन् ।

माधव नेपाललाई मात्रै होइन, नेपाली कम्युनिष्ट आन्दोलनका नेताहरूलाई पनि प्रतिनिधिहरू सम्झिरहेका छन् । ‘म यहाँ मदन भण्डारी, पुष्पलाल र मनमोहनको फोटो खोजिरहेको छु’ एमाले नेता झपट रावलले भने ।

‘अध्यक्ष केपी ओलीको ठूला ठूला डमी मात्रै देख्नुभयो कि के हो ?’ भन्ने अनलाइनखबरको जिज्ञासामा रावलले थपे, ‘अध्यक्षको किन राखियो भन्ने प्रश्न होइन, अरूको किन देखिएन ? भन्ने प्रश्न हो । सबैको राख्नुपर्दथ्यो भन्ने मेरो कुरा हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP