आइतबार , जेठ १९, २०८२
कोदोको प्रवद्र्धनगर्न मकवानपुरमा कोदो खेती सुरु – News Nepal Media
Trend

बागमती, १७ साउन ९रासस०ः नेपालमा घट्दै गएको कोदो उत्पादनलाई बढाउन भन्दै मकवानपुरका किसानले कोदोको प्रवद्र्धन सुरु गरेका छन् । विगतमा नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने कोदोको हाल खेती हुन छाडेपछि राष्ट्रिय कृषक समूह महासङ्घको पहलमा यसको प्रवद्र्धन सुरु गरिएको हो । कोदोको उपयोगिता तथा पौष्टिक महत्व बुझेपछि जिल्लाका किसानले यसको खेती सुरु गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख ललित घलानका अनुसार मकवानपुर विगतमा अत्याधिक मात्रमा कोदो उत्पादन हुने जिल्ला हो । फेरि पनि कोदोको उत्पादन बढाउनुपर्ने उहाँको भनाइ छ । “विदेशबाट कोदो आयात हुने क्रमलाई रोक्न सक्नुपर्छ । कोदोका विभिन्न परिकार तथा मदिरासमेत उत्पादन गरेर ब्राण्डिङ गर्नुपर्छ” उहाँले भन्नुभयो ।

हाल जिल्लाका किसानहरु स्वतः कोदो प्रवद्र्धनमा लागेका छन् । पदमपोखरी, भीमफेदी तथा हटिया हर्नामाडी, हाँडीखोलालगायतका क्षेत्रका किसानले कोदो रोप्न सुरु गरिएको छ । कोदोको प्रवद्र्धन गरेर यसका परिकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्ने राष्ट्रिय किसान आयोगकी सदस्य तथा प्रवक्ता जीवन्ती पौडेलको भनाइ छ । कोदो आयात गर्नुपर्ने अवस्था आउनु कृषिप्रधान मुलुकका लागि दुर्भाग्यपूर्ण रहेकाले त्यो अवस्थाको अन्त्य गर्न आफू कोदो रोप्न अग्रसर भएको उहाँले बताउनुभयो । विदेशी मदिरालाई हतोत्साही गर्न कोदोको मदिरालाई वैधानिक तरिकाले उत्पादन गर्नुपर्ने उहाँको सुझाव छ ।

राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझा रैथाने बालीको संरक्षणमा राज्यले विशेष भूमिका खेल्नुपर्ने बताउनुहुन्छ । रैथानेबालीले यहाँको जनजीविकासँग विशेष महत्व राख्ने उहाँको भनाइ छ । कोदो देशका अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, समुदायको जीवनपद्धतिसँग जोडिएको अन्न भएकाले पनि यसको संरक्षण गर्दै उत्पादन बढाउनु पर्ने उहाँले बताउनुभयो ।

जिल्लाको पदमपोखरी, हटिया, हर्नामाडी, गढी, राईगाउँ, फापरबारी, भीमफेदी, पालुङजस्ता स्थानमा हजारौँ मुरी कोदो उत्पादन भएर निर्यात समेत हुने गथ्र्यो । अन्य नगदेबाली लगाउन थालेपछि कोदो खेती लगभग लोप हुने अवस्थामा पुगेको छ । नेपालमा लोप हुने अवस्था आए पनि विदेशबाट भने प्रशस्त मात्रामा आयात हुन थालेपछि नेपालमै उत्पादन बढाउने उद्देश्यले कोदोको खेती सुरु गरिएको भीमफेदीका किसान दीपक पुडासैनी बताउनुहुन्छ । “अहिले कोदो खेतीको पुन सुरु गरेका छाँैं, आगामी दिनमा यसलाई वृद्धि गर्दै जाने लक्ष्य छ” उहाँले भन्नुभयो ।

जिसस प्रमुख घलानका अनुसार पदमपोखरी क्षेत्रमा कोदो, मकै र भटमास अत्यधिक मात्रामा उत्पादन हुने गथ्र्यो । समथल तर सिँचाइ सुविधा नहुनाले यहाँका किसानको पहिलो रोजाइँ कोदो हुने गरेकामा विस्तारै खानेपानीको धारालाई नै प्रयोग गरेर किसानले वैकल्पिक खेती सुरु गर्न थालेपछि यहाँका किसानले कोदो लगाउन छाडेका थिए । अब कोदोले राम्रो मूल्य पाउने अवस्था बनेकाले विस्तारै किसान आफैँले कोदो लगाउन सुरु गर्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय कृषक समूह महासङ्घका अनुसार कोदो नेपालको धान, मकै र गहुँपछि चौथो महत्वपूर्ण अन्नबाली हो । यसलाई नेपालको पहाडी भेगमा मकैपछिको दोस्रो बालीको रुपमा लिइन्छ । यसलाई कम उर्वर क्षमता भएको रुखो तथा पाखोबारीमा समेत खेती गरेर उत्पादन लिन सकिने बालीको रुपमा लिइन्छ ।

कोदोका बारेमा जानकार उद्धव अधिकारीका अनुसार यस बालीमा रोग तथा कीराको प्रकोप कम हुन्छ । जलवायु अनुकूलनीय र वातावरणमैत्री अन्नबालीको रुपमा पनि यसलाई लिने गरिन्छ । उहाँका अनुसार कोदोको बिउलाई १५ वर्षसम्म पनि भण्डारण गरेर राख्न सकिन्छ । कोदो समुद्री सतहदेखि ३०० मिटरको उचाइदेखि ती हजार मिटरसम्मको उचाइमा यसको खेती हुन्छ । नेपालमा मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा कोदोको खेती हुने राष्ट्रिय कृषक समूहका अध्यक्ष नवराज बस्नेत बताउनुहुन्छ । राष्ट्रिय कृषक समूहका अनुसार ७० भन्दा बढी देशको समर्थनमा संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षको रुपमा मनाउने घोषणा गरेको छ ।

कोदो पौष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली रहेको कोदोका जानकार बताउँछन् । रेसा, क्याल्सियम, फसफोरस, फलाम, लवण, अमिनोएसिडलगायत शरीरलाई अत्यावश्यक पर्ने पौष्टिकताले भरिपूर्ण कोदोको सेवनले रगतमा बोसो र कोलेस्टोरोल घटाउने तथा चिसो लाग्नबाट जोगाउने राष्ट्रिय कृषक समूहका पूर्वअध्यक्ष समेत रहनुभएका उद्धव अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार कोदोलाई “हिमालयन सुपर फुड” को रुपमा लिइन्छ । उहाँ भात मात्रै खाने संस्कृतिलाई न्यूनीकरण गरी खाद्य विविधता र पोषण सुरक्षामा नयाँ आयाम सुरुआत गर्न कोदोको प्रवद्र्धन आवश्यक रहेको बताउनुहुन्छ । राष्ट्रिय कृषक समूहका अध्यक्ष नवराज बस्नेत अहिलेको सुअन्न भनेर चिनिने खाद्यान्नभन्दा अब्बल गुण कोदोमा हुने बताउनुहुन्छ । जिल्लामा दोस्रो कोदो दिवसको अवसर पारेर यही साउन १५ गते कोदोको महत्व र उपयोगिताका बारेमा राष्ट्रियस्तरको कार्यक्रम समेत आयोजना गरिएको थियो । राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल, कृषि पत्रकारहरुको संस्था अनाज नेपालको संयुक्त पहलमा कोदो दिवस मनाउन सुरु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP