कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण

👤 adminnews | 🕒 १८ घण्टा अगाडि
२४६ सेयर
f 𝕏 💬 🖨️

नवलपुर । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान उपलब्ध गराएको छ । दुग्ध उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले यहाँका किसानलाई उत्पादनका आधारमा रु। २८ लाख अनुदान उपलब्ध गराएको कावासोती नगरपालिका पशुपन्छी विकास उपशाखाका पशु विकास अधिकृत अच्युत आचार्यले बताउनुभयो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान प्रदान गर्ने कार्यक्रमअन्तर्गत रु. २८ लाख वितरण गरिएको पशु विकास अधिकृत आचार्यले बताउनुभयो ।

नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर रु.२ अनुदान उपलब्ध गराउँदै आएको छ । नगरभित्रका पाँचवटा सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको हो । दुग्ध उत्पादन गर्ने किसानले सहकारीमा बिक्री गरेको दुधका आधारमा सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराइएको पशु विकास अधिकृत आचार्यले बताउनुभयो ।

कावासोती नगरपालिका भित्र रहेका पाँचवटा सहकारीमा संकलन भएको दूधका आधारमा १५ लाख ४३ हजार ११३ लिटर दुधका लागि अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो । गत वर्षको उत्पादनका आधारमा रु। २८ लाख अनुदानका लागि विनियोजन गरिएकोमा यस पटक उत्पादन वृद्धि भएकाले सोहीअनुसार केही अनुदानको दर कम गरेर सबै किसानलाई अनुदान उपलब्ध गराइएको पशु विकास अधिकृत आचार्यले बताउनुभयो । दूधमा प्रदान गरिएको अनुदानले थोरै भए पनि किसानले लाभ लिएको र उत्पादन लागत घटाउन सहयोग पुगेको उहाँले बताउनुभयो ।

साना किसान कृषि सहकारी संस्था कावासोती–१४, एकीकृत दुग्ध विकास सहकारी संस्था कावासोती–८, जनकल्याण कृषि तथा दुग्ध सहकारी कावासोती–१७, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी कावासोती–२ र नमूना दुग्ध उत्पादक सहकारी कावासोती–१७ मार्फत संकलित दुधका लागि किसानहरूलाई अनुदान उपलब्ध गराइएको हो । यी सहकारीमा बिक्री भएको दुधका किसानलाई सहकारीले दिने दरमा नगरपालिकाको अनुदान थप गरेर दिने व्यवस्था गरिएको छ ।

उत्पादनका आधारमा अनुदान प्रदान गर्दा किसानलाई उत्पादन बढाउन उत्प्रेरित गर्ने भएकाले नगरपालिकाले सोही आधारमा अनुदान उपलब्ध गराउँदै आएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । थोरै भए पनि नगरपालिकाले दूधमा अनुदान दिँदा किसानको उत्पादन लागत घटाउन सहयोग पुग्ने नगर प्रमुख भुसालले बताउनुभयो । यसले किसानलाई फाइदा पुग्ने र उत्पादन बढाउन हौसला मिल्ने विश्वास नगरपालिकाले लिएको उहाँले बताउनुभयो ।

‘किसानलाई केही राहत होस् भनेर नगरपालिकाले दूध उत्पादनका आधारमा अनुदान दिँदै आएको छ । यसले उत्पादनमा जोड दिन प्रोत्साहन गर्छ भन्ने विश्वास छ । उत्पादन लागत धेरै हुने गर्छ । थोरै भए पनि प्रत्यक्ष रूपमा लाभ प्राप्त गर्छन् भन्ने उद्देश्य हो,’ नगर प्रमुख भुसालले भन्नुभयो ।

कावासोती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि समेत उत्पादनमा आधारित अनुदानका लागि करिब रु.५४ लाख बजेट विनियोजन गरेको पशु विकास अधिकृत आचार्यले बताउनुभयो । दुध, माछापालनलगायतका कार्यक्रममार्फत किसानलाई अनुदान उपलब्ध गराउने गरी नगरपालिकाको मंगलबार बसेको नगरसभाले बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

ट्याग्स : कुनै ट्याग छैन
सम्बन्धित समाचार
Scroll to Top