‘उत्पादन बढाउने कुरा भएपनि कृषिका समस्यामा ध्यान पुगेन’ – News Nepal Media
Trend

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । बैठकमा नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताउनुभएको छ ।

अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले त्यो समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिने उहाँको तर्क थियो । वर्षे बाली लगाउने समयमा भारतबाट मल कहिले आउँछ टुङ्गो नभएको अवस्थामा मलमा बजेट आधा छुट्टाएर उत्पादन बढाउन नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पैसा भएर त किन्ने अवस्था छैन भने बजेट घटाएर कसरी बढाउन सकिन्छ ।”

खाद्यमा अन्तशुल्क लगाउँदा विदेशी खाद्यान्नको आयात बढ्ने पूर्वअर्थमन्त्री पाण्डेले बताउनुभयो । बिस्कुट, कुकिजलगायत स्वदेशमा नै उत्पादन हुने खाद्यान्नमा अन्तशुल्क बढाउँदा विदेशी खाद्यान्न सस्तो पर्ने उहाँले बताउनुभयो । सेनेटरी प्याडमा ९० प्रतिशतसम्म आयकर छुट दिँदा देशभित्रका उद्योग सुक्दै जानसक्ने उहाँले बताउनुभयो ।

सरकारले कयौँ योजना थपेको छ कतिपय छाडेको पूर्वमन्त्री पाण्डेले बताउनुभयो । निर्वाचनको वर्ष भएकाले यो वर्ष बजेट कार्यान्वयन जम्मा चार महिनामा गर्न गाहे हुने उहाँले बताउनुभयो । सरकारले चाहेर पनि पेट्रोलियम पदार्थलगायतका बस्तुको आयात रोक्न नसक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP